
जाडोको समयमा अर्थात् चिसोमा घाम सबैलाई प्रिय लाग्छ । घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ । बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ । जसरी हामीलाई पानीको आवश्यकता पर्छ खानाको आवश्यकता पर्छ, त्यसैगरी घामको पनि आवश्यकता पर्छ ।
घाम नलागेको दिन मौसमसँगै मानिसको ‘मुड’ पनि बादल लागेको जस्तै धुम्म हुन्छ । मौसमले ‘मुड’मा मात्र होइन मानव शरीरमा नै असर गरिरहेको हुन्छ । छालाको लागि घाम चाहिन्छ । भिटामिन ९ ‘डी’ प्राप्त गर्नकै लागि भए पनि घाम ताप्नै पर्छ ।
जाडो मौसममा हाम्रो शरीर चिसो हुन्छ । यतिखेर शरीरलाई न्यानो बनाउन विभिन्न प्रयास गरिरहेका हुन्छौं । कति मानिसहरु घाम बसिरहेका हामीले देखिरहेका छौं । चिसोबाट बच्नको लागि घाममा बसिरहेका हुन्छौं । तर, घाममा बस्दा हाम्रो शरीरलाई के फाइदा पु¥याउँछ हामीलाई थाहा नहुन सक्छ । पुस–माघको घाम न्यानो हुने र नपोल्ने घाम हुन्छ । न्यानो घाममा बसेर हामी गफगाफ गर्दै बदाम, सुन्तला खानुको मज्जा नै बेग्लै छ ।
यतिखेरको घाम हामीलाई प्यारो लाग्ने गर्छ । जाडोयाममा घाम ताप्दा विभिन्न फाइदा हुन्छ । यसबाट भिटामिन डि प्राप्त हुन्छ । शरीरलाई न्यानो बनाइ राख्न मद्दत गर्छ । शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने नै हो । यसका साथै घामले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउँछ । बिहानी समयको घाम त अझ शरीरको रक्तसञ्चारलाई सन्तुलित बनाउन पनि महत्वपूर्ण हुन्छ । घामको न्यानो प्रकाशले शरीरमा रगत जम्ने प्रक्रियालाई रोकेर रक्तसञ्चारलाई चुस्त पार्छ ।
घाममा बस्दा शरीरले अत्यधिक भिटामिन डी ग्रहण गर्ने हुनाले हाडको विकासको लागि सहयोगी बन्छ । त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारीरिक दुखाइ पनि कम गर्छ । दिमागलाई तनावमुक्त बनाई रातको समयमा गहिरो निद्रा लिन जाडोको घामले सहयोग गर्छ ।
नियमितरुपमा घाममा बस्नाले विभिन्नखालका किटाणुको संक्रमणबाट बच्नुका साथै मधुमेही र मुटुरोगीलाई समेत राहत दिन्छ । सौर्यप्रकाश र सग्लो खानेकुराले स्तन क्यान्सरको खतरा घटाउँछ । सूर्यको प्रकाशले हानीकारक ब्याक्टेरियालाई मार्दछ । छालासँग सम्बन्धित जुनसुकै किसिमको समस्याको उपचारमा लाभदायक हुन्छ । सौर्यप्रकाशले कोलेस्टेरोल घटाई प्रजनन् क्षमता बढाउँछ । घामको किरणले उच्च रक्तचापलाई नियन्त्रण गर्दछ ।
सौर्यप्रकाश छालाको भित्रसम्म छिरेर रगत र रक्तवाहन नलीलाई सफा गर्ने काम गर्दछ । सूर्यको किरणले मानव रगतमा अक्सिजनको मात्रा बढाउँछ । स्टामिना, फिटनेस र मांशपेसी विकासमा यसको ठूलो प्रभाव रहन्छ । रोग–प्रतिरोधात्मक क्षमता बढाउँछ ।
घामसँगको नियमित संसर्गले बालबालिकाको शारीरिक एवम् उचाइ वृद्धि गराउँछ । घाम ताप्नाले तनाव वा डिप्रेशनको उपचारमा सहयोगी सावित हुन्छ । स्मरणशक्तिलाई सदाबहार राख्न घामको उत्तिकै महत्व रहन्छ । मोटोपना नियन्त्रणमा सहयोग गर्दछ । हाड तथा दाँत बलियो बनाउँछ भने दमको समस्यालाई पनि घटाउँछ । त्यसैले जोडोयाममा घाम तापौं ।


























