उच्च रक्तचाप र मधुमेहका बिरामीहरुलाई लक्षित गरी अर्जुनधारामा क्लब गठन

0
771

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा कार्डियक डाइबेटीक क्लब उद्घाटन समारोह तथा अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

नसर्ने रोगको कारणले गर्दा हुने मृत्यु दरलाई कम गर्ने अवधारणा अन्र्तगत नसर्ने रोगहरु मध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीहरुलाई लक्षित गरी नगरको सबै वडा र टोलमा गठन हुने उक्त क्लबको विषयमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको शाखाका संयोजक मुकुन्द बस्नेतले बताए ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको कार्यक्रममा सहजकर्ता संयोजक बस्नेतले क्लबको अवधारणा, उद्धेश्य, सञ्चालन प्रक्रिया, क्लबबाट उपलब्ध हुने औषधी, बजेट व्यवस्थापन, अपेक्षित उपलब्धी, चुनौतीहरु बारे जानकारी गराएका थिए ।

सो कार्यक्रम अन्र्तगत क्लब गठन तथा अभिमुखिकरणका लागि दुई लाख ५० हजार रुपैयाँ र औषधी खरिद गर्न १२ लाख ५० हजार रुपैयाँ बजेट स्वीकृत भएको बताइएको छ । सबै वडाको टोल–टोलमा गठन हुने क्लबको लागि हालसम्म अर्जुनधारा–२, ५, ८, ९ र १० नम्बर वडाबाट नामावली प्राप्त भएको संयोजक बस्नेतले बताए । उनी भन्छन्–“क्लब सञ्चालनको लागि आवश्यक कार्यविधि तयार भइसकेको हुँदा एक साताभित्र क्लब गठन गर्नेछौं ।”

त्यसैगरी नगर प्रमुख हरिकुमार रानाले नगरवासीप्रति वडाध्यक्षहरुलाई अझ बढी जिम्मेवार बनाउँदै वडामार्फत् सेवा प्रवाह गर्ने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । त्यस्तै सुरुवाती कार्यक्रम भएको हुँदा हाललाई सीमित बजेट भए पनि आगामी दिनमा बिरामीहरुको तथ्याङ्कलाई हेरी आवश्यक बजेट विनियोजन गर्ने नगर उपप्रमुख कमला खतिवडा आचार्यले बताइन् ।

कार्यक्रममा वडाध्यक्षद्वय पूष्पप्रसाद प्रसाईं र भैरवबहादुर खड्का, स्वास्थ्यकर्मीहरु दुर्गाप्रसाद भट्टराई र रोशन बस्नेत, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, डम्बर घिमिरेलगायतले जिज्ञासा राखेका थिए । नगर प्रमुख रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शाखाकी सहसंयोजक दुर्गा चापागाईंले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here