महाशिवरात्री पर्वलाई लक्षित गरी अर्जुनधारामा विविध कार्यक्रम

0
656

अर्जुनधारा ।

आगामी फागुन २७ गते महाशिवरात्री पर्वलाई लक्षित गरी पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा तीन दिनसम्म विविध कार्यक्रम हुने भएको छ ।

“एक साँझ शिवका माझ” कार्यक्रम अन्र्तगत उक्त कार्यक्रमहरु सञ्चालन हुने धाम व्यवस्थापन समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले बताए ।

कार्यक्रम अन्र्तगत २५ गते विहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन किर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृंगार, आरतीलगायत हुने बताइएको छ ।

साथै सोही दिन सन्ध्याकालिन विशेष सांस्कृतिक कार्यक्रम अन्र्तगत प्रदेश नं.१ स्तरिय एकल ताण्डव नृत्य र एकल शिव भजन गायन प्रतियोगिता आयोजना हुने समितिका अध्यक्ष नविनकुमार गट्टानीले बताए । भगवान शिवलाई प्रसन्न गराउन र पहिलो नृत्यकोरुपमा मानिएको ताण्डव नृत्यको महत्व बारे सबैलाई बुझाउन उक्त प्रतियोगिता प्रदेशमै पहिलोपटक आयोजना गरिएको अध्यक्ष गट्टानीले दावी गरेका छन् ।

एकल ताण्डव नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमश ५१ हजार, ३१ हजार र २१ हजार तथा सान्तवना हुने दुई जनालाई जनही पाँच हजार प्रदान गरिने संयोजक देवीभक्त श्रेष्ठले जानकारी दिए । त्यसैगरी संयोजक श्रेष्ठका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमश ३१ हजार, २१ हजार र ११ हजार तथा सान्तवना हुने दुई जनालाई जनही दुई हजार प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुन प्रतियोगिले ताण्डव नृत्यका लागि एक हजार रुपैयाँ र शिव भजनका लागि पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । दुवै प्रतियोगिताको अडिसन २५ र २६ गते हुने बताइएको छ ।

समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भीमचन्द्र भट्टराईले व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव शिवलाल खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here