कला–संस्कृतिको संरक्षण गर्दै गौतम

0
954

पानी परी घाम लाग्यो बनपाखा घमाइलो,
हाँसी खेली ए ! नि रिमै जिन्दगी रमाइलो

रेडियो नेपालद्वारा पूर्वेली लोकगीतहरु संकलन गर्ने क्रममा लोकगायक देवीप्रसाद गौतमले धरानमा गाएको उक्त गीत २०४८ सालमा रेडियो नेपालमा रेकर्ड भयो । यो गीतले बालबालिकादेखि वृद्धसम्मको मन जित्न सफल भएको थियो ।
पूर्व क्षेत्रमा लोकगायकका नामले परिचित गौतम अहिले पुरानो कला–संस्कृति, इतिहास, साहित्य र परम्परा बचाउ अभियानमा लागीपरेका छन् । उनी इलामबाट छायांकन भएको इन्द्रेणी कार्यक्रम मार्फत चर्चित गायिका कल्पना दाहालसँग २६ वर्षपछि लोकदोहोरी गाएर पुनः चर्चित बनेका छन् । देउमाई नगरपालिकाको धुसेनिमा स्व.तीलचन र आमा मनमायाको कोखबाट कान्छो पुत्रका रूपमा २०११ साल पुसमा जन्मिएका उनी इलाम नगरपालिका–४, मंगलबारेका स्थायी बासिन्दा हुन् ।

मध्यम वर्गीय किसान परिवारमा जन्मिएका उनी हरेक परिस्थितिका बाबजुद जीवनमा संघर्ष गर्दै निरन्तर कला–संस्कृतिको जगेडा तर्फ लम्किरहेका छन् । शिक्षण पेशा, सामाजिक कार्यसँगै लोक संस्कृतिको क्षेत्रमा लोकदोहोरी गायकका नामले समेत उनी परिचित छन् । लोक–संस्कृति बचाउनुपर्छ भन्ने अभियानमा लागेका गौतम आफूले जानेको सीप, कला र ज्ञान आफ्ना अनुजहरुलाई पस्कने जमर्कोमा ग्रामीण बस्तिका युवाहरू र पुराना बुढापाकाहरुको घरदैलोमा घुम्न थालेका छन् ।

२०३५ साल साउन १९ गतेदेखि शिक्षण पेशामा आवद्ध भएर करिब ३४ वर्षसम्मको लामो सेवापछि पेशाबाट अवकाश भएका उनले जीतपुर माध्यमिक विद्यालयबाट शिक्षण पेशामा प्रवेश गरे । चिसोपानी माध्यमिक विद्यालय बाँझोका प्रधानाध्यापक, भानुभक्त उच्च माध्यमिक विद्यालय मंगलबारेका शिक्षक तथा प्रधानाध्यापक, प्राथमिक शिक्षा परियोजना लागू भएको बेला इलाम जिल्लाको पहिलो श्रोत व्यक्ति, मंगलबारे बहुमुखी क्याम्पसका संस्थापन क्याम्पस प्रमुख हुँदै निवर्तमान नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभापति समेत भएका उनले सोसाइटीको दुई कार्यकाल सभापतिको कार्यभार सम्हाले ।

२०४२ सालदेखि रेडियो नेपालको लोकगीत सम्मेलनमा भाग लिँदै २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि गीत रेकर्ड शुरु गरे । ‘जाँउ है चेली’, ‘लेक बेंसीका सुसेली’ एल्वम तयार गरेका उनले ‘पर्खी बसेछु नि’ र ‘रुँदै बसेछु जस्ता एल्वममा पनि साथ दिएका छन् । दर्जनौं गीत रेकर्ड गरिसकेका गौतमले इतिहास र नेपाली लोकसाहित्यमा स्नातकोत्तर अध्ययन पुरा गरेका छन् । उनी ज्ञानपुञ्ज सिर्जनशील प्रतिष्ठान, इलामका सदस्य साथै इलाम साहित्य संस्कृति कला प्रतिष्ठानका अध्यक्ष समेत छन् ।

उनले ज्येष्ठ नागरिक विशेष कार्यक्रम र लोक सुसेली गरी दुईवटा कार्यक्रम नेपाल बाणी एफएम, इलामबाट सञ्चालन गर्दै आएका छन् । ख्याति प्राप्त गायिका कोमल ओलीसँग समेत गीत गाएका गौतम २०४९÷०५० सालमा लोकदोहोरी सम्मेलनमा उत्कृष्ट पुरस्कारद्वारा सम्मानित भएका थिए । त्यसपछि आफ्नो कार्य व्यस्तताका कारण संगीतमा कम समय दिन थाले ।

२०५४ सालमा पूर्वेली संस्कृतिको नेतृत्व गर्दै सांस्कृतिक संस्थानमा धाननाच (केलाङ्ग नाच) र बालन नाचको टोली लिएर काठमाडौं जाँदा उक्त टोली उत्कृष्ट बन्न पुग्यो । त्यसबेला उनको योगदानलाई सर्वत्र कदर गरियो । हरेक जातिका संस्कृति र परम्पराको जानकार रहेका लोकगायक गौतमले मगर जातिको हुर्रा, राइको साकेला सेली, लिम्बू जातिको (केलाङ, पालाम र धाननाच), बाहुन–क्षत्रीको बालन र सङ्गिनी, तामाङको डम्फुसेलो लगायतमा उत्तिकै रुची राख्छन् ।

शिक्षण पेशाबाट अवकाश लिएपछि समाजिक कार्य र कला–संस्कृतिको रक्षा गर्नुपर्छ भन्ने भावनासहित सीप हस्तान्तरणको पहलमा सक्रिय छन् उनी । कोरोनाले बन्दाबन्दी भएको समयमा घरमै बसेर पनि आफ्नो फेसबुक पेजबाट संगीतको माध्यमबाट लाखौं दर्शक श्रोतलाई मनोरञ्जन दिलाए । शिक्षण पेशामा समकालीन गौतमका सहयात्री जयनारायण भट्टराई पनि पेशाबाट अवकाशपछि सोही अभियानको साथमा छन् । कविता तथा गीत सृजनामा निरन्तर लाग्दै साहित्य क्षेत्रमा कलम चलाइरहेका उनी साहित्य प्रतिष्ठान इलामका सचिव छन् । प्रतिष्ठानले हरेक क्षेत्रमा कला साहित्य र संस्कृति सम्बन्धी प्रशिक्षण गर्दै आएको सचिव भट्टराईले जानकारी दिए ।

प्रस्तुति : युद्धबहादुर बोहोरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here