शान्तालाई निजी विद्यालय चालक संघ झापाको सहयोग

0
916

बिर्तामोड ।

गत कात्तिक ५ गते दुईतले घरको छतबाट खसेर मेरुदण्डको हड्डी भाँचिएर जीवनमरणको दोसाँधमा रहेकी शान्ता अधिकारीलाई निजी विद्यालय चालक संघ जिल्ला कमिटी बिर्तामोड झापाले आर्थिक सहयोग गरेको छ ।

निजी विद्यालय चालक संघ जिल्ला कमिटी बिर्तामोड झापाले झापाका २३ वटा निजी विद्यालयका चालक, सहचालक, शिक्षक, कर्मचारी र विद्यालय परिवारबाट संकलन गरेको ७० हजार सात सय ३५ रुपैयाँ शान्ताका श्रीमान् नरप्रसाद अधिकारीलाई हस्तान्तरण गरेको हो ।

कञ्चनजंघा वोर्डिङ स्कूल बिर्तामोडमा सवारी चालकको रुपमा कार्यरत् तथा संघका झापाका सदस्य समेत रहेका नरप्रसादलाई निजी विद्यालय चालक संघ जिल्ला कमिटी बिर्तामोड झापाका अध्यक्ष पदम तामाङ , सचिव इन्द्र योङया, सहसचिव विरेन्द्र सुवेदी , कोषाध्यक्ष सूर्य योङयाले उक्त रकम हस्तान्तरण गरेका थिए ।

चारआली पिपलडाँगीस्थित दुईतले घरको छतमा घरायसी काम गर्नेक्रममा खसेर मेरुदण्डको हड्डी भाँचिएर प्वाल परेको अवस्थामा भेटिएकी अधिकारीलाई स्थानीयवासीले सामाजिक सञ्जालमार्फत रकम संकलन गरेर विर्तासिटी हस्पिटलमा उपचार गराएका थिए । त्यहाँ उपचार गर्न आर्थिक अभाव भएपछि शान्तालाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको बताइएको छ ।

शान्ताको उपचारका लागि हालसम्म पाँच–सात लाख रुपैयाँ खर्च भएको र त्यो खर्च आफ्नो जायजेथा र साथीभाईको सहयोग जुटाएर गरेको शान्ताका श्रीमान् नरप्रसादले बताउँदै अहिले उपचारमा खर्चको अभाव भएपछि सवैसंग सहयोगको अपिल गरिएको जनाए ।

शान्ताको उपचारमा सहयोग गर्न चाहनेले एक्सेल डेभलपमेन्ट बैंक बिर्तामोडमा नरप्रसादको नाममा रहेको खाता नं. ००१०१०००१४९०००००१ मा आर्थिक सहयोग गरिदिन वा मोवाइल नं. ९८१५०३७५९२ मा सम्पर्क गर्न उनले सवैसंग आग्रह गरेका छन् ।

उनले भने –शान्ताको जीवन तपाईंहरुको हातमा छ । तपाईंहरुले गरेको सानो सहयोगले उनी वाँच्छिन् । त्यस्तै आफ्ना सहकर्मीको श्रीमती उपचार खर्चको अभावमा जीवनमरणको दोसाँधमा रहेको थाह पाएर आर्थिक सहयोग गरेको निजी विद्यालय चालक संघ जिल्ला कमिटी बिर्तामोड झापाका अध्यक्ष पदम तामाङले बताए । उनले शान्ताको जीवन बचाइदिन सवैसंग आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here