नागरिकता बनाउनेको भिडसँगै सास्ती दिनभर लाम लागेर पनि रित्तै

0
634

रत्नबहादुर बस्नेत
झापा ।

१७ वर्षीया सविना चम्लागाईंलाई नागरिकता लिन आवश्यक कागजात भएपछि घरबाट हिँड्दा दुई–तीन घण्टामा त नागरिकता बन्ला भन्ने लागेको थियो ! त्यसो नभए पनि बेलुकासम्ममा त नागरिकता लिएर फर्काैला भन्ने विश्वास थियो । तर, भोलिपल्ट पनि उनको नागरिकता बनेन ।

बुद्धशान्ति गाउँपालिका–२ बुधबारेकी चम्लागाँईलाई नागरिकताको प्रमाणपत्र लिन तीन दिन लाग्यो । स्थानीय वडा कार्यालयबाट सिफारिस लिएर सनाखतका लागि आमासहित जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेकी उनको पहिलो दिन टोकन (पालो प्रणाली) अनुसार करिब तीन घण्टाको प्रतिक्षापछि अनुसूची दर्ता भयो र भोलि आउनु भन्दै पठाइयो । त्यसपछि उनी दोस्रो दिन बिहान १०बजेदेखि लाममा बसिन् ।

६ घण्टा लाम लागेर उभिइन् । खाजा खाने समय पनि भएन उनलाई । करिब साढे तीन बजे नागरिकताका लागि आमाले सनाखत गरेपछि विभिन्न नम्बरका कोठाका झ्याल चाहर्दै नागरिकता वितरण कक्षमा पुग्दा चार बज्यो । त्यहाँ फोटो लिएर भोलि आउनु भनियो । दोस्रो दिन उनी दिनभर लाम लागेर बेलुकी रित्तै फर्किइन् । बल्ल तेस्रो दिन उनको नागरिकता बन्यो । घरबाट हिँड्दा तीन दिन लाग्ला र दिनभर उभिनुपर्ने सास्ती भोग्नुपर्ला भन्ने त उनले सोचेकै थिइनन् ।

झापाको बनियानी घर भएकी मनकुमारी राईले नागरिकता हराएर प्रतिलिपि निकाल्न चार दिन लागेको बताइन् । पहिले उनकी आमाले त्यही काम एक घण्टामा सकेको पनि सुनाइन् । यस्तै बिर्तामोड–५की कुसुम केसीले त्यही कामका लागि सात दिन भइसक्दा पनि नभएको बताइन् । पहिलो दिन गतः पुस २०गते ६ दिनपछि आउन भनिएको र त्यसै अनुसार गरे पनि थप दुई दिन धाउँदा दिन भर बसेर रित्तै फर्कनु परेको उनले दुखेसो पोखिन् । खोजी गरिदिन भन्दा कसैले सुन्दैन, खोइ कहाँ जाने, के गर्ने ?’– ५५ वर्षीया केसीले निराश हुँदै भनिन् ।

२०५५ सालमा बनाएको उनको नागरिकतामा नागरिकता प्रदान गर्ने अधिकारीको हस्ताक्षर अस्पष्ट (केही मेटिएको) भएपछि प्रतिलिपि लिनु परेको हो । यतिखेर जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको कार्य भइरहेकोले नयाँसँगै पुराना, फोटो, अक्षर, हस्ताक्षर अस्पष्ट तथा केरमेट भएका र हराएका सबै नागरिकताको प्रतिलिपि लिन आउने सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

यसरी नागरिकताको प्रतिलिपि बनाउनेको संख्या पनि अत्यधिक छ । यस्ता सेवाग्राहीले अझ अल्मलिएका र ढिलासुस्ती भएको गुनासो गरेका छन् । उनीहरुले अभिलेख नभेटिएको वहाना बनाएर वेवास्ता गर्ने गरिएको समेत बताए । एक महिला सेवाग्राहीले भनिन्– ‘मेरो अभिलेख (ढड्डा)मा खोजिगरिदिन पटक–पटक आग्रह गर्दा कर्मचारीले भेटिएन भने तर अर्को शाखाका चिनेको एक कर्मचारीले एकैछिनमा खोजेर ल्याइदिए ।’

यी जिल्ला प्रशासन कार्यालयमा भेटिएका सेवाग्राहीहरु प्रतिनिधि पात्र मात्र हुन् । भिडसँगै धेरै सेवाग्राहीले ठूलै सास्ती पाउने गरेका छन् । एकातिर एक दुई घण्टाको काम तीन चार दिन लाग्ने ढिलाइ त छँदैछ, अर्कोतिर घण्टौंसम्म लाम लागेर बस्नुपर्ने बाध्यताका कारण सेवाग्राही मारमा परेका छन् । अनुसूची शाखामा सनाखतका लागि अभिभावक बाहिर बसे पनि नागरिकता प्राप्त गर्ने व्यक्तिले दिनभर पंक्तिमा बस्नुपर्ने बाध्यता छ । टोकनको व्यवस्था गरिदिए सहज हुने अवस्था हुँदाहुँदै पनि प्रशासनको त्यसतर्फ ध्यान गएको पाइँदैन । कार्यालय परिसरमा केही कुर्सी राखिएको भए पनि नयाँ नागरिकता बनाउनेलाई बस्ने सुबिधा छैन ।

स्थानीय एक पसलेका अनुसार यस्तो भिड दशैपछिदेखि हुन थालेको हो । लकडाउनका कारण यसअघि मानिस नआउँदा र संख्या थपिएर जाम हुँदा यस्तो अवस्था सिर्जना भएको हो । नागरिकता प्राप्त गर्नेहरुलाई छेउमै रहेको भवनमा राष्ट्रिय परिचय–पत्र बनाउन नाम दर्ता गर्न सूचना गरिएको भए पनि समय नपाएका कारण धेरै सो सेवाबाट बञ्चित हुनुपरेको समेत पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here