बिर्तामोड ।

कोभिड १९को महामारीका कारण उद्योग, यातायात, कृषि, पर्यटन लगायतका सिथिल अवस्थामा पुग्दा समेत राज्यले नहेरेको व्यवसायीले आरोप लगाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १को बिर्तामोडमा सम्पन्न तेस्रो साधारणसभाका सहभागी व्यवसायीहरुले प्रदेशको कूल ग्राहस्थ उत्पादन ५ खर्ब ५ अर्ब ८४ करोड रहेको र आर्थिक बृद्धिदर तीन दशमलव ४१ प्रतिशत रहेको बताएका उनीहरुले राज्यले व्यवसायीलाई नहेर्दा प्रदेशका सात सयको हाराहारीमा रहेका ठूला तथा मझौला उद्योगहरु धराशायी बनेको बताए ।
वार्षिक आठ हजार २ सय २६ करोड उत्पादन रहेको औद्योगीक क्षेत्रले एक लाख भन्दा बढीलाई प्रत्यक्ष र हजारौंलाई अप्रत्यक्ष रोजगारीको अवसर दिइरहे पनि कोभिड–१९को महामारीका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुग्दा समेत राज्यले नहेरेको व्यवसायीको आरोप छ ।
कोरोना भाइरसका कारण ५ महिनासम्मको लकडाउन र त्यसपछि विभिन्न मापदण्ड अपनाई काम कारवाही गर्नुपर्ने बाध्यताले गर्दा उद्योग व्यवसाय संकटमा परेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १का प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
विर्तामोड उद्योग वाणिज्य संघको आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गजेन्द्र भगत, मानार्थ सदस्य किशोर प्रधान, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु अविनाश बोहोरा, तारानाथ घिमिरे, उमेश डालमिया, गजेन्द्रकुमार भगत, हेमराज ढकाल लगायतको आतिथ्य रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रदेश नं. १का उपाध्यक्ष राजेन्द्र राउतले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं.१ का सदस्य कुमारमणि पोखरेलले गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ मा ३६ वटा जिल्ला, उद्योग वाणिज्य संघ १३ वटा बस्तुगत संघ र करिव २ सय वटा एशोसिएट सदस्य आवद्ध रहेका छन् ।































