बिर्तामोड ।
वर्तमान राजनीतिक दलहरुका कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै राष्ट्रिय नेपाली पार्टीले विप्लव माओवादीदेखि राजसंस्थासम्मलाई समेटेर संविधान संशोधन गर्नुपर्ने माग गरेको छ ।
सनातन हिन्दु राष्ट्रसहित संवैधानिक राजतन्त्रले मात्रै मुलुक जोगाउन सक्ने भएकाले सबै नेपालीलाई एक जुट हुन उक्त पार्टीले आह्वान समेत गरेको छ । गत मंसीर १५ गते पार्टीको औपचारिक घोषणा गरेपनि सोमबार एक अपिल जारी गर्दै राजनीतिक इतिहास र पार्टीको विषयमा स्पष्ट पारेको छ ।
पार्टीको केन्द्रीय समिति प्रचारप्रसार विभागद्धारा जारी अपिलमा भनिएको छ– लामो समयदेखि आजसम्म नेपाली राज्यसत्ताको बागडोर सम्हाल्दै आएका राजनीतिक दलहरुले नेपाल र नेपाली जनताहरुलाई विश्वासघात गरेको हुनाले नेपाली जनतामा निराशा र असन्तुष्टिले वर्तमानअवस्थामा यो पार्टी गठन गर्न बाध्यता नै भएको अवगत गराउन चाहन्छौं ।
विगतका तिनवटा निर्वाचनमा अर्को विकल्प नभएकोले वर्तमान राज्य सत्तालाई बहुमत दिएका भन्दै राष्ट्रिय नेपाली पार्टीले नेपालीलाई बैकल्कि लोकतन्त्र, समाजवाद, सनातन हिन्दूराज्य स्थापनाको निम्ति बैकल्पिक राजनीतिक पार्टीको आवश्यकता भएकोले पार्टी गठन गर्नु परेको स्पष्ट पारिएको छ । भारतले दिनप्रतिदिन सिमा मिच्ने काम गरिरहको भन्दै ब्रिटिस सरकारसंग भएको सम्झौता खारेज गरेर नेपाली भूमि पूर्वमा टिस्टा र पश्चिमा कांकडासम्मको भू–भाग फिर्ता हुनुपर्ने माग गरेको छ ।
नेपालको आजसम्मको राजनीतिक विकास प्रक्रियाको मुख्य प्रबृत्ति २००७, ०४७ र ०६२ सालमा भएका परिवर्तनहरु मध्ये प्रत्येक पछिल्लो अघिल्लोको तुलनामा झन ठूलोसमस्याको पुनरुत्पादन गरेको बताइएको छ । उक्त पार्टीले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप समेत लगाएको छ ।
देश निर्माणका लागि सबै एक जुट हुन आह्वान गर्दै सबै लाई एकवद्ध हुन आग्रह गरेको छ । संविधान संशोधनसभा खडा गर्नुपर्ने, बैकल्पिक लोकतन्त्र समाजवाद स्थापना गर्नुपर्ने, सनातन हिन्दू अधिराज्य पुनःस्थाना हुनुपर्ने लगायतका माग अघि सारेको छ ।





























