पार्थ मण्डल,
भद्रपुर।

पूर्वी नाका काँकरभिट्टाबाट नेपाल भित्रिने तरकारी तथा फलफूल लोड गरिएका गाडीहरूमा लत्ताकपडासहित अन्य सरसामान अवैध रुपमा नेपाल भित्रिने गरेको घटना बाहिरिएको छ ।
भारतबाट त्यसरी भित्रिने गरेका गाडीहरूले मेची भन्सार कार्यालय काँकरभिट्टामा तरकारी तथा फलफूलको मात्र राजश्व तिर्ने र गाडीभित्र रहेका लत्ताकपडा र अन्य सामान बिना भन्सार पास हुने गरेको पाइएको छ ।
काँकरभिट्टासँग जोडिएको भारतको पानीट्यांकी नाकामा भारतीय एसएसबीले विशेष सूचनाको आधारमा आलु र सब्जीका बोराहरू लोड गरिएको एउटा गाडी चेकजाँच गर्दा त्यसभित्र ठूलो परिमाणमा लत्ताकपडा फेला पारेपछि यस्तो घटना बाहिरिएको हो ।
सीमा नाकामा तैनाथ एसएसबीको ४१ बटालियन गौरसिंहबस्तीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएको आलु र सब्जीका बोरा निकालेर हेर्दा त्यसभित्रबाट लत्ताकपडा बरामद भएको थियो । ट्रकमा तल लत्ताकपडाका पोकाहरू राखेरमाथिबाट आलु र सब्जीका बोरा राखिएको थियो ।
एसएसबीले मेची नदीमा बनेको नयाँ पुलबाटै सामानसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । चालकले नियन्त्रणमा लिएको लत्ताकपडाको आवश्यक कागजात देखाउन नसकेपछि करिब भारतीय रुपैयाँ १० लाख मूल्याकंन गरेर ती सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि पानीट्यांकी भन्सार कार्यालय बुझाइसकेको एसएसबीले जानकारी दिए ।
पानीट्यांकी भन्सारलाई समेत तरकारीको राजश्व तिरेर लुकाईछिपाई ट्रक तथा पिकअपमा यसरी नै सरसामान नेपाल भित्र्याउँदै आएको यही घटनाले पुष्टि गरेको छ । भारतमा लोड भएर आउने त्यस्ता ट्रक तथा पिकअप भ्यानलाई मेची भन्सार परिसरभित्र पनि चेकजाँच गरिँदैन । विषादि परीक्षण पश्चात् तरकारी र सब्जीको राजश्व तिरेर भन्सारबाट निस्किने ती गाडीहरू सोझै गन्तव्यतर्फ जाने गरेका छन् ।





























