अर्जुनधारा ।

आफ्नो जातीको संस्कार र संस्कृतिको संरक्षण सँगै जातीय उत्थानको लागि एकजुट भई कार्य गर्ने उद्धेश्यले झापा अर्जुनधारा–३का राईहरु संगठित भएका छन् ।
साविक खुदुनावारी गाँउ विकास समिति वडा नम्बर ६, ७, ८ र ९का एक सय १७ घरधुरीका राईहरुको प्रथम भेलाबाट सुवास चाम्लिङ राईको अध्यक्षतामा १३ सदस्यीय किरात राई यायोक्खा वडा समिति गठन भएको छ ।
नवगठित समितिको उपाध्यक्षमा सुमन्ता साङपाङ राई, सचिवमा निर्मला वान्तवा राई, सहसचिवमा सुशिला साङपाङ राई र कोषाध्यक्षमा मीना वान्तवा राई चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा तेजबहादुर वान्तवा राई, तेजमाया मुकारुङ राई, दिलीप साङपाङ राई, ध्रुव खालिङ राई, मनोज वान्तवा राई, माया चाम्लिङ राई, श्याम वान्तवा राई र सविन याम्फू राई चयन भएका छन् ।

सोही भेलाले खड्गसिंह बोखिम राई, झलक याम्फू राई, पर्शुराम मेवाहाङ राई, शिव चाम्लिङ राई र सरस्वती मुकारुङलाई सल्लाहकर समितिको सदस्यमा चयन गरेको छ ।
सुवास चाम्लिङ राईको अध्यक्षता र किरात राई यायोक्खा नगर समितिका सल्लाहकार भरतसिंह दुमी राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा किराया झापाका सल्लाहकार एवम् पत्रकार दिपीन राईले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
किराया नगरका उपाध्यक्ष शिवकुमार चाम्लिङ राई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन झलक याम्फू राईले गरेका थिए ।

समितिले आगामी दिनमा साविक खुदुनावारी गाविसको बाँकी वडामा(हाल अर्जुनधारा–१ र २)मा किराया संयुक्त वडा समिति गठनको लागि पहल गर्ने, अर्जुनधारा–३स्थित फाल्गुनन्द शान्ति वन वाटिकामा रहेको माङखिमको स्तरोन्नती गर्ने, साकेला थानको निर्माण गर्नेलगायतका कार्यहरु गर्ने अध्यक्ष सुवास चाम्लिङ राईले जानकारी दिए ।































