विकृत राजनीति

0
2259

एक बर्ष यतादेखि देश कोरोनाको महामारीले आकुलब्याकुल भएर नागरिकहरु भौतिक र मानसिकरुपले थला परेको अवस्थामा देशमा राजनीतिक विकृतिले भने जरो गाड्दै गएको छ । हरेक दल र हरेक नेताका आ–आफ्ना सुबिधा र दुबिधाका भाषणले नेपाली राजनीतिमा तीव्ररुपमा बढ्दै गएको विकृतिले देश र जनताबीचमा आतंक र तनावपूर्णको वातावरण सृजना गर्न कुनै कसुर छोडेको छैन । जनताका गुनासो, समस्या र आवश्यकतालाई पैताला मुनी राखेर उच्च स्वरले बीच सडकमा देश विकास र नागरिकले पाउने सेवा सुविधाका बरेमा भाषण दिँदै हिँड्ने परम्परा कायम नै छ । वर्तमान अवस्थामा यो परम्पराले निकै बढुवा पाएको छ, तर जनताले आफ्नो हितको सेवासुविधा भाषणमा बाहेक अन्त कहिँ न सुन्न पाए न देख्न पाए ।

राजनीतिक संस्कृतीमा मौलाएको विकृतिले अब डुङ्गा डुबाएरै छोड्ने छाँटकाट देखाइसकेको छ । अलग सोच र सिद्धान्त बोकेका दलहरु विपरीत ध्रुबतिर लागेको कुरा बुझ्न सकिन्छ । तर, एउटै सिद्धान्त र विचारधार बोकेर हिँड्ने दलभित्रका नेताहरुले विपरीत दिशातिर लाग्नु भनेको आफ्नो स्वार्थ परिपूर्ति गर्न चुनेको दिशामात्र हो भनेर भन्न सोचिरहनुपर्ने अवस्था छैन । संसद विघटन भएर अदालतको आदेश बमोजिम पुनः स्थापना भएदेखि विभिन्न दलहरुको आ–आफ्नो दाउ छ । हुन त नेपालमा राजनीतिक अस्थिरताको इतिहास लामो छ । अस्थिर राजनीतिको यो श्रृंखला निरन्तर छ । आन्तरिक राजनीतिक शक्तिहरु बीच उत्पन्न भइरहने शक्ति संघर्षले अस्थिरता उत्पन्न गर्ने पक्षलाई मलजल पुगिरहेको छ ।

निरन्तर अस्थिरताले आक्रान्त नेपालमा स्थायित्व नआउनुको कारण आन्तरिक राजनीतिक शक्तिबीचको स्वार्थ द्वन्द्वको विकृति प्रमुख हो । यस्तै राजनीति द्वन्द्व र विकृतिका कारण नेपालले आवश्यक राजनीतिक स्थायित्व आर्थिक र संवैधानिक स्थायित्व प्राप्त गर्न नसकेको यथार्थ हो । कहिले आफ्नै कच्चा खेलबाट बाहिरिने, कहिले देश बाहिरको षड्यन्त्रको सिकार बन्ने यो नै नेपाली राजनीतिको वर्तमान अवस्था छ । दुई डुङ्गाबीचको तरुल नेपाल जो माथि यो निश्चित छ कि नेपाली राजनीतिको मैदानमा विदेशी खेलाडीहरुको दवाव र प्रभाव भने निकै बेजोड छ । जसले नेपाली राजनीतिमा स्थिरता कायम रहन नदिएको महशुस हुन्छ ।

नेपालको भूपरवेष्टित अवस्था, भौगोलिक अवस्था र संवेदनशील भूराजनीतिक अवस्थाले नेपालको सामरिक महत्व अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको माझमा प्रख्यात छ । छिमेकी राष्ट्रको शक्ति बढिरहेको बेला हामी भने अस्तित्वको लडाइँमा छौं, आफ्नो दुनो सोझ्याउनमा नै व्यस्त छौं । सबैभन्दा ठूलो समस्या त के छ भने अस्तित्वको लडाइँमा हामी कोरा सिद्धान्तमा बाँडिएका छौं, त्यो नै राष्ट्र र राष्ट्रियताका लागि सबैभन्दा ठूलो खतरा हो । हाम्रो आँखामा स्वार्थको पट्टि लागेको छ । कानले ‘म’ बाहेक अरु केही सुन्दैन र सुन्न चाहँदैन । जबसम्म नेताहरुले राजनीतिक संस्कारलाई भुलेर जनताका दुःख–पीडालाई भाषणको एक किस्सामात्र बनाउँदछन् अनि गफमा मात्र राष्ट्रवादका कुरालाई सिमित राख्दछन् तबसम्म विकास हुन असम्भव छ ।

आफ्नो हित, सत्ता र सुविधाका लागि जे गर्न पनि पछि नपर्ने नेताहरु र नेताहरुको मिथ्या भाषणले नेपाली जनताको कान पाकिसकेको छ । ठूला कुरा र फूर्ति लगाउने अनि कामलाई भने सधैँ एकादेशको कथा बनाउने र जनता छल्ने प्रवृत्ति नेपाली राजनीतिले लिँदै आएको बाटो हो ।

जनतालाई भ्रममा रख्ने र उनीहरुको भावनामा ठेस पु¥याएर पाउनुपर्ने सुविधा, हक, अधिकार, न्याय जस्ता कुरामा कान बन्द गर्ने दल र नेताहरुले आफ्नो सत्ता र सुविधा टिकाउन नेपाली जनतामाथि हरेक पटक मिथ्या भाषणले पासो थापेको हामीले देखिरहेका र भोगीरहेका छौं । राजनीतिक शासन व्यवस्थाहरु शाह वंश, राणाकाल, पञ्चायत प्रजातन्त्र, लोकतन्त्र कहीँ, कहिले कुशल राजनीतिको नेताहरुले आभाष गराउन सकेनन् । फलस्वरूप नेपाली राजनीति सधैँ पछाडि परेको छ र राजनीतिक विकृति फष्टाउँदो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here