मरीच, केराउ, छोकडा र सुपारीको प्रतिवन्ध फुकुवा

0
1213

झापा ।

सरकारले एक वर्षपछि मरीच, केराउ, छोकडा र सुपारीजस्ता वस्तुको आयातमा लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न गरिएको बन्दाबन्दीको अवस्थामा सरकारले गत वर्षको चैत १६ गतेदेखि धेरै आयात हुने वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, नेपाल सरकारले चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा ८० हजार मेट्रिक टन केराउ आयात गर्न दिने गरी धेरै आयात हुने बस्तुमा लगाइएको प्रतिवन्ध फुकुवा गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै चालू आवमा त्यस बराबरको केराउ आयात गर्न दिने बताएको हो । अब चालू आवमा उक्त परिमाण ननाघ्ने गरी केराउ आयात गर्न दिइने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

तर, सरकारले १ वर्षपछि त्यस्ता वस्तुमा लगाएको पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो । गत फागुन २५ गते सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको थियो । त्यसपछि मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशन गर्दै त्यस्ता वस्तुको आयातमा परिमाण तोकेको हो । सरकारले चालू आवमा सुपारी २५ हजार मेटन, छोकडा ५ हजार मेटन र नधुल्याएको मरीच १५ हजार मेटनसम्म आयात गर्न दिने व्यवस्था गरेको छ ।

सरकारले ५० हजार डलरभन्दा बढी मूल्यको सवारीसाधनमा लगाएको बन्देज पनि हटाएको छ । यस्तै, २०७६ चैत १६ गते अगाडि नै चलान (सिपिङ) भइसकेका तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वीकृति नलिएका छोकडाको हकमा सम्बद्ध भन्सार कार्यालयले गुणस्तर प्रमाणीकरण गरेपछि मात्र आयात गर्न दिइने बताइएको छ ।

विशेषगरी कोरोना संकटमा विदेशिने मुद्रामा कमी ल्याउन यस्तो निर्णय गरिएको थियो । अहिले परिस्थिति सामान्य हुँदै गएपछि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्दै गएको छ । सरकारले यी वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा यही वस्तुकै आयात तथा व्यापार गर्दै आएका उद्योगी तथा व्यापारी भने प्रभावित भएका थिए । विशेषगरी यसबाट केराउको कारोबार गर्ने उद्योग बढी प्रभावित भएका थिए । सरकारले गरेको यस निर्णयलाई व्यापारीहरूले स्वागत गरेका छन् ।

२ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात

चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ । भान्छामा अत्यधिक उपभोग हुने प्याज ७१ हजार ३ सय ४० टन नेपाल भित्रिएको हो ।

यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ । आलु मात्रै यो अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सामान्य कृषि उपज समेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here