विराटनगर।

नेपाल प्रहरीले मोरङबाट दश लाख रुपैयाँ वरावरको औषधि बरामद गरेको छ ।
मोरङ विराटनगर–५स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित १० लाख भन्दा बढी मूल्य पर्ने औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा रामप्रसाद साहको घरबाट उक्त औषधि बरामद गरेको हो ।
साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र उनको भाइ बिक्रम मण्डलको कोठा खानतलासी गर्दा ७९ ब्राण्डका प्रतिबन्धीत औषधि बरामद भएको प्रहरीको भनाइ छ । बरामद औषधिहरु आइएनजे एमिडोन, आइएनजे पारासिटामोल, आइएनजे डेजरिमलगायतका ७९ ब्राण्डका रहेका छन् । बरामद औषधिको मूल्य १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको हुने प्रहरीको दाबी छ ।
प्रहरीले सोही कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने कलर प्रिन्टर पनि बरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ ।
यसरी बरामद गरिएको औषधि र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाउने प्रहरीले जनाएको छ । यस अघि झापाको दमकबाट पनि प्रहरीले लाखौ मूल्यको प्रतिवन्धित औषधि वरामद गरेको थियो ।
त्यस्तै मेचीनगर नगरपालिका–७ गौरीगाउँबाट २ ग्राम अबैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका–६ मिनीमार्केट बस्ने २४ वर्षीय सुरज खडकालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।































