कोरोनाको स्कूलभित्र

0
693

उनको पेट भोकै थियो सायद । एक मुठ्ठी मकै मसिनो गरी चपाइन् र आफूले निल्नुुको सट्टा दाँत नपलाएको आफ्नो बच्चाको मुखमा हालिदिइन् बच्चाले जिब्रोले चलायो र निल्यो । ती आमाले बच्चाको घाँटीबाट मकै छिरेको थाहा पाउँदा मीठो स्वाद मानी रहिन् । मैले जीवनमा थुप्रै नयाँ स्कूलहरु तथा कलेजमा भर्ना पाएको छु । कतिपय कलेजमा त प्रवेश परीक्षामा सामेल भएको छु ।

यसपटक पनि एउटा प्रक्रिया अन्जान मै पूरा भएछ । मैले कोरोना स्कूलमा भर्ना पाएँ । यहाँ गुरु र सहपाठी हुँदैनन् ‘म’ ले मलाई पढाउँछ । होस्टलमा बस्नुपर्छ । खाने–बस्नेको सुविधा उपलब्ध हुन्छ, दालभात तरकारी अचारसहितको खाना । फरक यतिमात्र हो यसमा शिष्यलाई धेरै परिकार दिनु र एउटै मात्र दिनुमा अन्तर छैन । उता पल्लो कोठामा टेलिभिजनले प्याज–टमाटरको मूल्य आकाशिएको सुनाउँछ अनि स्थानीय उत्पादनले नधानेर आयात भइरहेको पनि । मैले प्याज–टमाटरका पारखीहरुलाई सम्झिएँ, यतिबेला तिनीहरुका रित्ता खल्ती सम्झिएँ । छेवैमा कसाईले आज सातौं खसी ढाल्यो र यो पनि हारालुछ भयो ।

उता हलुवाईले दूधमलाई बनायो र ग्राहकले दश थान मलाईका बट्टा माग ग¥यो । आठ वटा गणना गर्दा भण्डार रित्तिएको व्यहोरा मालिकलाई जाहेर ग¥यो । यो स्कूले जीवनमा ‘म’ ले मलाई आन्तरिक मूल्याङ्कनका लागि उसको प्रश्नको सँगालोबाट एउटा प्रश्न थुतेर थमाइदियो । ‘आखिर स्वाद केमा छ शिष्य ?’ मैले हतार–हतार लेखी दिएँ– ‘मासुमा छ, प्याजमा छ, टमाटरमा छ, मिठाइमा छ, हलुवामा छ, मममा छ, पिज्जामा छ आदि–आदि ।’ उसले उत्तर लेख्न दिएको समय आधा सकिएको थियो सायद । एक पानाभरि लेखेको जवाफ काटी दिन्छु र पाना पल्टाएर म फेरि अर्को उत्तर लेख्न थाल्छु ।

‘गुरु ! स्वाद त न ट्राउट माछाको रोष्टमा छ न अमेरिकामा अत्यधिक मान्छेले रुचाएको खाना कव सलादमा छ न फेजिटासमा छ । स्वाद छ भने मान्छेको जिब्रोमा छ अरु काँही छैन ।’ फेरि सम्झिएँ अघि खाएको दालभात तरकारी अचार सबैको स्वाद उस्तै माटो खाए जस्तो थियो । ‘म’ को यो निर्माणात्मक मूल्याङ्कनले तुलना र तर्क गर्ने क्षमताको विकास गराइरहेको थियो । मैले शरीर र जिब्रोको तुलना गरेँ एउटा छ फिटको हुँदो हो र अर्को चार इञ्चको । मान्छे चार इञ्चको जिब्रोको माग परिपूर्ति गर्न छ फिटको शरीरमाथि अन्याय गरिरहेको हुन्छ र रोग भण्डारण गरिरहेको हुन्छ ।

एउटा सुगरको रोगीले लालमोहन तराजुमा जोख्न लगाइरहेको थियो । सम्झिएँ पोहोर साल मेरो घरमा सानोतिनो कार्यक्रममा खिर र करेलाको तरकारी पकाइएको थियो । खिरमा चिनी थियो निकै गुलियो । तरकारी करेला नुन मसला हालेको र निकै तितो । सबैले स्वादिलो छ भन्दै खाइरहँदा मैले सोचेँ खिरमा तिते करेलाको रस र तरकारीमा चिनी हालेको भए के हुन्थ्यो होला । आखिर शरीरले पाउने त त्यही गुलियो र तितो न हो । फेरि सम्झिएँ यदि त्यसो गरेको भए भान्सेमाथि सवाल उठ्न सक्थ्यो ।

पल्लो घरको झ्याल अक्सर बन्द हुन्छ । आज खुल्ला छ, मेरो झ्यालको सामुन्ने । म उसको झ्यालतिर नहेरी हेरिएको छु । झ्यालभित्र पाहुना छन् अनि प्यालाहरु र बोटलहरु छन् । टेबलको कैफियतसम्म फैलिएका छन् के–के हो के–के सामग्रीहरु । रंगीन छ माहोल । एउटाले पानी र अन्य पेयको समिश्रण मिलायो । अलिकति पियो, आँखा बन्द ग¥यो, नाक खुम्चायो, ओठ हरिया बनायो । मुस्किलले निल्यो, घाँटी छाम्यो र छाती छाम्यो, मुखबाट वाफ निकाल्यो । मुख घाँटी र छातीको जलन मेटाउन चिसो काँक्राको चानो चपायो र साथीलाई भन्यो– ‘क्या मिठो रक्सी’ । स्वाद केमा छ भन्ने गुरुले यतिबेला रातो कलम थन्क्याएर हरियो निकाले होला । संसार प्रशिद्ध रक्सी डोमिन होस् कि पाखा गाउँकी अन्तरीले बनाएको चारपाने, दुबैको प्रकृति उस्तै हुँदो हो । छाती चिर्नु पर्दो हो, मुख सुकाउनु पर्दो हो र जिब्रोले बेस्वादको स्वाद पाउनु पर्दो हो । क्लियोपेट्राको आधा शरीर डुबाएको रक्सी अमृत झैं खाए उक्त रक्सी मह र दूधको स्वादमा पक्कै थिएन सायद ।

अझैं सही उत्तर भेटिन मैले फेरि विचार गरेँ । विश्वेश्वरप्रसाद कोइरालाले देशको प्रधानमन्त्री हुनुमा भन्दा सुम्निमाको प्रकाशन मै स्वाद पाए होला, लियोनार्डो दाभिन्चीले अर्धमुस्कानको मोनालिसाको चित्र तयार गरेको दिन उत्कृष्ट स्वाद पाए होलान् । सेवाबाट थकित डाक्टरहरु सुतेपछि युद्धका घाइतेहरुको रुवाइ मत्थर पार्न हातमा क्याण्डल बालेर आधा रातमा सहयोग गर्न पाउँदा फ्लोरेन्स नाइटिङ्गललाई अझै स्वाद लाग्यो होला, जर्मनका सम्राट हिटलरले बंकरभित्र नै ब्राउनसँगको वैवाहिक समारोह आयोजना गर्दा स्वाद पाए होला र त्यो भन्दा पनि धेरै स्वाद दुश्मनको बन्दुकको गोलीको स्वाद लिनुभन्दा साइनाइट गोलीको स्वाद रसिलो लाग्यो अथवा हारेर मर्नुभन्दा मरेर हार्नुको स्वाद गजब लाग्यो होला ।

मूल्याङ्कन अवधिको घण्टी बजेर पनि थप समय दिइएको थियो अनि मैले लेखेँ– ‘गुरु ! स्वाद कुनै वस्तुमा छैन न त जिब्रोमा छ, छ भने स्वाद विश्वासमा छ, भरोसामा छ, दायित्व बोधमा छ, प्रेममा छ र सद्भावमा छ । मान्छे बाँच्नका लागि अमृत पिउँछ र विष पिउँछ । वास्तवमा स्वाद सन्तुष्टिमा छ । एउटी आमाको दाँत नपलाएको नानीलाई मकै चपाएर खुवाउने वात्सल्यमा छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here