पार्थ मण्डल,
भद्रपुर ।

धान सुपर जोन घोषित दक्षिणी झापाको कचनकवलमा इँटा उद्योगीले खेतीयोग्य जमिन खरिद गरी जथाभाबी माटो खन्न थालेपछि त्यहाँका किसान चिन्तित बनेका छन् ।
झापामै पहिलो स्थानीय तहको रुपमा सरकारले कचनकवललाई धान सुपर जोन घोषित गरेको थियो । सरकारले धान सुपर जोनका लागि गाउँपालिकामा करोडौँ रुपैयाँ लगानी गरिसकेको छ । तर, पछिल्लो समयमा गाउँपालिकामा धमाधम इँटा उद्योग खोल्ने र उद्योगलाई चाहिने माटो त्यही खेतीयोग्य जमिन खन्दै लैजान थालेपछि किसान चिन्तित भएका हुन् ।
उद्योगीले खेतीयोग्य जमिन बजार भाउभन्दा बढी मूल्यमा खरिद गरी जथाभाबी माटो खन्न थालेपछि कचनकवल गाउँपालिका –६ का स्थानीय किसान त्यसको विरोधमा उत्रिएका छन् । खेतीयोग्य जमिनको बीचमा चण्डी इँटा उद्योग सञ्चालनमा रहेको छ ।
सो इँटा उद्योगले कचनकवल –६ निवासी बबलु मियाँको सात कठ्ठा, उनकीे फुपू आश्मा सावुद्दिनको एक विगाह, रमा राजवंशीको ८ कठ्ठा जमिन महिना दिनभित्रै खरिद गरेको छ । त्यहाँको जमिनको मूल्य प्रति विगाह १२ देखि १४ लाख पर्ने उद्योगीले २० लाख रुपैयाँ दिएर खरिद गरेको किसानहरू बताउँछन् । उद्योगीले खरिद गरेको जमिनमा धान राम्रो उत्पादन हुन्छ । त्यस आसपासका अन्य किसानले पनि वर्षौँदेखि धान खेती गर्दै आइरहेका छन् ।
उद्योगीले खरिद गरेको जमिनमा जेसिभी लगाएर माटो खन्दै भट्टामा लैजान थालेपछि विरोधमा उत्रिनु परेको भन्दै स्थानीय अमृतलाल राजवंशीले आक्रोश पोखे । यहाँका किसानहरू एउटै नातागोता पर्छन् । उनले भने– ‘किसानले बजार भन्दा बढी मूल्य पाउँछन् भने अरूलाई बेच्ने हो, हामीलाई त कम्ती दाममा पनि दिँदैनन् ।’ किसानको जमिन हत्याउने कमिसन खोरहरू अहिले उद्योगीको पक्षमा लागीसकेको उनले आरोप लगाए ।
उद्योगीले खरिद गरेको जमिनको दक्षिणपट्टि भर्दिया राजवंशीले अहिले एक बिगाह तीन कठ्ठा जमिनमा धान खेती गरिरहेका छन् । उद्योगीले उनकै खेत नजिकै माटो खन्न थालेपछि उनी चिन्तित बनेका छन् । ‘माटो खन्ने कार्य तुरुन्त बन्द गरियोस् कि मलाई गोली हानेर मारियोस्– उनले भने ।’ अहिले चैते धान लगाएको बताउँदै उनले भने– ‘धान खेतको पानी नजिकै खनिएको खाल्टोमा जान्छ, अनि कसरी खेती गर्नु ? कसरी पाल्नु परिवार ? कसरी तिर्नु ऋण ?’ सम्बन्धित निकायले किसानको मर्म बुझिदिनु प¥यो– उनले भने ।’
त्यस्तै सृजना कृषि फर्मका सञ्चालक मनोज भेटवालले ५ वर्षका लागि जमिन लिजमा लिएर खेती गर्दै आइरहेका छन् । उद्योगीले खन्दै गरेको जमिनको उत्तरपट्टि उनले चार विगाह जमिनमा धान लगाएका छन् । खेती गरेको जमिनको दुबैपट्टि खोला छ, अहिले फेरि माटो खनेर जमिनलाई खोला बनाउन लागेपछि मेरो खेतीयोग्य जमिन टापु बन्न लागेको छ– भेटवालले चिन्ता व्यक्त गरे ।
‘खेतीयोग्य जमिन पोखरी बन्दा भोलि यहाँ खेतीपाती नहुँदा कसरी बैङ्कको ऋण तिर्नु– उनले भने– ‘अहिले दुई फिट माटो खन्दा त खेतको पानी खाल्डोमा जान थाल्यो, ५ फिट खन्दा के हुन्छ ?’ उद्योगका मान्छे बिहान माटो खन्न आउँदैनन्– स्थानीय पावनी राजवंशीले भनिन्– ‘बेलुका ४ बजेदेखि अबेर रातिसम्म माटो खनेर टिपरमा हालेर लान्छ, त्यसलाई रोक्न बेलुका हामी आउन सक्दैनौँ, हामीलाई पनि ज्यानको माया छ ।’ प्रहरीलाई यस बारेमा जानकारी गराइसकेको बताउँदै उनले भनिन्– ‘प्रहरी पनि उद्योगीसँग मिलेको छ, प्रहरीले उनीहरूलाई नै संरक्षण गरिरहेको छ ।’
यता नौलो भविष्य साना किसान सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी बजगाईँका अनुसार यहाँ खेती लगाउने अधिकांश किसान समूहका सदस्य हुन् । परिवारका सदस्यले दुःख पाउनु हुँदैन भनेर संस्थाले अनुदानमा यहाँका किसानलाई सिँचाई सुविधा उपलब्ध गराएको उनले बताइन् ।
बिजुलीको पोल, सोलार जडान गरेपछि यहाँका किसानले खेतीपाती गरेर जीविकोपार्जन गर्दै आइरहेको बताउँदै उनले भनिन्– ‘अहिले खेतीयोग्य जमिन उद्योगीले खरिद गरेर खन्न थालेपछि किसान चिन्तित बनेका छन्, उनीहरूको अनुहारमा खुसी छैन ।’ खेतीयोग्य जमिनको माटो खन्ने कार्य रोकिएन भने अबको केही वर्षमा यहाँ उत्पादन नै नहुने उनको भनाइ छ ।
कचनकवल गाउँपालिका –६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीका अनुसार धान सुपर जोन घोषित गाउँपालिकामा इँटा उद्योग खोल्न पहिला नै रोक लगाउनु पथ्र्योे । त्यसको परिणाम आज किसानले भोग्नु परेको बताउँदै वडा अध्यक्ष कार्कीले भने– ‘खेतीयोग्य जमिन कति खन्नु पर्ने हो त्यसको मापदण्ड हुनुपर्छ, तर गाउँपालिकामा त्यस्तो देखिएन ।’ माछापालन गर्ने किसानका लागि गाउँपालिकाले गत वर्ष ९० लाख र चालू आर्थिक वर्षमा ३० लाख बजेट छुट्याएको उनले जानकारी दिए ।
माछापोखरी खन्दा गाउँपालिकाले बजेट दिने, तर पोखरी खनेको मापदण्ड कसैले नहेर्ने गरेको बताउँदै उनले भने– ‘पोखरी खन्दा निस्किएको माटो यहाँका भट्टाले किनेर लैजान्छ, माटोको व्यापार रोक्न गाउँपालिकाले ठोस कानूनी नीति ल्याउनुपर्छ ।’ त्यसैगरी चण्डी इँटा उद्योगका विष्णु घिमिरेले अरूले खेतीयोग्य जमिन खन्दा केही नहुने आफूले खन्दा विरोध गर्नु जायज नभएको बताए ।
‘अहिले खनिएको जमिनमा माछा पालन गर्नुका साथै होमस्टे बनाउने मेरो लक्ष्य हो –उनले भने– ‘किसानलाई विस्थापित बनाउने मेरो योजना होइन ।’
गाउँपालिकामा निवेदन
उद्योगीले जथाभाबी खेतीयोग्य जमिन खन्न थालेपछि स्थानीय किसानहरूले न्यायका लागि कचनकवल गाउँपालिकालाई निवेदन दिएका छन् । किसान कार्तिक राजवंशी, भर्दिया राजवंशी, यादवप्रसाद दाहाल, अमृतलाल राजवंशीले चैत ४ गते गाउँपालिकाको न्यायिक समितिलाई न्याय दिलाइ पाउँ भनी निवेदन दिएका हुन् ।
निवेदनमा भनिएको छ– गाउँपालिका –६ बस्ने हामी किसानहरूको जमिनको साँध सीमानामा चण्डी इँटा उद्योगले मनपरी ढङ्गले खेतको माटो खनी मापदण्ड विपरीत लैजाने र मलिलो जमिनलाई रुखो बनाउने कार्य गरेकोले उद्योगलाई कारबाही गरियोस् । यता गाउँपालिकामा निवेदन परेकोले दुवै पक्षलाई बोलाएर छलफल गरी निकास दिने गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले बताएकी छिन् ।
खोला खनेको किसानको आरोप
किसानहरूको जमिन नजिकै रहेको उतारचोक खोला पनि चण्डी इँटा उद्योगले जथाभाबी खनेर माटो लगेको स्थानीय आरोप लगाएका छन् । सरकारको जमिनमा उद्योगीले जेसिभी चलाउँदा पनि जनप्रतिनिधिहरु कसैले केही नबोलेको उनीहरू बताउँछन् । खोला नजिकै उद्योगीको जमिन छ । उद्योगीले आफ्नो जमिन खन्ने क्रममा खोला खनेको स्थानीय कर्णसिंह राजवंशीले बताए ।
उद्योगीका मान्छेले खोला खन्दै गरेको थाहा पाएपछि हामीले गएर रोक्न खोज्यौँ –उनले भने– ‘उद्योगीका मान्छेले हाम्रो कुरा टेरेनन्, खोला खनेर सबै माटो लगे, अब बाढी आउँदा खेतमा पस्छ ।’ खोलाको माटो सकिएपछि खेतीयोग्य जमिनलाई उद्योगीले निशाना बनाएको उनको भनाइ छ ।
केही दिनअघि बाहाडाँगी नजिकै उद्योगीले आफ्नो जमिन खन्न गएपछि त्यहाँ स्थानीयवासीले घरेलु हातहतियार लिएर प्रतिकार गर्दै तिनीहरूलाई खेदाएको उनले बताए ।































