‘अँध्यारोमुक्त अभियान’

0
1228

चन्द्रकला भण्डारी/झापा,

झापाको पाँचवटा पालिकालाई अँध्यारोमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले जनाएको छ ।

केन्द्रले भद्रपुर नगरपालिकासहित कचनकबल र हल्दिबारी गाउँपालिकालाई अँध्यारोमुक्त बनाउन गत वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ । मेचीनगर र विर्तामोडको आंशिक क्षेत्र र बाह्रदशी गाउँपालिकाको केही वडामा यो अभियान सञ्चालित छ ।

आगामी एक महिनाभित्र आफ्नो कार्यक्षेत्रभित्रका पालिकाको सबै घरमा विद्युत् सुविधा पुगिसक्ने केन्द्रका प्रमुख इन्जिनीयर सञ्जीवकुमार साहले बताउनुभयो । उहाँले हालसम्म ३० हजारभन्दा बढी ग्राहकको घरमा बिजुली बत्ती पुगिसकेको जानकारी दिनुभयो । प्राधिकरणले आर्थिक अभावका कारण विद्युत् जडान गर्न नसक्ने विपन्न समुदायका परिवारको घरमा निःशुल्क मिटर बक्स जडान गरिदिने कार्य गर्दै आएको छ । एक वर्षभित्र ६०० भन्दा बढी अति विपन्न परिवारलाई स्थानीय तहको सिफारिसका आधारमा विद्युत्को मिटर बक्स निःशुल्क जडान गरिदिएको प्राधिकरणले जनाएको छ ।

“सरकारको लक्ष्य नै सबैको घरमा विद्युत्को पहुँच पु¥याउने हो”, उहाँले भन्नुभयो, “विपन्न समुदायले आर्थिक अभावमा उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर स्थानीय सरकारको सिफारिसका आधारमा विपन्नको पहिचान गरी निःशुल्क विद्युत् जडान गरिरहेका छौँ ।” उहाँले विगतमा जस्तो ग्राहकले निवेदन दिएर एक महिनासम्म मिटर बक्स जडान गर्न कुर्नुपर्ने प्रथाको अन्त्य भएको बताउनुभयो । “निवेदन दिएकै दिन वा भोलिपल्ट सम्बन्धित व्यक्तिको घरमा बत्ती बल्छ,” कार्यालयका प्रमुख साहले भन्नुभयो, “अब अँध्यारोमा कसैले बस्नु पर्दैन ।”

कर्मचारी अभावमा समेत उपभोक्ताको चाहनाअनुरुप भरपर्दो र छिटोछरितो सुविधा प्रदान गरिरहेको उहाँको भनाइ छ । प्राधिकरणको भद्रपुर वितरण केन्द्रमा १०४ जना कर्मचारी (प्राविधिकतर्फ ७० र प्रशासनतर्फ ३४) को दरबन्दी छ । तर हाल प्राविधिकतर्फ २६ र प्रशासनतर्फ १९ गरी कूल ४५ कर्मचारीले मात्र काम गरिरहेका छन् ।

मेचीपारिको नेपाली बस्तीमा विद्युत् पु¥याइँदै

मेचीनगर नगरपालिका–१५ का तीनवटा गाउँ मेची नदीपारि छन् । प्राधिकरणले त्यहाँ विद्युत् पु¥याउने कार्य थालिसकेको केन्द्रका प्रमुख साहले बताउनुभयो ।

उहाँका अनुसार सिसौडाँगी, होपना बस्ती र ग्वाल बस्तीका ५५ घरमा विद्युत् पुगेको छैन । त्यति सङ्ख्याका घरमा सौर्य विद्युत् सुविधा पुगेको छ । “मेचीनगरका नगरप्रमुख र सम्बन्धित वडाका अध्यक्षसँग कुराकानी गरेर त्यहाँका विपन्नहरुको पहिचान भइसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “केही दिनभित्रैमा मेचीपारिको नेपाली बस्ती अँध्यारोमुक्त हुनेछ ।”

ग्राहकमैत्री कार्यालय

प्राधिकरणले सेवा केन्द्रलाई प्रविधि र ग्राहकमैत्री बनाएको छ । कार्यालयका प्रमुख साहले सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर कार्यालयलाई ग्राहकमैत्री बनाइएको बताउनुभयो । कार्यालयमा सेवा लिन आउनेहरु बस्ने हललाई सुविधासम्पन्न वातानुुकूलित बनाइएको छ ।

बिजुलीको बिल तिर्न आउने र मिटर माग्न निवेदन दिन आउने ग्राहकहरुलाई पालो मिलाउनका लागि टोकन प्रणाली लागू गरिएको छ । पालो पर्खेर बसेका सेवाग्राहीलाई तातो र चिसो पिउने पानी, फ्री वाइफाई र टेलिभिजनको व्यवस्थासमेत कार्यालयमा गरिएको छ ।

कार्यालयमा अभिलेख व्यवस्थापनलाई आधुनिक र वैज्ञानिक बनाइएको छ । कुनै पनि पुरानो अभिलेख रहेको फाइलहरु खोजेको समयमा तुरुन्त उपलब्ध हुने गरी ¥याकमा ग्राहकको नम्बरसहित मिलाएर राखिएको छ । त्यसलाई डिजिटलाइज गरी कम्प्युटरमा अभिलेखीकरण गर्ने तयारी भइरहेको छ । कार्यालयमा महिलामैत्री शौचालय र अपाङ्गमैत्री कार्यकक्षको समेत व्यवस्था गरिएको छ ।

कार्यालय प्रमुख साह भने अपाङ्गमैत्री बन्नका लागि कार्यालयको भुइँतलाकै कार्यकक्षमा बस्ने गर्नुभएको छ ।

मृतकका आफन्तलाई सहयोग

कोरोना भाइर सङ्क्रमणका कारण विदेशमा मृत्यु भएका नेपालीको परिवारलाई आइएमई समूहले भरोसा कोषमार्फत रु ५० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ ।

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश नं १ अन्तर्गत चार परिवारलार्ई आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोडमा एक कार्यक्रमबीच सो सहयोग राशिको चेक हस्तान्तरण गर्नुभयो ।

मृतकका परिवारलाई सहयोग गर्ने उद्देश्यले आइएमईले ‘भरोसा कोष’ स्थापना गरेको थियो । कोषबाट सहयोग राशि प्राप्त गर्नका लागि २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० गतेसम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले मङ्सिर १५ गतेभित्र आवश्यक विवरण उपलब्ध गराउन आइएमईले आह्वान गरेको थियो ।

आइएमईका अध्यक्ष ढकालले विदेशमा मृत्युवरण गरेका प्रवासी श्रमिकका परिवारलाई सहयोग गर्नु भरोसा कोषको उद्देश्य रहेको बताउनुभयो । आइएमई ग्रुपले २२५ सेन्टर र १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here