शान्ति सुब्बा/ झापा ।

झापाको गौरादहमा कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणमा नगरपालिका भित्रका १० हजार ज्येष्ठ नागरिकहरुलाई खोप लगाइने लक्ष्य राखिएको छ ।
चैत १ देखि ५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ६५ वर्ष उमेर समूहदेखि माथिका १० हजार ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन लागिएको गौरादह नगर स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।
खोप लगाउनका लागि गौरादह नगरपालिका भित्र २५ वटा खोप केन्द्र र १० जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिने सह–संयोजक श्रेष्ठले बताए।
यसअघि पहिलो पटक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंय सेविका र एम्बुलेन्स चालक गरी एक सय २० जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । यस्तै, दोस्रो पटक प्रहरी, पत्रकार, सुरक्षाकर्मीहरु एक सय ८६ गरी कूल तीन सय ६ जनाले कोराना भाइरस विरुद्धको खोप लगाइसकेको जनाइएको छ ।
खोप लगाउन आउने व्यक्तिले अनिवार्य उमेर खुल्ने परिचयपत्रहरू नागरिकताको प्रमाण पत्र, मतदाता परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र वा केही नभए वडा कार्यालयवाट ६५ वर्ष माथिको उमेर हो भनि दिएको सिफारीस पत्र ल्याउनुपर्ने जनाइएको छ ।
खोप लगाउने समय भने बिहान १० बजेदेखि ३ बजेसम्म निर्धारण गरिएको बताइएको छ ।































