सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा

0
767

मोह्म्मद सदरुल/विराटनगर,

आगलागी जस्ता घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रमबाट प्रदेशका जनता लाभान्वित हुने भएका छन् । सो कार्यक्रमबाट प्रदेश नं १ मा उदयपुर जिल्लाबाहेक १३ जिल्लाका ३८ हजार ६९६ लाभग्राही लाभान्वित हुने भएका छन् ।

गत १० वर्षका अवधिमा यस प्रदेशमा आगलागीका तीन हजार ८७७ घटना ११८ ले ज्यान गुमाएको छ भने अर्बांै रकम बराबरको सम्पत्ति नष्ट भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीजस्तो घटनाले मानिस धनसम्पत्ति नोक्सान हुने र वर्षौंसम्म यसको पीडाबाट बाहिर निस्कन समस्या हुने भएकाले सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएको जनाइएको छ ।

सरकारले यस कार्यलाई मूर्तरुप दिन विराटनगरको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कार्यालयमार्फत सुनसरी र मोरङ, सघन शहरी तथा भवन निर्माण कार्यालय चन्द्रगढी झापाबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङ, सघन शहरी तथा भवन निर्माण कार्यालय ओखलढुङ्गबाट ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु तथा सघन शहरी तथ भवन निर्माण कार्यालय धनकुटाबाट धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लाका विपन्न परिवारमा काम गर्ने निर्देशन र बजेट विनियोजन गरेको छ ।

प्रदेश नं १ मै रहेको उदयपुर जिल्लाको काम सघन शहरी तथा भवन निर्माण कार्यालय प्रदेश नं २ अन्तर्गत रहेको सप्तरी राजविराज कार्यालयले हेर्ने भएको यसको विवरण प्राप्त हुन सकेनन् ।

सङ्घीय आयोजना कार्यान्वय एकाइ कार्यालयले प्राप्त गरेको स्वीकृत आवास कार्यक्रमबाट सुनसरीका चार हजार १५८ र मोरङमा छ हजार ८७८ घरधुरी लाभान्वित हुने आयोजनाका इन्जिनीयर राजु शर्माले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रमबाट फुसको घर भएका लाभग्राहीको घरमा फुसको छानो हटाएर जस्तापाता लगाउने जानकारी दिनुभयो ।

यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमै लाभग्राहीलाई फुसको छानो हटाउन र जस्तापाता हाल्न शुरुको किस्तामा रु ३० हजार र अन्तिम किस्तामा रु २० हजार प्रत्येक लाभग्राहीलाई प्रदान गरिने इन्जिनीयर शर्माले बताउनुभयो । सुनसरीमा रु २० करोड ७९ लाख र मोरङमा रु ३४ करोड ३९ लाख खर्च हुने आयोजनाका उहाँले बताउनुभयो ।

उहाँका अनुसार चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा निर्वाचन क्षेत्र नं १ मा एक हजार ५०, निर्वाचन क्षेत्र नं २ मा ८३४, निर्वाचन क्षेत्र नं ३ मा एक हजार १३७ र निर्वाचन क्षेत्र नं ४ मा एक हजार १३७ जना गरी चार हजार १५८ जना छनोट हुने भनिएको छ ।

त्यस्तै छवटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र नं १ मा एक हजार ३६८, निर्वाचन क्षेत्र नं २ मा एक हजार २२८, निर्वाचन क्षेत्र नं ३ मा एक हजार ११९, निर्वाचन क्षेत्र नं ४ मा एक हजार १२८, निर्वाचन क्षेत्र नं ५ मा एक हजार तीन र निर्वाचन क्षेत्र नं ६ मा एक हजार ३२ जनाले सो सुविधा प्राप्त गर्ने भएको छ । आयोजनाका प्रमुख, जिल्ला समन्वय समितिका संयोजक, पालिका प्रमुख वा उपप्रमुख र सम्बन्धित क्षेत्रमा सांसदसहितको समितिले निर्णय गरेर सम्बन्धित लाभग्राहीको बैंक खातामा पैसा हाल्ने नियम रहेको सङ्घीय आयोजना कार्यान्वय एकाइ विराटनगरका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै सघन शहरी तथा भवन निर्माण कार्यालय चन्द्रगढी अधीनमा रहेको झापा, इलाम, पाँचथर र ताप्लेजुङका गरी १५ हजार ४११ ले सो सुविधा प्राप्त गर्ने कार्यालयका नायब सुब्बा प्रदीप दाहालले बताउनुभयो । उहाँका अनुसार यी चार जिल्लामा प्रत्येक घरधुरीले पाउने रु ५० हजारका हिसाबले कूल रु ७७ करोड पाँच लाख ५० हजार खर्च हुन्छ भन्नुभयो ।

उहाँका अनुसार पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचन क्षेत्र नं १ मा ६६२, निर्वाचन क्षेत्र नं २ मा ७०१, निर्वाचन क्षेत्र नं ३ मा ९२९, निर्वाचन क्षेत्र नं ४ मा एक हजार ८५ र निर्वाचन क्षेत्र नं ५ मा एक हजार ३३०, दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा निर्वाचन क्षेत्र नं १ मा एक हजार ३७९ र निर्वाचन क्षेत्र नं २ मा दुई हजार ७८३, एक निर्वाचन क्षेत्र रहेको पाँचथरमा चार हजार ७२८ र एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा एक हजार ८१४ को घरमा जस्तापाता हाल्नका लागि लाभग्राहीहरु छनोट भइसेकको जानकारी दिनुभयो ।

जिल्ला झापामा रु २३ करोड ५३ लाख ५० हजार, इलाममा रु २० करोड ८१ लाख, पाँचथरमा रु २३ करोड ६४ लाख र ताप्लेजुङमा रु नौ करोड सात लाख सुरक्षित नागरिक आवास कार्यक्रममा खर्च हुने नायब सुब्बा दाहालले जानकारी दिनुभयो ।

यस्तै सघन शहरी तथा भवन निर्माण कार्यालय ओखलढुङ्गाको जिम्मा रहेको ओखलढुङ्गा खोटाङ र सोलुखुम्बु गरी पाँच हजार १२० लाभान्वित हुने कार्यालय प्रमुख विनोद सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुङ्गामा एक हजार ४४३, खोटाङमा दुई हजार ३८८ र सोलुमा एक हजार २८९ जना लाभान्वित हुने र यसका लागि प्रतिपरिवारले रु ५० हजारका दरले प्राप्त गर्दा कूल रु २५ करोड ६० लाख खर्च हुने बताउनुभयो ।

त्यस्तै धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लालाई हेर्ने गरी अधिकार प्राप्त सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय धनकुटाले यी चार जिल्ला सात हजार १२९ जनालाई जस्तापाता वितरण गर्ने भएको आयोजना प्रमुख नवीनकिशोर श्रेष्ठले जानकारी दिनुभयो । यसका लागि सरकारले बनाएको मापदण्ड र समितिको अन्तिम निर्णयमा छनोटमा परेका घरधुरीलाई रकम बैंकमार्फत हस्तान्तरण गर्ने जानकारी दिँदै प्रमुख श्रेष्ठले यसका लागि यी चार जिल्लामा कूल रु ३५ करोड ६४ लाख ५० हजार खर्च हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार धनकुटामा सात पालिकाका एक हजार ९०४, तेह्रथुममा छ पालिकाका एक हजार ६४९, भोजपुरमा नौ पालिकाका दुई हजार १४३ र सङ्खुवासभामा छ पालिकाका एक हजार ४३३ जनाले सो सुविधा प्राप्त गर्ने भएका छन् । विपन्न परिवारले आर्थिक समस्याका कारण घर छानो फुसको लगाउने यस्ता परिवारमा कुनै कारणले आगलागी भएमा योसँगै अनेक परिवार समस्यामा डुब्ने भएकाले सुरक्षित नागरिक आवास कार्यक्रमबाट त्यस्ता परिवारमा खुशी आउने जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here