बिर्तामोड ।
झापाको बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा नागरिकस्तरबाट निर्माण गरिने ३३ फुटको कैलाशेस्वर महादेवको प्रतिमाको शिलान्यास गरिएको छ ।

कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माण समितिका अध्यक्ष दिपककुमार दाहालको अध्यक्षता तथा प्रदेश साँसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा निर्माण समितिकी सदस्य निर्जला प्रसाईंले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश साँसद कार्कीले कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माण समितिले निर्माण गर्ने ३३ फुटको कैलाशेस्वर महादेवको प्रतिमाको निर्माणका लागी प्रदेश सरकारमा पहल गर्ने बताए । उनले संघीय सरकार र स्थानीय सरकारसंग पनि सहयोगका लागी आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै बिर्तामोड –१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा निर्माण गरिने ३३ फुटको कैलाशेस्वर महादेवको प्रतिमा देवी पञ्चकन्या टोलको मात्र नभएर बिर्तामोडकै गौरवको आयोजना भएकाले आफू कैलाशेस्वर महादेवको प्रतिमाको निर्माणका लागी लागीपर्ने बताए ।
बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा ३३ फुटको कैलाशेस्वर महादेवको प्रतिमा स्थापना गरिने जसमा आठ फुटको जग र २५ फुटको महादेवको प्रतिमा रहने ,महादेवको प्रतिमा अगाडी पानिको फोहरा र आर्कर्षक विजुली बत्तिको व्यवस्था गरिने कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माण समितिका अध्यक्ष दिपककुमार दाहालले बताए ।

त्यस्तै उक्त टोल प्रवेश गर्न स्वागत द्वार निर्माण गरिने बताइएको छ । स्वागतद्वार र कैलाशेस्वर महादेवको प्रतिमा स्थापना गर्न ३० लाख रुपैयाँ लाग्ने र उक्त रकम टोलवासीबाट संकलन गरिने र अपुग रकम विर्तामोड नगरपालिकासंग माग गरिने उनले बताए । कैलाशेस्वर महादेव प्रतिमा स्थापना र स्वागत द्वार स्थानीयस्तर बाट गरिने बताउँदै उनले नमुना मार्ग निर्माणका लागि बिर्तामोड नगरपालिका तथा प्रदेश सरकारको सहयोग लिइने बताए ।
स्वागत द्वार र कैलाशेस्वर महादेवको प्रतिमा आगामी फागुन २७ गते शिवरात्रीको दिन अनावरण गरिने उनले जानकारी दिए ।
त्यस्तै बिर्तामोड –१ देवी पञ्चकन्या टोलमा नमूना मार्ग निर्माण गरिने समितिका अध्यक्ष दाहालले बताए ।
पञ्चकन्या टोल प्रवेश गर्न स्वागत द्वार , सडकको दायाँ–वाँया वगैचा, बिचको डिभाइडरमा आकर्षक फुलबारी , किनारमा व्यवसायीक प्रयोजनको घर , ठाउँ –ठाउँमा विश्रामालय, अण्डरग्राउण्ड विजुलीसहितको आकर्षक सडक वत्ति ,पानिको फोहारासहितको नमूना मार्ग निर्माण गरिने उनले जानकारी दिए ।
उक्त कार्यको लागि तीन करोड रुपैयाँ लाग्ने अनुमान गरिएको र उक्त रकम संघीय सरकार , प्रदेश सरकार , स्थानीय सरकार र विभिन्न दाताहरुबाट संकलन गरिने उनले बताए ।
कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माणका लागि दिपककुमार दाहालको अध्यक्षतामा कैलाशेस्वर महादेव प्रतिमा स्थापना तथा नमूना मार्ग निर्माण समिति गठन गरिएको छ । समितिका सचिवमा युवराज दाहाल रहेका छन् भने सदस्यहरुमा निर्जला प्रसाईं, गोपाल खतिवडा , पुनम पोखरेल , रुपनारायण पाण्डे र कुमार कडरिया रहेका छन् ।
कार्यक्रममा सहभागि हरिप्रसाद भण्डारी ,देवी संग्रौला , टीका संग्रौला , प्रतिमान खड्का , क्याप्टेन जगनध्वज वनेमलगायतले कैलाशेस्वर महादेव प्रतिमा स्थापना गर्न देवी पञ्चकन्या टोलवासीको साथ रहने बताए ।
निर्माण समितिका सदस्य गोपाल खतिवडाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन निर्माण समितिका सचिव युवराज दाहालले गरेका थिए ।































