काठमाडौँ,

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलत बाटोमा हिडेको आरोप लगाएका छन् । ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूह अब सकिएको आरोप लगाएका हुन ।
उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिधिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिए, सिंग हाल्देको थिए, लामो सिंग भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफै सकिएको पत्तो छैन ।’
उनले अझै पनि दाहाल–नेपाल समूहलाई फर्किन आग्रह गरे । उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, चाहानुहुन्न भने भिरबाट लड्ने गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध हाल्न सकिन्न ।’
उनले सरकार विकासको गतिमा दृढ रहेको बताताए । दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’
सम्बोधनका क्रममा उनले प्रदेश १ सबै कुराले भरिपूर्ण रहेको बताए । उनले संसारको पुरानो ग्रन्थ बेदको रचना भएको प्रदेश, आफ्नै मौलिकता भएको मुन्धुम रचना भएको प्रदेश, आफ्नो सभ्यता, इतिहास र परम्पराको धनी प्रदेश नै यही भएको बताए ।
उनले भने, ‘पाण्डबहरु हस्तिनापुरबाट लखेटिएर यही आएर लुकेर बसेको ठाउँ हो, दुष्टहरुलाई विनास गरेको ठाउँ पनि यही हो । अर्जुनधारा यही प्रदेशमा छ । अर्जुनले बाण हानेर निकालेको धारा यही हो । ’ उनले यस्ता पुरानो इतिहास भएको ठाउँ आज लोकतन्त्र, सुशासनका लागि दृढतापूर्वक अघि बढिरहेको बताए ।
उनले भने, केही मानिसहरु यो पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए । उनले भने, ‘उनीहरुले केपी ओली जनताको सभा हेर्न यता आउनुहोस् भनेर धाक लगाउँदै थिए, म भन्न चाहान्छु तपाईंहरु यता आउनुस् जनसभा हेर्न, आजको सभा कत्रो छ भन्ने ।’
उनले विराटनगरको जनसभालाई ड्रोनले समेत खिच्न नसकेको दाबी गरे । उनले भने, ‘आकाशमा लागिरहेको चन्द्रमाले मात्र यो जनसभा देखेको छ, ड्रोनले पनि देखेको छैन, टेलिभिजनका साथीहरुले क्यामरा घुमाइ–घुमाई खिचेका छन्, म सलाम भन्न चाहान्छु जनताको यो जागरणलाई ।’-खबरहबबाट































