सरकार आगलागी पीडितको साथमा छ : मूख्यमन्त्री राई

0
943

ताप्लेजुङ, 

प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले ताप्लेजुङको दोभानका आगलागी पीडितको पुनःस्थापनामा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । आगलागी क्षेत्रको आज अवलोकन तथा निरीक्षणपछि राहत वितरण कार्यक्रममा उहाँले तीनवटै तहका सरकार पीडित परिवारको साथमा नै रहेकाले ढुक्क हुन आग्रह गर्नुभयो ।

आगलागीले घरसहितका सम्पत्ति गुमाएका परिवार र डेरा गरी बसोबास गरेका परिवारको पुनःस्थापना तथा दिर्घकालीन व्यवस्थापनका लागि सबै तहका सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगलागी पीडितले राखेका मागलाई सम्बोधन गर्ने आश्वासन दिँदै उहाँले थप आवश्यकता र सहयोगको खाँचो भए जिल्ला प्रशासनका साथै स्थानीय सरकारमार्फत आफ्ना माग समेटेर प्रदेशमा पठाउन आग्रह गर्नुभयो ।

आगलागी पीडित परिवारले दोभान बजारलाई थप व्यवस्थित बनाउन आवश्यक भौतिक संरचनाको विकासका साथै पुनःस्थापना र व्यापार व्यवसाय सञ्चालनका लागि सहुलियत ऋण उपलब्ध गराउन माग गरेका थिए । यस्तै नष्ट भएका सामानमा लाग्ने कर मिनाहा गरिदिन माग गरिएको छ । यता आजै प्रदेश सरकारका तर्फबाट तत्कालका लागि चामल, नुन, तेल, दाललगायत खाद्यान्न सामग्री वितरण गरिएको छ । उक्त सामग्री मूख्यमन्त्री राईले आगलागी पीडितलाई हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै आगलागीबाट घर पूर्ण क्षति भएकाप्रति परिवारलाई नगद रु ५० हजार र डेरा गरी बसेका परिवारलाई नगद रु ३० हजार आर्थिक सहायता प्रदान गरिने मूख्यमन्त्री राईले बताउनुभयो । आगलागि पश्चात प्रदेश सरकारले गरेको निर्णयअनुसार उक्त सहायता तथा राहत रकम चाँडै जिल्ला प्रशासन कार्यालयका साथै स्थानीय सरकारमार्फत उपलब्ध गराउने उहाँको भनाइ थियो ।

यसैबीच मूख्यमन्त्री राईसँगै आउनुभएका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार पीडित परिवारको साथमै भएकाले ढुक्क हुन आग्रह गर्नुभयो । आगलागीको घटनाप्रति दुख व्यक्त गर्दै उहाँले पीडितको पुनःस्थापनालगायत कार्यमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

यता आजै सरकारले उपलब्ध गराएको टेन्ट, कम्बल, खाद्यान्नलगायत सामग्री वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले उक्त सामग्री आगलागी क्षेत्रमा नै पुगेर वितरण गरेको हो । मङ्गलबार भएको आगलागीका कारण ५० घर जलेर नष्ट भएका थिए । आगलागीले रु ४० करोड बढीको क्षति भएको मेरिङ्देन गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here