विर्तामोड।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय असंवैधानिक र अपरिपक्व भएको बताएका छन् ।
नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले प्रधानमन्त्रीले व्यक्तिगत महत्वाकांक्षाका लागि संविधानमा व्यवस्था नै नभएको धारा प्रयोग गरेर संसद भंग गर्नु संवैधानिक दृष्टिले असंवैधानिक र राजनीतिक रुपले अपरिपक्व निर्णय भएको बताएका हुन् ।
‘काम गर्न नपाएर संसद विघटन गर्नुपरेको’ भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिलाई लक्षित गर्दै नेता गुरुङले प्रश्न गरे– ‘संसदले प्रधानमन्त्रीलाई कुन काम गर्न रोक्यो ? प्रमुख प्रतिपक्षी कांग्रेसले कुन काम गर्न रोक्यो ? एउटा मात्रै देखाउन म चुनौति दिन्छु ।’
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलनका हिसावले पनि कार्यपालिकाका प्रमुखले ब्यवस्थापिका संसद भंग गर्नै नसक्ने दावी गर्दै उनले भने– ‘कसलाई प्रधानमन्त्री राख्ने वा नराख्ने ? कसलाई राष्ट्रपति बनाउने ? संवैधानिक निकायका प्रमुखमा कसलाई नियुक्ति गर्ने ? भन्ने अधिकार संसदले राख्छ । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित अधिकार सम्पन्न संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई कसले दियो ?’ संविधानमा प्रधानमन्त्रीले संसद विघटन अघि विश्वासको मत लिनैपर्ने संवैधानिक ब्यवस्था रहेको उनको भनाइ थियो ।
संविधानको धारा १२८को उपधारा (२) ले संविधानको ब्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई दिएको बताउँदै उनले नेपाली कांग्रेसले सर्वोच्चको फैसला संसद विगठनको पक्ष वा विपक्ष जे आए पनि कांग्रेसले स्वीकार गर्ने बताए । लोकतन्त्रको कानूनी शासन र संवैधानिक सर्वोच्चताको कांग्रेसले सँधै सम्मान गर्ने पनि उनले स्पष्ट पारे ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमकाविरुद्ध देशव्यापी आन्दोलन जारी राखेको बताउँदै उनले संसद पुनस्र्थापनाको माग, संगठन सुदृढीकरण, कांग्रेसको महाधिवेशन र निर्वाचनको पूर्वतयारी समेत सँगसँगै अघि बढाएको बताए ।
नेपाली कांग्रेसको महाधिवेशन आगामी फागुनमै हुन नसके पनि पार्टीको विधान र संवैधानिक ब्यवस्थाका कारण २०७८ भदौभित्रमा महाधिवेशन सक्नैपर्ने बाध्यता रहेको उनको स्पष्टोक्ति थियो । आगामी १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा समेत गरेका गुरुङले सभापति बाहेकका पदमा चुनाव नै नलड्ने ठोकुवा समेत गरे । आफ्नो टिमसहित महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका उनले टिमको टुङ्गो भने लागिनसकेको बताए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।


























