
बिर्तामोडमा युवा पुस्ताका व्यवसायी मध्ये एजाज अहमद अन्सारी व्यवसायिक क्षेत्रमा उदाउँदो नाम हो । स्मार्ट सटिङ सुटिङ सेन्टर बिर्तामोडका सञ्चालक उनी व्यवसायीको हकहितका साथै समाजसेवामा पनि उत्तिकै क्रियाशील छन् ।
कोही पनि विपन्न, असहाय, वृद्धवृद्धालाई सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त हुने बताउने एजाज इस्लाम धर्म समुदायको भए पनि उनी अन्य धर्मावलम्वीहरुलाई समेत उत्तिकै सम्मान गर्छन्, उनको सद्भाव छ ।
स्मार्ट सटिङ सुटिङ सेन्टरका साथै उनी क्रिएटिभ इन्टरनेशनल एकाडेमी नामक विद्यालयका संस्थापक समेत हुन् । पिता सहीदुल हक अन्सारी र माता मोविना खातुनका पुत्र उनी बिर्तामोड–५ का स्थायी बासिन्दा हुन् । मानिस सफल हुनका लागि सकारात्मक सोच, आफ्नो पेशा व्यवसायमा निरन्तरको लगाव, हुनुपर्छ भन्ने कुरामा जोड दिने उनी हरेक क्षेत्रमा अब युवाको नेतृत्व स्थापित हुनुपर्ने बताउँछन् ।
जीवन निर्वाहका लागि व्यवसाय अनिवार्य भए पनि आफ्नो जीवनको लक्ष्य व्यवसायीको हकहितका साथै सामाजिक र मानवीय सेवा नै भएको उनको भनाइ छ । नेपाल मुस्लिम संघ झापाका उपाध्यक्ष एजाज नेपाल टेलरिङ व्यवसाय संघ झापाका अध्यक्ष छन् । बिर्तामोड उद्योग वाणिज्य संघको कार्य समिति सदस्य रहेका उनी बिर्तामोड जामे मस्जिदको सचिव तथा लायन्स क्लव अफ बिर्तामोडको संयुक्त सचिव रहेका छन् ।
व्यवसायिक तथा सामाजिक र मानवीय क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गरेर नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ, वीरता जेसीज लगायतका संस्थाले उनलाई सम्मान समेत गरेको छ ।





























