मेची अस्पतालको कर्मचारी नियुक्तिमा चलखेल !

0
586

पार्थ मण्डल,भद्रपुर।

विगत १६ वर्षदेखि मेची अस्पताल भद्रपुरको कार्यालय सहयोगी (स्वीपर) मा कार्यरत भद्रपुर नगरपालिका–८ निवासी देवकली पासवान अहिले बेरोजगार भएकी छिन् ।

सरसफाई कर्मचारीको टेन्डर प्रक्रिया हटाएर अस्पताल प्रशासनले सञ्चालक तथा व्यवस्थापन समितिकै स्वामित्वमै रहने गरी कार्यालय सहयोगी (स्वीपर) ज्यालादारीमा नियुक्त गरेपछि अन्दाजी ५० वर्षीय देवकली अहिले बेरोजगार भएकी हुन् । देवकली जस्तै विगत ७ देखि १६ वर्षसम्म अस्पतालकै सरसफाईको काम गर्दै आइरहेका १० घरपरिवार एकैचोटी रोजगार गुमाउँदा बिचल्लीमा परेका छन् ।

अस्पतालको सरसफाईको काममा मासिक १५ सय तलबमा प्रवेश गरेकी देवकलीको जागिर २०७६ पुस ९ गतेसम्म अस्पतालमै थियो । अस्पताल प्रशासनले १४ जना कार्यालय सहयोगी (स्वीपर) नियुक्त गरेसँगै उनको जागिर गयो । श्रीमान् नभएकी देवकली दुई छोरी, एक छोरा र नातिनातिना लिएर भाडा घरमा बस्दै आएकी छिन् । ‘ज्वाइँले छाडेपछि दुवै छोरी मसँग बस्दै आएका छन्’– आशु झार्दै उनले भनिन्– ‘एउटा छोरा छ, त्यो पनि काम गर्दैन, परिवार पाल्ने सबै मेरो जिम्मामा थियो, अब कसरी परिवार पाल्नु ?’ १५ सय तलब हुँदा अस्पतालको सरसफाई काममा प्रवेश गरेको बताउँदै उनले भनिन्– ‘अहिले ६ हजार ८ सय तलब पाउथँे, त्यही रकमले जसो तसो परिवार चलाउँदै थिएँ, तर अब त्यो पनि नहुने भएपछि कहाँ जानु, कसले काम दिन्छ यो उमेरमा ?’– उनले प्रश्न गरिन् । अस्पतालमा १६ वर्ष सेवा गर्दा जागिरबाट निकालियो– उनले भनिन्– ‘हामीलाई ६ हजार ८ सय तलब दिए पुग्छ, १४–१५ हजार चाहिँदैन ।’

त्यस्तै अस्पतालमै १५ वर्ष काम गरेकी बिमला हरिजनको पीडा पनि उस्तै छ । उनका पनि श्रीमान् छैनन् । दुई छोरा छन्, तर, उनलाई हेर्दैनन् । बिमला अस्पतालमै काम गरेर आफ्नो जीवन चलाउँदै आएकी थिइन् । अहिले उनी पनि बेरोजगार भएकी छिन् । ‘अब ऋणको रकम कसरी तिर्नु, पेट कसरी पाल्नु, हामीलाई अरू काम गर्न आउँदैन– बिमलाले भनिन्– ‘मर्नेमा बेलामा अस्पतालले जागिर खोसेर तिमीहरू अहिले नै मरिजा भनेर छाडिदियो ।’
७ वर्षदेखि काम गर्दै आइरहेकी अनिसा पासवानको अभिभावक भन्ने नै कोही छैन । उनको आमाबुबाको निधन भइसकेको छ । दुई जना दिदी पनि विवाह भएर गइसकेका छन् । उनले अस्पतालमै जागिर गरेर आफ्नो दैनिक गुजारा चलाउँदै आएकी थिइन् ।

त्यस्तै १० वर्षदेखि काम गर्दै आइरहेकी नेहा खातुन कोरोना संक्रमणको अवस्थामा कोभिड उपचार केन्द्रमा दिनरात खटेकी थिइन् । उनी ज्यानको बाजी राखेर संक्रमितको रेखदेख तथा सरसफाईमा खटिइन् तर अहिले अस्पतालले उनलाई जागिरबाट हटायो । नेहाको आमाबुबा र एउटा भाइ छन् । परिवार नै आफूले चलाउनु परेको उनले बताइन् । अब जागिर छैन, के गरेर खानु समस्या प¥यो– उनले भनिन् । उनीहरू जस्तै १६ वर्षदेखि काम गर्दै आएकी अश्लीया हरिजन, १० वर्ष काम गरेकी रेखा कामती, गुडिया कामती, ७ वर्ष काम गरेकी दिव्या मण्डल, ६ वर्ष काम गरेकी ललिता कामतीको परिवार रोजगारी गुमाउँदा बिचल्लीमा परेका छन् । उनीहरू सबैको स्थायी ठेगाना भद्रपुर–५ र ८ हो ।
व्यक्ति हेरेर जागिर दिएको पीडितको आरोप

मेची अस्पताल भद्रपुरले २०७६ मंसीर २४ गते सुरक्षा गार्ड र कार्यालय सहयोगी (स्वीपर) ज्यालादारीमा कर्मचारी चाहिन्छ भनेर सूचना प्रकाशन गरेको थियो ।
सूचनामा १५ जना सुरक्षा गार्ड र १४ कार्यालय सहयोगी (स्वीपर) को दरबन्दी खुलाइएको थियो । दुवै पद गरी एक सयभन्दा बढीले फारम भरेका थिए । फारम भर्ने बेलामा पुराना कर्मचारीलाई राख्ने भनेर अस्पताल प्रशासनले सबैलाई आश्वासन दिएको थियो । त्यसपछि त्यहाँ कार्यरत सबै जनाले फारम भरेर परीक्षामा सामेल भएका थिए । तर, अस्पताल प्रशासनले पुस ७ गते कर्मचारी नियुक्त भएका उम्मेदवारको नाम प्रकाशन गरेपछि कार्यालय सहयोगी (स्वीपर) पदमा पुराना पाँच जनाबाहेक अन्य कसैको नाम परेन ।

लामो समयदेखि काम गरिरहेका कार्यालय सहयोगी (स्वीपर) लाई हटाएर छोटो समयका लागि सोर्सफोर्समा जागिर खाने व्यक्तिहरूलाई स्वीपर पदमा नियुक्त गरेको पीडित महिलाहरूको आरोप छ । अस्पतालमा पुर्जा काट्ने, ओटी वा प्रशासनमा बस्ने, डाक्टरको घरमा भाडा माझ्ने र एउटै परिवारका अन्य सदस्यलाई जागिर दिएको भेटिएको उनीहरू बताउँछन् ।

१४ जनामध्ये केही व्यक्तिलाई परिवारको अवस्था हेरेर जागिर दिएकोमा कुनै आपत्ति नभएको बताउँदै गुडिया कामतीले भनिन्– ‘परीक्षाको बहानामा स्वीपर पदका कर्मचारी नियुक्त गरेर अस्पताल प्रशासनले आफ्नो प्रक्रिया मात्र पूरा गरेको हो, यो सब पहिलादेखि नै सेटिङ थियो, स्वीपर पदमा पुर्जा काट्ने, भाँडा माझ्ने, अस्पतालमै जागिर खाइरहेका सदस्यका परिवारलाई जागिर दिएको छ ।’ ‘ती पदमा बसेकाले सरसफाईको काम गर्नुपर्ने होइन, तर हाम्रै पुराना दुई जना साथीले सम्पूर्ण अस्पतालको सरसफाई गरिरहेको सुन्नमा आएको छ, यो कतिसम्मको जायज हो’– उनले भनिन् ।

उनका अनुसार एकैपटक हामी १० जना सरसफाईका कर्मचारीलाई जागिरबाट निकाल्दा अस्पतालको सरसफाईको काम पनि राम्रो हुन सकेको छैन । अस्पतालले जागिर दिएका हाम्रा दुई साथी रुना हरिजन र किरण हरिजनले मात्र बिहान ८देखि दिउँसो २ बजेसम्म सरसफाईको काम गर्दै आएका छन् । अरू नियुक्त भएका कर्मचारी बिहान १० बजे आउने, अस्पतालको काम गर्ने अनि जाने मात्र गरिरहेको उनले बताइन् ।

कुन पदमा रहेकाले जागिर पाए ?

अस्पतालले कार्यालय सहयोगी (स्वीपर) ज्यालादारीमा खेमकुमारी दास, जानुका पौडेल, नवीन सिंह, जीवनकला कुइँकेल, राधा तामाङ, निर्मला, महत, सपना, बोहोरा महत, किरण हरिजन, अशोक जमदार, कुमारी हरिजन, रुना हरिजन, रानी कामती, सुमित्रा लिम्बू र कला राईलाई नियुक्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यसमध्ये रुना हरिजन, अशोक हरिजन, किरण हरिजन, कुमारी हरिजन र कला राई पहिलादेखि नै स्वीपरमै कार्यरत थिए ।

यो बाहेक स्वीपरमा नियुक्त भएका नवीन सिंह मेची अस्पताल एम्बुलेन्स चालकका भाइ हुन् । खेमकुमारी दास ल्याबमा रगत तान्ने काम गर्छिन् । जानुका पौडेल बिरामीको रिफर कागजमा छाप लगाउँछिन् । जीवनकला कुइँकेल एक्स–रे फाँट र काउन्टरमा बस्छिन् । सपना बोहोरा महतको सासू र ससुरा अस्पतालका स्थायी जागिरे हुन । रानी कामती डाक्टरको घरमा भाँडा माझ्ने र ओटीमा काम गर्छिन् । सुमित्रा लिम्बूकी सासू र तीन जना नन्द अस्पतालमा जागिरे छन् भने ससुरा अस्पतालका पूर्व कर्मचारी हुन् ।

के भन्छन्– अस्पतालका मेसु डा. ठाकुर

अस्पतालले सरसफाईको ठेक्का लगाउँदा ठेकेदारले २९ जना स्वीपरलाई सरसफाईको काममा खटाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पीताम्बर ठाकुरले बताए । ठेकेदारले खटाएका स्वीपरले राम्रो काम नगर्ने र आर्थिक भार पनि बढेर गएकोले यसबर्षदेखि सरसफाईको जिम्मा समितितर्फ ल्याइएको डा. ठाकुरले बताए ।

सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने भएकोले संख्या घटाउनु परेको उनको भनाइ छ । उनका अनुसार कर्मचारी छनौट प्रक्रियामा गएकामध्ये योग्य व्यक्तिलाई नै छनौट गरिएको हो । हाल कामबाट वञ्चित भएकालाई बिस्तारै पुनस्र्थापना गरिने उनले बताए । एउटै परिवारका धेरै व्यक्तिलाइै जागिर दिएको भन्ने विषयमा उनीसँग जिज्ञासा राख्दा उनले भने– ‘खुला प्रतियोगिता भएकोले योग्य व्यक्ति आएको हो, समितिले गरेको निर्णय भन्दा बाहिर जान मिल्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here