माघे संक्रान्तिको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखबाट शुभकामना

0
874

काठमाडौं,

आज माघ १ गते। देशभरका विभिन्न जातजातिले आआफ्नै किसिमले माघे संक्रान्ति मनाउँदैछन्। थारु समुदायमा माघीलाई विशेष अवसरका रुपमा लिइन्छ। यसैगरी मगर, छन्त्याल र तामाङ समुदायले पनि यस दिनलाई विशेष अवसरका रुपमा मनाउँछन्। यही अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखले शुभकामना व्यक्त गरेका छन्।

बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन्।

यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छिन्।
यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्बर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छिन्।

संविधानको रक्षाका लागि जनताले सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन्।

“संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ। आफ्नो सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ,” उपराष्ट्रपति पुनले भनेका छन्।

‘मगर, थारु र छन्त्याललगायतका आदिवासी जनजाति समुदायको सांस्कृतिक चाड एवं नेपालीको महत्वपूर्ण चाड माघेसङ्क्रान्ति माघी पर्व–२०७७ को अवसरमा मगर, थारु र छन्त्याल समुदायलाई शुभकामना दिँदै उपराष्ट्रपतिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको स्मरण गरेका छन्।

यस्ता पर्वले पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको यो पर्व यस वर्ष विश्वव्यापी कोभिड–१९ का कारण विगत वर्षजस्तो सामूहिक जमघट गरेर हर्षोल्लासका साथ मनाउन नपाउने भएकाले स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सबै नेपालीले आआफ्नो घरमा हर्षका साथ मनाउने विश्वास उपराष्ट्रपतिको छ।

राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेका छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माघी तथा संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन्। ‘थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भभागमा मनाइने माघे संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रम ओलीले भनेका छन्, ‘सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ एक गते देशका विभिन्न भागमा विभिन्न तरिकाले मनाइने यस पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।’

माघे संक्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घिउ-चाकु-तिल-तरुलको लड्डु र सागपात खाने प्रचलन रहेको उल्लेख गर्दै यो पर्व शरीर विज्ञानको हिसाबले पनि उपयोगी भएको प्रधानमन्त्रीको भनाई रहेको छ।

‘जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदी किनार तथा त्रिवेणीहरुमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसावले पनि उपयोगी छ। माघीलाई थारु जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ,’ शुभकामना सन्देशमा प्रधामन्त्रीले भनेका छन्, ‘पुस मसान्तमा घरघरमा माछामास् र ढिकरी (पिठोको एक परिकार) खाइ रातभर मघौटा नाच नाच्ने चलन समेत छ।’

ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उल्लेख गर्दै यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको बताएका छन्। ‘विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्दछ।

हामीले संवैधानिक ब्यवस्था तथा राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेका छौं,’ ओलीले भनेका छन्, ‘हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरुको यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित् छन्। राष्ट्रको सुदृढ एकताको जगमा हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छौं।’

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गरेका छन्। सभामुख सापकोटाले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताएका छन्। “संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ,” शुभकामना सन्देशमा सापकोटाले भनेका छन्।

तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उहाँको सन्देशमा उल्लेख छ। सभामुखले थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे सङ्क्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइने उल्लेख गरेका छन्।

सभामुखले सन्देशमा भन्नुभएको छ, “कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसङ्क्रान्ति÷माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्दछु।” यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सभामुख सापकोटाले लिएका छन्।-पहिलो पोष्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here