लक्ष्मी गारु, भादगाउँ,

स्थापनाको एक शताब्दी बितिसक्दा पनि सेवा दृष्टिले अत्यन्त पछाडि परेको भक्तपुर अस्पतालले बितेको एक वर्षमा काँचुली फेरेको छ । कोरोना भाइरसको महामारीका बेला उत्कृष्ट सेवा दिन सफल यो अस्पताल वाग्मती प्रदेशको उत्कृष्ट अस्पताल मात्र बन्न सफल भएन स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा समेत उत्कृष्ट बन्न सफल भएको छ ।
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने टोलीले अस्पतालको स्थलगत अध्ययन गरी दिएको अङ्कको आधारमा भक्तपुर अस्पतालले उत्कृष्ट अङ्क हासिल गरेको हो । उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो ।
अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा अर्जुन सापकोटाले बताउनुभयो । गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराब अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनु परेको थियो ।
भक्तपुर अस्पताल कुनै बेला रिफरल अस्पतालको रूपमा परिचित थियो । यहाँको सेवाप्रति जनताको विश्वास हट्दै गएको थियो । उपचारका लागि दक्ष जनशक्तिको अभाव थियो । दरबन्दीअनुसारको चिकित्सक पाउन मुस्किल थियो । एक्स–रे, ल्याबलगायतको सेवा नियमित थिएन तर अहिले अवस्था फेरिएको छ । अस्पतालले बितेको एक वर्षमा गरेको एकपछि अर्को सुधारका कार्यक्रमले अस्पतालको साख बढ्न थालेको छ । अस्पतालप्रति स्थानीयवासीको विश्वास बढ्न थालेको छ ।
प्रदेशस्तरीय भक्तपुर अस्पतालमा हाल १०२ शय्या छन् । तीमध्ये १० शय्या इमर्जेन्सी सेवामा छ भने बाँकी ९२ श्ययामध्ये कोरोना स्ङ्क्रमितका लागि २०, प्रसूति सेवाका लागि २५, मेडिकल वार्डमा २१, सर्जिकल वार्डमा २० र आइसियुमा छ शय्या छन् । त्यस्तै यस अस्पतालमा तीन वटा भेन्टिलेटर सञ्चालनमा रहेको छ ।
केही महिनापछि हाइकेयर युनिट (एचसियु)को रूपमा ७५ शय्या सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । “एचसियुका लागि आवश्यक सामग्रीको लागि बोलपत्र आह्वान गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।
भक्तपुर अस्पतालले एक वर्षमा एक हजार ६६२ वटा शल्यक्रिया गर्न सफल भएको मेसु गौतमले बताउनुभयो । “पहिलाजस्तै अलिकति क्रिटिकल भयो कि रिफर गर्ने सिस्टम पूर्णरूपमा बन्द गरिसक्यौँ । हामीसँग भएको इक्विपमेन्टले भ्याएसम्म सबै शल्यक्रिया यही गरिरहेका छौँ । एक÷दुई वटा हामीले गर्न नसकेको मात्र रिफर गरी पठाएका छौँ ।”
अस्पतालको सेवाले गति लिए पनि दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी अझै पाउन नसकेको मेसु गौमतले गुनासो गर्नुभयो । दरबन्दीअनुसार नेपाल सरकारका १२९ जना स्वास्थ्यकर्मी अस्पतालमा हुनुपर्ने भए पनि हाल ५५ जना मात्र उपलब्ध भएको उहाँले बताउनुभयो । “सरकारको दरबन्दीअनुसार अस्पतालमा १२९ हुनुपर्नेमा जम्मा नेपाल सरकारबाट ५५ जना उपलब्ध छन् । बाँकी सबै व्यवस्थापन समिति, नेपाल सरकारको करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
अस्पतालमा हाल १४५ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन । तीमध्ये नर्स र अनमी ४२, पारामेडिक आठ, पिसीआरसहित ल्याबमा १२, रेडियोग्राफर चार, विकास समितिका ५२, लेखा, प्रशासन, स्टोरमा एक एक जना, स्वास्थ्य बीमाका चार जना कार्यरत छन् ।
भक्तपुर अस्पतालमा हालै ल्याप्रोस्कोपी सर्जरीसमेत शुरु भएको छ । छिट्टै पार्किन्सोनिजम (बिर्सिने रोग)को उपचार थाल्ने प्रक्रिया अगाडि बढाएको मेसु गौतमले बताउनुभयो । साथै आँखाको शल्यक्रिया गर्ने सेवा विस्तार गर्न तिलगङ्गा अस्पतालमा कुराकानी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अपाङ्गता भएका बच्चा नजन्मियोस् भन्ने परीक्षण गर्ने र सानासाना नानीका लागि छ शय्याको आइसियु सञ्चालन गर्ने लक्ष्यका साथ अस्पताल परिवार अगाडि बढेको छ ।”
अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । “शल्यक्रिया, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चस्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ”, मेसु गौतमले भन्नुभयो ।
त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवासमेत दिने व्यवस्था गरेको मेसु डा गौतमले जानकारी दिनुभयो । अस्पतालले पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ ।
अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याइएको हो । साथै खुट्टा, छाती, पेटलगायत विशेष अङ्गको भिडियो एक्सरे सेवा र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ ।
अस्पतालका सूचना अधिकारी डा सुनिल ढुङ्गेलले अस्पतालमा अहिले सहकार्य र टिम वर्कको विकास भएकाले सुधार आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला अस्पतालमा टिम वर्क हिसाबले काम गरौँ भन्दा मनमुटाव हुने अनेकौँ समस्या आउँथ्यो तर त्यो सबै हराए । सबै जना मिलेर काम गरेकाले अहिले काम गर्ने वातावरण एकदमै उत्साहजनक देखिएको छ ।”































