राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम शुरु हुँदै

0
431

इलाम,

यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक सङ्कलन गर्नेछन् । एउटा वडामा बढीमा चार वटासम्म एकाइ स्थापना गरेर तथ्याङक सङ्कलन गर्ने विभागले जनाएको छ । स्थानीय तहको आवश्यकतानुसार एक पालिकामा ३८ देखि ४२ वटासम्म एकाइ राखिने छ ।

विभागले स्थानीय तहसँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गर्ने योजना बनाएको छ । एउटा वडामा बढीमा १५ दिन तथ्याङ्क सङ्कलनको काम हुनेछ । इलाम नगरपालिकामा तथ्याङ्क सङ्कलन सम्पन्न भएपछि पालैपालो अरु स्थानीय तहमा समेत तथ्याङ्क सङ्कलनको काम हुनेछ ।

तीन महिनामा इलाममा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलनको काम पूरा हुने विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताउनुभयो । “तीन महिनामा इलामका सबै पालिकामा गएर तथ्याङ्क सङ्कलनको काम पूरा गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “यो अभियान हो, फेरि यस्तो अभियान सञ्चालन गर्न सम्भव हुँदैन, त्यसैले कोही पनि नछुटुन् भन्ने हाम्रो चाहना हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here