झापामा ६५ बर्ष माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप

0
703

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

 

झापामा ६५ बर्ष उमेर समूहदेखि माथिका ज्येष्ठ नागरिकलाई आगामी फागुन २३ गतेदेखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाउने तयारी गरिएको छ ।

सरकारले फागुन २३ गतेदेखि कोभिड –१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने भएसंगै स्वास्थ्य कार्यालय झापाले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई कोभिड –१९ विरुद्धको खोप लगाउने तयारी गरेको हो ।

पहिलो चरणको खोप सम्पन्न गरेको स्वास्थ्य कार्यालय झापाले बिर्तामोडमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै उक्त कुराको जानकारी दिएको हो ।

झापाका ६५ बर्ष उमेर समूहदेखि माथिका ५८ हजार ५ सय १३ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

आगामी फागुन २३ गतेदेखि २७ गतेसम्म पहिलो समूहमा भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति, बाह्रदशी, हल्दिबारी र कचनकवलका खोप केन्द्रमार्फत ३४ हजार ४ सय ५६ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।

त्यस्तै आगामी चैत १ देखि ५ गतेसम्म झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल र शिवसताक्षीका खोपकेन्द्रहरुबाट २४ हजार ५७ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले खोप अभियानको औचित्य र आवश्यकताका बारेमा जानकारी गराएका थिए ।

गत माघ १४ देखि २४ गतेसम्म र फागुन ५ देखि ११ गतेसम्म झापाका ९ हजार १ सय ६७ जनालाई कोभिसिल्ड खोप लगाइएको बताउँदै पौडेलले खोप लगाएकाहरुलाई सामान्य बाहेक गम्भिर समस्या नदेखिएको जानकारी दिए ।

खोप लगाउनका लागि ६० वटा खोप केन्द्र, ३ सय ५० परिचालन टिम र १ सय ५० दिन कार्यदिन तय गरिएको उनले बताए ।

यो चरणका लागि लक्षित खोपग्राहीका लागि आवश्यक ४३ हजार डोज खोप झापामा मौज्दात रहेको र अभियानकै क्रममा आवश्यकता अनुसारकै खोप प्राप्त हुने उनले बताए ।

बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here