झापा ।

लागू औषध ओसारपसारका एक फरार प्रतिवादी कारागार चलान भएका छन् भने मानव ओसार पसार र जवरजस्ती करणी मुद्धाका अर्का एक व्यक्ति पनि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसर भद्रपुर १ बस्ने ३४ वर्षीय रेम्बो भन्ने प्रदिपकुमार पौडेल कारागार चलान भएका हुन् । झापा जिल्ला अदालत भद्रपुरको २०७५ माघ १३ गतेको फैसला अनुसार लागु औषध(गाँजा)मुद्दाका प्रतिवादी पौडेललाई ६ महिना कैद र ४ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।
जरिवाना उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा १ महिना २१ दिन असुल भई बाँकी ४ महिना ९ दिन बेरुजु रहेको अबस्थामा उनी फरार भएका थिए ।
खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज उनकै घरबाट पक्राउ गरी बाँकी कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै मानव ओसार पसार र जवरजस्ती करणी मुद्धामा साविक खजुरगाच्छी गाविस घर भएका २६ वर्षीय वेगू यादव भनिने दीपेन्द्र यादव जेल चलान भएका छन् । एघार वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका उनी यस अघि फरार थिए । जिल्ला अदालत झापाले २०७६ साल असार ३० गते उनलाई कारागार चलान गर्न आदेश दिएको थियो ।































