कम्युनिष्ट नेता राष्ट्रघाती देखिएः सिटौला

0
554

बिर्तामोड ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट पार्टीका धेरै नेता देशद्रोही र राष्ट्रघाती देखिएको बताएका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा शुक्रबार जिल्ला पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले वर्तमान प्रधानमन्त्री केपी ओलीको तीनबर्षे कार्यकाल देश र जनताको हितमा नरहेको बताए ।

‘केपी ओलीको सम्पूर्ण शक्ति पार्टीको र आफ्नै गिरोहको हितमा मात्रै खर्च भएको छ’– नेता सिटौलाले भने– ‘उहाँमा नैतिकताको सीमा छैन, कानूनको अधिनमा हुनुहुन्न, संविधानको बन्देजमा हुनुहुन्न, देश र जनताको हितमा काम गर्नुभएको छैन, आफ्नो पार्टी र पार्टीभित्र पनि आफ्नै गिरोहको पक्षमा मात्रै काम गरेको देखिन्छ ।’ कम्युनिष्ट पार्टीभित्रको विवादको सनकमा ओलीले संसद विघटन गरेको र यसले संविधानको ‘फण्डामेन्टल’मा नै भ्वाङ पारेको नेता सिटौलाले बताए । प्रधानमन्त्रीको बोलीमा नम्रता, शिष्टता, कर्णप्रियता नरहेको उल्लेख गर्दै नेता सिटौलाले ओलीको दम्भले देश र जनताले दुःख पाएको बताए ।

पूर्व उपप्रधानमन्त्री तथा संविधान निर्माणका क्रममा संविधानका मस्यौदाकार समेत रहेका नेता सिटौलाले भने– ‘विगतको अभ्यासमा संसद विघटनले राजनीतिक दुर्घटना निम्त्यायो, अस्थिरता सिर्जना भयो, यही अभ्यासका आधारमा संविधानमा संसदको सर्वोच्चताको व्यवस्था गरिएको हो ।’ पटक–पटकको अभ्यासमा पनि संसदले बहुमतको प्रधानमन्त्री चुन्न नसकेको अवस्थामा स्वतः संसद विघटन हुने व्यवस्था संविधानमा उल्लेख रहेको स्पष्ट पार्दै नेता सिटौलाले संसद फेस नै नगरी संसद विघटन गर्नु प्रधानमन्त्रीको असंवैधानिक कदम रहेको टिप्पणी गरे ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन कायम राख्दै न्यायालयलाई निष्पक्ष र तटस्थ राख्न संविधान निर्माणकै क्रममा तत्कालीन प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशसँग परामर्श गरेरै संविधान निर्माण गरिएको जानकारी दिँदै नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने विश्वास समेत व्यक्त गरे ।

‘सर्वोच्चले संसद विघटनको पक्षमा निर्णय दिए राजनीतिक अस्थिरता निम्तिन्छ’– नेता सिटौलाले भने– ‘सर्वोच्चले सरकारको अघि घुँडा टेक्यो भने अरु कुनै संवैधानिक निकायले निष्पक्ष काम गर्न सक्दैनन् ।’ नेपाली कांग्रेस हार्दा आत्तिने र जित्दा मात्तिने पार्टी नभएको स्पष्ट पार्दै नेता सिटौलाले भने– ‘कांग्रेसले सबैलाई राजनीतिक मूल्य, मान्यता, लोकतान्त्रिक पद्धति, विधिको शासनमा हिडाउँछ, कांग्रेस लोकतान्त्रिक पद्धतिको संस्थागत विकासकै लागि संघर्षरत् छ ।’

कांग्रेसका अगुवा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीले च्यातिएको र मिचिएको संविधान लिएर कांग्रेस चुनावमा नजाने स्पष्ट पार्दै संविधानलाई ट्र्याकमा ल्याएर मात्रै चुनावमा जाने बताए । सर्वोच्च अदालतले समयमै फैसला नदिए र निर्वाचन आयोगले समयमा चुनाव चिन्ह नदिए चुनाव हुन नसक्ने बताउँदै नेता बुढाथोकीले निर्वाचन नभए मुलुक अँध्यारो सुरुङमा फस्ने धारणा राखे ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री सरिता प्रसाईले कम्युनिष्ट नेतृत्वको सरकारलाई म्यान्डेट बाहिर नजान संसदमार्फत नै पटक–पटक सुझाएको बताउँदै ओलीको दम्भले देशलाई दुर्घटनामा पु¥याएको धारणा राखिन् ।

नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, सुनसरी जिल्ला सभापति राजीव कोइराला, १ नं. प्रदेशका कांग्रेस संसदीय दलका सचेतक केदार कार्की, सांसद लोकप्रसाद संग्रौला, ओम सरावगी, पूर्व सांसद डिल्ली सिटौला, विश्वदीप लिङ्देन लगायत अग्रज नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली कांग्रेस झापाका सचिव तारावीर कटुवालले सञ्चालन गरेको कार्यक्रममा स्वागत सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here