विनोद सापकोटा
दमक।

‘न गरे के हुन्छ ? गरे के हुँदैन’ भन्ने भनाइ झापा जिल्लाको दमक नगरपालिका–३का उत्साही किसानले सहकारीको माध्यमबाट खेतीपाती गरेर चरितार्थ गरेका छन् ।
उनीहरुको परिश्रम देखेर गाउँले यतिबेला डाहा गर्छन् ? शुरुमा गाँउले र आफन्तले नहुने काम भन्दै नकारात्मक टिप्पणी गरेका थिए । यतिबेला आएर तिनै मान सरोवर कृषि सहकारी संस्थाको प्रियपात्र मात्र होइन, सदस्य समेत बनेका छन् ।
‘गाँउका दुई चार जना मिलेर ०६८ सालमा कृषि सहकारी संस्था दर्ता गर्यौं । यसको नाम मैले नै जुराएको हुँ’– संस्थापक अध्यक्ष इन्द्र गुरागाँईले भने– ‘उतिबेला ११ जना सदस्य पु¥याउन हम्मे हम्मे थियो, अहिले ४ सय ८० पुगेको छ ।’
संस्थाको उद्देश्यलाई मुर्तरुप दिन २ वर्ष अघिमात्र अध्यक्ष बराल लगायत उपाध्यक्ष वीरेन्द्र पोख्रेल, सचिव ठाकुरप्रसाद लुइँटेल, सहसचिव बिमला भट्टराई, कोषाध्यक्ष वेदप्रसाद न्यौपाने, व्यवस्थापक महेन्द्र अधिकारी लगायतको टिमले तरकारी खेतीको परिकल्पना गर्यो । उनीहरुको परिकल्पना यतिवेला उत्पादन भएर झापा सहित मोरङका ठूला–ठूला बजारमा उपभोक्ताको हात हातमा पुग्न थालेको छ ।
१६ विगाह जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेती शुरु गरेको सहकारीले यतिबेला कृषि पाठशालामात्र होइन सो फारम आन्तरिक पर्यटकका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य बनाउन थालेको छ । उपाध्यक्ष वीरेन्द्र भन्छन्– ‘अग्र्यानिक तरकारी खेती हेर्न दिनहुँ समूहमा बाँधिएर सर्वसाधारण आउनुहुन्छ ।’
सो कृषि सहकारीले तीन वटा कार्यक्रम सरकारको ५० प्रतिशत अनुदानमा पनि गरिरहेको छ । नमूना, खुल्ला र टनेल खेती कार्यक्रम सहकारीका लोकप्रिय कार्यक्रम हुन् । नगरका किसानलाई अग्र्यानिक तरकारी खेती गराउन सिकाएर कसरी अब्बल बनाउने संस्थाले त्यो पनि निःशुल्क सिकाइरहेको छ ।

सहकारी संस्थाको सबैभन्दा आकर्षणको खेती भनेको टनेल खेती हो । पहिले आफ्नै शैलीमा सिजन अनुसारको तरकारी लगाउँदै गरेकोमा तरकारी फल्ने समयमा भाउ नपाउने, रोगकिराको डर हुने समस्याले हैरान हुन थालेपछि टनेलमा तरकारी खेती शुरु गरेको हो । अव सबै जातका तरकारीहरु पनि टनेलभित्र नै गर्ने सोचमा सहकारी छ । बीऊ उमार्नेदेखि टनेल बनाउने, ड्याङ बनाउने, बीऊ लगाउने, त्यसको हेरचाह गर्ने, मलपानी हाल्ने र बजारसम्म पु¥याएर बेच्ने काम सहकारी आफैंले गरेको छ ।
टनेलको एक छेउमा थोपा सिञ्चाइका लागि ड्रम राखिएको छ । ड्रममा जम्मा भएको पानी आवश्यक मात्रामा पाइपमार्फत विरुवामा हाल्ने गरिएको छ । टनेलमा लगाएको तरकारी राम्रो पनि हुन्छ । कृषि प्राविधिक दधिवल चापागाँईले भने– मान सरोबर कृषि सहकारी संस्थाको खेती गर्ने शैलीको सिको गदै यस भेगका अन्य किसानहरुले पनि टनेल बनाएर खेती गर्न शुरु गरेका छन् ।
बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनु आवश्यक छ । यसका लागि प्लाष्टिक घर (टनेल) एक मुख्य प्रविधिको रूपमा रहेको छ । टनेलभित्र किराफट्याङ्ग्रा, वर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिने चापागाँईले बताए ।
सहकारीले हाल ११ वटा टनेल बनाएर व्यवसायिक तरकारी खेती गरिरहेको छ । अन्य तीन वटा निर्माणाधीन छन् । माघको दोश्रो सातादेखि निर्माणाधीन टनेलमा पनि खेती शुरु हुने सहकारीका कोषाध्यक्ष न्यौपानेले बताए ।
सो सहकारीले तरकारी उत्पादन र विक्री वितरणबाट बार्षिक १ करोड ५० लाख खुद मुनाफा आर्जन गरिरहेको छ । ३५ जनाले सहकारीबाट रोजगारी समेत पाएका छन् । स्थानीय बुढापाका भन्छन्– एक नम्बर प्रदेशमा १ नम्बर नै कृषि सहकारी संस्थाको रुपमा मानसरोवर उदाएको छ ।
बैदेशिक रोजगारका लागि विदेश गएर फर्किएका र विदेश जान साहुको ऋण नपाएका सो बस्तीका उत्साही युवाले कृषि सहकारीबाटै खेतीपाती गरेर राम्रो आम्दानी गरिरहेका छन् । पासपोर्ट बनाएर विदेश जान साहुका घर–घर धाइयो– सो बस्तीका ४६ वर्षीय किसान चन्द्रबहादुर दर्जीले पाँच वर्ष पहिलेको कुरा सम्झँदै भने– विदेश नगएर यतै कृषि फारममा काम गरेको भए यतिवेला घडेरी र घर बनाइसक्ने रहेछु ।






























