व्यक्तिबाट दुर्गा गुठीकै नाममा जग्गा फिर्ता

0
912

बिर्तामोड।

बिर्तामोडस्थित दुर्गा स्थान राजगुठीको जग्गा विवाद समाधान भएको छ । साविक अनारमनी गाविस वडा नम्बर–५मा रहेको गुठीका जग्गामध्ये कित्ता नम्बर १२०, ८२२, ८२५ र ८१५ को जग्गा गुठीको नाममा कायम भएसँगै जग्गाको विवाद समाधान भएको हो ।

गत माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा केशवप्रसाद बिमलीले ‘हक छाड सनाखत’ गरी सो जग्गा फिर्ता गरेसँगै गुठीको जग्गा विवाद समाधान भएको हो । नेपाल सरकारको सहसचिव समेत रहेका बिमलीले आमा टीकादेवी बिमलीको नाममा मोही खरिद गरिएको जग्गा फिर्ता गरेको बिर्तामोड नगरपालिकाले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै जनाएको छ ।

साविक अनारमनी गाविस वडा नम्बर ५ कित्ता नम्बर १२०, ८२२, ८२५ र ८१५ को जग्गा विभिन्न कालखण्ड हुँदै बिमलीकी आमा टीकादेवीको नाममा दर्ता हुन पुगेको थियो । बिमलीले आमाको आफू एक मात्र हकदार भएकाले मोही लगत कट्टा समेत गरी सो जग्गा गुठीलाई फिर्ता दिएसँगै विवाद समाधान भएको बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।
बिमलीको निवेदनपछि बिर्तामोड–३मा रहेको डोमालाल राजवंशी रंगशाला भएको जग्गा अब राजगुठीकै नाममा फिर्ता भएको छ ।

जग्गाहरुको हकमा निवेदक केशवप्रसाद बिमलीले भनेका छन्– २०६७ जेठ २मा माग निवेदनमा म निवेदकको आमा टीकादेवी बिमलीको मिति २०६२ बैशाख २५मा मृत्यु भएको हुँदा मेरो नाम कायम गरी पाउन निवेदन पेश गरेको भए तापनि उक्त जग्गामा कायम हुन आउने मोही भएकाले माथि उल्लेखित कित्ता नम्वर १२०, ८२२, ८२५ र ८१५को जग्गा क्रमशः १ बिगाहा २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गाहरुबाट प्राप्त हुने जग्गाहरुको हकमा म निवेदकले उक्त जग्गाहरु अनारमनी दुर्गा स्थान राजगुठी स्थानकै नाममा दाखिला दर्ता गरी दिने गरी म मोहीको हक लाग्ने जग्गा गुठी संस्थालाई हक प्रदान गर्न सहमत भएको छु ।’

अब कित्ता नम्बर ८२०को ८ कठ्ठा जमिन रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार बिमलीको नाममा रहेको बताइएको छ । सो जग्गा समेत फिर्ता ल्याउनका लागि पहल भइरहेको बताइएको छ । दुर्गा स्थान गुठीको जग्गा व्यक्तिको नामबाट गुठीमै फिर्ता ल्याउन सक्रिय सहजीकरण गरेकोमा बिर्तामोड नगरपालिकाले नेपाल सरकारका महान्यायाधीवक्ता अग्निप्रसाद खरेलप्रति कृतज्ञता व्यक्त गरेको छ ।

त्यस्तै, नगरपालिकाले सो जग्गामा रहँदै आएको डोमालाल राजवंशी रंगशाला निर्माण गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । देवी गुठीको झण्डै १३ बिगाह जमिन विभिन्न समयमा भू–माफियाले हडपेको वताइएको छ । अनारमनी दुर्गा मन्दिरको नाममा रहेको हालको डोमालाल रंगशालाको जग्गामा २०५२÷२०५३ सालदेखि नै भू–माफियाले हडपेको बताइएको छ ।

मंगलवार नगरपालिकाले जग्गाको विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा नगरकी उपप्रमुख पवित्रा महतरा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल समेत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here