नाकामा कडाई,होलीमा भिड ‘नगर्नु’

0
958

झापा ।

नेपाल–भारतको सीमा नाकामा कडाइसँगै नजिकिँदै आएको फागू पूर्णिमा अर्थात् होली पर्व मनाउँदा भीडभाड नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेका छन् ।

छिमेकी मुलुक भारतका केही राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा मङ्गलवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न बुँदामा निर्णय गर्दै यस्तो आग्रह गरेको हो ।

बैठकले आउँदो चैत १६ गते सोमबार स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्ने र मास्क नलगाउनेलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ । त्यसैगरी संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरूलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रबाट प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्न सबै स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने, संक्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रशारण गर्न र स्वास्थ्य परीक्षण गराई संक्रमणको अवस्था पहिचान गर्न अनुरोध गरिएको छ ।

मास्क, सेनिटाइजर, सामाजिक दूरी लगायत स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न गराउन सबै स्थानीय तहहरूलाई अनुरोध गर्ने, कोरोना प्रकोप छिमेकी राष्ट्र भारतमा थप सक्रिय भई सङ्क्रमितको दर बढ्दै गएको र खुला सीमाको कारण यस जिल्लामा समेत त्यसको प्रभाव पर्न सक्ने भएको हुँदा सीमा नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित बनाउन सुरक्षा निकायहरूले अनिवार्य अभिलेख राख्ने व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ ।

नेपाल प्रवेश गर्ने यात्रुहरूलाई स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउने र संक्रमणको अवस्थामा समेत बिचार गरी रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा बेलुकी ९ बजेसम्म मात्र भीडभाड नहुने व्यवस्था मिलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी त्यस्ता व्यवसाय सञ्चालन गर्ने बुँदामा निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

गृह मन्त्रालयले प्रशासन कार्यालय झापामा सोमबार पठाएको पत्रमा कोरोना संक्रमण बढ्न नदिन आम नागरिकहरूलाई सजग र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्ने तथा थप सावधानी अपनाउन निर्देशन आएकोले सोही बमोजिम बैठक बसी यस्तो निर्णय गरिएको उनले बताए ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नयाँ श्रीनाथ गण झापाका प्रमुख सेनानी अमर जङ्ग थापा, सशस्त्र प्रहरी बल, २ नम्बर गण हेडक्वार्टर झापाका एसपी रमेशकुमार पाण्डे, जिल्ला अनुसन्धान कार्यालय झापाका उप अनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईँ, प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापा, जिल्ला समन्वय समिति झापाका अधिकृत रुद्रप्रसाद न्यौपाने, मेची अस्पतालका मेसु डा. पीताम्बर ठाकुर, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अधिकृत हरिशरण खड्काको उपस्थिति रहेको थियो ।

पछिल्लो समयमा भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएको छ । ती आठ राज्यमा दैनिक ४० हजारभन्दा बढी कोरोनाका संक्रमित थपिँदै छन् । ती राज्यमा कोरोनाको दोस्रो लहर देखिएपछि सीमा नाकामा कडाइसँगै रोजगारीमा भारत गएका नेपालीहरू पनि अहिले धमाधम स्वदेश फर्किन थालिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here