साम्योहाङ दरबार भग्नावशेषमा सीमित

0
719

ताप्लेजुङ ।

ताप्लेजुङ जिल्लाको तमोरखोला क्षेत्र आदिम लिम्बू जातिको इतिहास बोकेको (मुन्धुम)को उद्गम थलोका रुपमा लिइन्छ ।

हालको नेपालको पूर्वी भागको लिम्बूवान क्षेत्रमा बसोबास गरिरहेका आदिम मूलवासी लिम्बू जातिको आगमन पनि हजारौँ वर्ष अगाडि मङ्गोलियाबाट उत्पत्ति हुँदै चीनको सिचुवान प्रान्तबाट तिब्बतको बाटो भएर तमोरखोला क्षेत्रबाट नेपालको पूर्वी क्षेत्रमा प्रवेश गरेको इतिहास छ ।

यहीँबाट हालको ताप्लेजुङलगायत पाँचथर, धनकुटा, इलाम, तेह्रथुम, झापा, मोरङ र सुनसरीलगायत नेपालको विभिन्न क्षेत्रमा छरिएर बसोबास गर्न थालेका लिम्बू जाति भारतको सिक्किम, दार्जीलिङ, आसाम र भूटान लगायतका देशमा फैलिएर बस्न थालेको इतिहास छ । लिम्बू जातिको इतिहाससँग जोडिएका ताप्लेजुङका विभिन्न स्थलहरु संरक्षण र प्रवद्र्धनको पर्खाइमा छन् । त्यस्ता ऐतिहासिक स्थलहरुमध्ये कतिपय संरक्षणको अभावमा नासिँदै गएका छन् ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२को खेजेनिमस्थित ऐतिहासिक राजा साम्योहाङको दरबार पनि अहिले भग्नावशेषमा परिणत भएको छ । संरक्षणको अभावमा सो दरबार नासिएर माटोको ढिस्कोमा सीमित हुन पुगेको छ ।

खेजेनिमको गढीथुमस्थित सो स्थानमा विद्यालय निर्माण गर्दा, नजिकै अन्य संरचना निर्माण गरेका बेला अलिअलि भग्नावशेषमा रहेको ढुङ्गाको पनि प्रयोग गरेर विनाश भएपछि हाल सो स्थान माटोको ढिस्कोमा परिणत भएको स्थानीयवासी ८७ वर्षीय धनशेर अन्छङ्बो लिम्बूले बताए । उनका अनुसार सन् ३००मा राजा माबोहाङको सन्तान राजा साम्योहाङले तमोरथुमको शासन गरेको बेलामा उनका दुई छोराहरु सुत्लुफिङ र मेदइनन् यहीबाट तत्कालीन विजयपुरको राज्यमा खान फौजले आक्रमण गरेका बेला विजयपुरका राजा बुद्धिकर्ण रायले राजा साम्योहाङलाई सहयोग मागेपछि सहयोगका लागि बिजयपुर गएका थिए । विजयपुरको लडाइँमा उनीहरुले युद्धसमेत जितेर फर्किएका थिए । त्यसपछि यहाँबाट एक भाई इलामतिर गएका थिए ।

विशेष गरेर यही राजा साम्योहाङका सन्तान नै हालको खेजेनिममा बसोबास गरिआएको अन्छङ्बो लिम्बू, सवेनहिम, साम्रा, पतङ्वा र त्यहीको सन्तान इलाममा गएकाले चेम्जोङ थर भएको स्थानीय राजेन्द्र अन्छङ्वोको भनाइ छ । अहिले सो स्थानमा सो थरि लिम्बूको बेग्लै भए पनि किन सो ऐतिहासिक दरबारको अवशेषको संरक्षण हुन सकेन भन्ने प्रश्न पनि उठेको छ । स्थानीयवासी राजेन्द्र अन्छङ्बोले भने– मैले थाहा पाउँदा यहाँ ढुङ्गाको पर्खाल थियो र बाहिर हतियार उध्याउने ढुङ्गा पनि थियो तर जनयुद्धकालमा यो विद्यालयको छेउमा रहेको हालको खेजेनिम आधारभूत विद्यालयको खेल मैदान निर्माण गर्दा सो पर्खालको ढुङ्गा सबै फुटाएर प्रयोग गरियो र सबै नाश भयो ।

सो स्थानमा अझै पनि एउटा ठूलो ढुङ्गा रहेको छ । जसमा शत्रुले दरबारमा आक्रमण गर्दा तिरले लागेर छियाछिया भएको छ जुन अहिले पनि देख्न सकिन्छ । सो ऐतिहासिक स्थलको संरक्षणका लागि अहिलेसम्म कुनै काम हुन सकेको छैन । पहिले सो स्थानको वरिपरि खेतीपाती गरिन्थ्यो तर अहिले त्यसलाई संरक्षण गर्नका लागि त्यस क्षेत्रलाई प्रयोग गरिएको छैन । अग्लो डाँडोमा रहेको सो स्थानमा ठूला रुखले संरक्षण गरेको छ भने अन्य मानवीय संरक्षणको पहल भएको छैन ।

लिम्बू जातिको अस्तित्वका रुपमा रहेको एउटा जिउँदो प्रमाण रहेको यो स्थानलाई संरक्षणको टड्कारो आवश्यकता खड्किएको छ । पहिचान र अस्तित्वका लागि जिउँदो इतिहासको संरक्षण र व्यवस्थापन गर्नु सम्बन्धीत जाति र तीन वटै तहको सरकारको दायित्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here