झापा जिल्ला फुटबल संघको बजेट २३ लाख बढी

0
1198

अर्जुनधारा ।

झापा जिल्ला फुटबल संघको सातौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संघका अध्यक्ष भगिरथ आले “मामा”को अध्यक्षता र अखिल नेपाल फुटबल संघ(एन्फा)का मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मनेष दाहालले व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष आलेले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्रमणी लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्ष ०७६/०७७को जम्मा आम्दानी छ लाख चार हजार तीन सय १२ रुपैयाँ ९५ पैसा र जम्मा खर्च पाँच लाख ७२ हजार सात सय नौ रुपैयाँ २८ पैसा उल्लेख गरिएको छ ।

त्यसैगरि संघले चालु आर्थिक वर्ष ०७७÷०७८ को लागि अनुमानित २३ लाख ७८ हजार पाँच सय रुपैयाँ बराबरको बजेट प्रस्तवा गरेको छ । प्रस्तावित बजेट कार्यान्वयन गर्न आन्तरिक स्रोतबाट १८ लाख तीन हजार पाँच सय रुपैयाँ र एन्फाबाट पाँच लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै संघले सार्वजनिक गरेको वार्षिक कार्यक्रमहरुमा एन्फा प्रेसिडेन्ट झापा जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिता(संघमा आबद्ध क्लबहरुबीच), अन्तर माध्यमिक पुरुष र महिला फुटबल प्रतियोगिता, अन्तर पालिका यू–१५ फुटबल प्रतियोगिता, जिल्ला स्तरिय महिला फुटबल प्रतियोगिता, ६ देखि १३ वर्ष उमेर समूहका ग्रासरुट, प्रशिक्षक प्रशिक्षण, रेफ्री प्रशिक्षणलगायत रहेका छन् ।

सोही कार्यक्रममा बाढी पीडित रेफ्री सन्तोष चौधरीलाई दुई लाख ६५ हजार रुपैयाँ बराबरको राहत रकम प्रमुख अतिथि राई, एन्फाका केन्द्रीय सदस्य दिपक राई, अध्यक्ष आलेले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । सो राहत रकम मध्ये रेफ्री संघबाट ९२ हजार रुपैयाँ, संघमा आबद्ध १९ वटा फुटबल क्लबबाट ५७ हजार रुपैयाँ, नेपाल फुटबल रेफ्री समितिबाट ५० हजार रुपैयाँ, एन्फाबाट २५ हजार रुपैयाँ, एन्फा प्रदेश नं. १बाट ११ हजार रुपैयाँ, झापा जिल्ला फुटबल संघबाट १० हजार रुपैयाँ, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र संघका उपाध्यक्ष मनेष दाहालबाट जनही १०–१० हजार रुपैयाँ प्रदान भएको थियो ।

त्यस्तै संघमा आबद्ध १९ वटा फुटबल क्लबलाई कार्यक्रममा दुई थानका दरले फुटबल प्रदान गरिएको थियो । कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य दिपक राई, खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख टहलदास मैनाली, नगर खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेचे, नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, संघका पूर्व अध्यक्ष बालजीत राई, झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेत, काँकडभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव शेरबहादुर बस्नेत “सुन्दर”ले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here