मैले देखेको पिता

0
1213


छोरो सानो हुँदा धेरै दुःखकष्ट सहेर घामपानी केही नभनी आमा र छोराको सुख र खुशीको लागि सकी÷नसकी अथाह संघर्ष ग¥यो । श्रीमती र छोराको खुशीको खोजीमा परिवार, आमा–बुवा, समाज आफन्त सबैसँग विद्रोह ग¥यो ।
जुनी–जुनी सातौं जुनीको बाचा–कसम खुवाएर विवाह गरेर ल्याएको आफ्नो धर्मपत्नीसँगको सातौं बाचा–कसम पूरा गर्दागर्दै उसले नौ महिना गर्भमा राखेर जन्माएकी आमाको त्याग पनि बिर्सियो । काँधमा बोकेर बुवाले संसार देखाएको त्यो समर्पण पनि भुल्यो अनि हातमा समातेर उसका परिवार जनले अघि बढ्न सिकाएको त्यो पलको माया र विश्वास पनि बिर्सियो । समग्रमा उसले पूरा संसार नै बिर्सियो या भनौं श्रीमती र छोरा बाहेक उसले खुशी दिनुपर्ने अरु पनि छन् भन्ने नै बिर्सियो ।

बल्ल–बल्ल उसको छोरो ठूलो हुँदै थियो । संसार जित्ने सपना देखाउँदै उसले छोरालाई पल–पल हरपल आफ्नो सारा खुशीहरु बेची–बेची राम्रो स्कूलमा पढाउँदै थियो । नर्सरीदेखि औंला समाएर डो¥याउँदै हिँडायो आफ्नो खाजाको पैसा बचाइ–बचाइ छोराको लागि खेलौना र चकलेटको बजार लगाइदियो । आफू पुरानो लुगामा रमाएर पनि छोरो र श्रीमतीलाई जे भन्यो त्यही पु¥याइदियो । उसलाई त कुनै चाडपर्व उत्सव वा केही अवसरमा एउटा उपहार कहीँबाट मिल्दैन थियो । तर, उसले भने दशैं, तिहार, तीज, जन्मदिन, एनिभर्सरी, होली अथवा कुनै अवसरमा उपहार दिन कहिले छुटाउँदैन थियो ।

हर घडी हर समस्यामा श्रीमती र छोराको अगाडि चट्टान बनेर उभिन्थ्यो ! दुःखको आँधी, अभावको बादल, परिवार र समाजको तिखो व्यंग्यबाण आफैंले छेकी दिन्थ्यो ! कति गर्नु विचरा ले ! छोराको स्याहार–सुसारदेखि अन्नपात जुटाउनको कोसँग हात पसारेन कि, चोट र पीडाले छट्पटिँदा एकान्तमा पो रोएन कि, परिवारलाई खुशी दिन दिनरात हाडछाला खियाएन कि भनौं जति गर्नुपर्ने थियो त्यो भन्दा धेरै नै ग¥यो । श्रीमती र छोराको लागि जिउँदाजिउँदै लाग्थ्यो ऊ आफैंमा पलपल मरिरहेको थियो ।

समय सधैँ एकैनासले कहाँ चल्थ्यो र ! नियतिले एउटैको मात्र परीक्षा कहाँ लिन्छ र ! ऊ त जीवनको हर परीक्षामा पास हुँदै थियो । तर, सायद अब परीक्षा दिने पालो उसको श्रीमती र अबोध छोराको थियो । एकदिन काम गरेर फर्किदै गर्दा ऊ बाटैमा बेहोस भएर लडिरहेको भेटियो । के भयो कसैलाई थाहा भएन, तर उसको दुइवटै हात अब चलिरहेको थिएन । कोशिस त डाक्टरले धेरै गरे, उपचार जारी थियो, तर राम्ररी ठिक हुनलाई धेरै समय लाग्ने थियो ।

हस्पिटलको उपचारपछि अब उसलाई घर लगियो । शुरु–शुरुमा त स्थिति सामान्य थियो । उसले बचत गरेको पैसा थियो, त्यही सकियो । उसको अफिसले काम गरेको पैसा दियो त्यो सकियो । अलि–अलि जग्गा बेच्दै घर खर्च चल्यो त्यो पनि सकियो । परिवार आफन्त समाज सबैले सहयोग गरे त्यो पनि सकियो । सकिँदासकिँदै पूरा चार बर्षको समय पनि सकियो । तर, उसको अवस्था आशालाग्दो भएको थिएन ।

बाहिर त ठिकै देखिन्थ्यो, तर घरभित्र उसको श्रीमतीको ऊ प्रतिको व्यवहार राम्रो पनि थिएन । पहिला मेरो माया ! मेरो हजुर ! भन्ने श्रीमती आजभोलि कुरैपिच्छे उसको अपमान गर्थिन् । गरिबी र अभावको बारेमा झगडा नभएको क्षण थिएन । आमा–बुवासँग अंश माग्नु भन्ने दबाब बोली–बोलीमा आउथ्यो । उसको खानापान, औषधि, सुत्ने–बस्ने कुनै कुरामा उसको चासो दिने त्यहाँ कोही थिएन । पैसा र सुख हँुदा मात्र न हो सबैको हाइ हाइ ! आज उसको यो दुर्दशामा को आफ्नो ? को पराई ?

समय आफ्नै गति मा चलिरहेको थियोे । उसले राजकुमारी जस्तो गरेर माया गरेको श्रीमती त अब उसको मुटुको टुक्रा त्यो छोरो लिएर माइत गएर बस्न थालिसकेकी थिइन् । तर, जुन परिवार बुवा–आमालाई उसले श्रीमतीको कुरा सुनेर पल–पल रुवाएको थियो त्यही आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनी सबैले दिनरात एक गरेर उसको सेवा गर्दै थिए । नेपाल–भारत तथा अन्य देश जहाँ हुन्छ त्यही लगेर उपचार गर्दै थिए ! आफ्नो छोरा त भयो भयो, छोराको छोरा या नातिको पनि सम्पूर्ण खर्च बुवा–आमाले नै धान्दै थिये । गाह्रो थियो ती दिनहरु, तर पनि सहदै थिए । सुखद् भविष्यको आशामा समय कटाउँदै थिए ।

एक बर्षपछि उसको घरमा अदालतले पठाएको एउटा पत्र आयो । बैंकले ऋणको पत्र पठाएको होला भन्ने सोचे सबैले, तर खोलेर हेर्दा त्यस्तो थिएन । त्यो सम्बन्धबिच्छेदको लागि उसकी श्रीमतीले पठाएको पत्र थियो । जसमा श्रीमतीको हस्ताक्षर गरिएको थियो अनि मात्र उसको हस्ताक्षरको माग थियो । कसैले केही बुझेन । अरुले के बुझ्नु र शुरुदेखि नै उनीहरुको सम्बन्धको बारेमा बुझ्ने र बोल्ने अधिकार कसैलाई थिएन । जे बुझ्यो उसैले बुझ्यो होला ।
पत्रमा मेरो श्रीमान् अपाङ्ग, अशक्त गरीब, गैर जिम्मेवार भन्ने जस्ता के–के दोष लगाएको थियो । त्यसलाई सही बनाउन झुटो प्रमाण पनि धेरै थियो । सबैले सबै कुरा बोले तर उसले केही बोलेन । भन्नेले त धेरै कुरा भने तर उसले केही भनेन् । जब छोराको भागबन्डाको कुरा निस्कियो उसले आफूले छोरा राख्न पाउ भनी धेरै बिन्ती ग¥यो । सबैसँथ हारगुहार ग¥यो । भएको जति सम्पत्ति श्रीमतीको नाममा गर्न पनि तयार भयो । सबै गर्छु भन्यो, आफूसँग भएको सबै कुरा दिन्छु भन्यो ।

अन्त्यमा सबैजना अदालतको फैसला पर्खिरहेका थिए । उसले छोरोको अभिभावकत्व पाउने कुरामा सबै ढुक्क थिए । उसले छोराको असल हेरचाह गर्न सक्ने कुरा प्रमाणित भइसकेको थियो त्यसैले सबै खुशी थिए । सारा समाज, आफन्त परिवार सबैले देखेका थिए उसले छोराको माया कति गरेको छ भनेर । आमा त नाम मात्रै थिइ । छोरो त बाबा यानिकी उसले नै हुर्काएको थियो आज छोरो १० वर्षको हुइञ्जेलसम्म कुनै जिम्मेवारीबाट ऊ टाढा भएकै थिएन त्यसैले त उसलाई विश्वास थियो कि छोरो उसको साथ हुनेछ ।

अदालतको फैसला पनि आयो । उसले आफ्नो आधा सम्पत्ति श्रीमतीको नाममा गर्नुपर्ने भयो । आजको मितिदेखि दुईजनाबीचको नाता सकिएको घोषणा गरियो अनि अन्त्यमा भनियो– ‘छोरो नाबालक भएको हुनाले र सन्तानमाथि आमाको पहिलो हक लाग्ने भएकोले छोराको पालनपोषण र साथमा राख्ने अधिकार उसको बाबालाई होइन आमालाई दिइएको छ । अन्यथा केही भएमा कानून अनुसार सजाय हुनेछ ।’

आमाले आमा भएकै नाताले जे गर्दा पनि सही भयो, तर बाबाले बुवाले कति ग¥यो सबै मूल्यविहीन देखियो । ऊ केही बोलेन । केही भनेन् । आँखाबाट आँशुको धारा खसिरहेका थिए । ऊ एक्लै त थिएन । यो दुःखको पलमा उसलाई साथ दिन उसको आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनी, आफन्त, परिवार, समाज सबै थिए । जसलाई कुनै बेला त्यही श्रीमती र सन्तानको खुशीको लागि त्यागेको थियो ।

आखिर मा हुनु के थियो जसको लागि उसले संसार त्याग्यो, उनीहरुले उसलाई छोडेर गए । उसले त्यागेको परिवार र आमा बुवाले उसलाई हात समातेर डो¥याउँदै लगे । अनि कानूनको कुरा चाहिँ के हो ? के हुनु र ? नेपालको कानून, दैब जानून् । धेरै खाएपछि मह पनि तितो हुन्छ भन्छन् नि ! महिलालाई पनि यति धेरै अधिकार दिएपछि समाज र संस्कारको यसरी नै हुन्छ दाहसंस्कार । अनि हर कोहीले बन्नुपर्नेछ त्याग र समर्पणको उदाहरणीय पिता ! यही हो मैले देखेको महान पिता !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here