साइँलाको सातो गयो होला…

0
652

विमल दहाल,
इलाम।

साइँलो पहिला फटट बोल्थ्यो, बाँधेर राखे भन्छ, लागोनै लागेको हो कि काम्दै, हात खुट्टा कमाउँदै मात्र केही बोल्छ– यो भनाइ हो ४१ वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)की ८५ बर्षीया आमा धनमायाको ।

मंगलबार दिउँसो १ बजे माई–१० लुम्वाकस्थित घरको आँगनमा दीपक केही गुनगुनाउँदै एक्लै बसेका थिए । नमस्कार दाजु भन्दै हामी पुग्दा नमस्कार भनी उनले जवाफ फर्काए । शिथिल शरीर, ओठ कमाउँदै बसेका दीपकलाई के हुन्छ भनेर सोध्दा थाह छैन भन्ने संक्षिप्त उत्तर दिए । केही बेरमा भाइ धर्मानन्द आइपुगे र दाजुले एक्लै रहँदा गीत गाउने गरेको सुनाए । दाजु दुर्गाले एक्लै भएको बेला गीत गुनगुनाउँदै ‘छोरा आउँछ भनेर आमा ढुक्कले बसेको, छोरा चाहिँ इण्डियाको जेलमा दुःखले बसेको’ भन्दै गुनगुनाएको बताए ।

परिबारका सदस्यले उनलाई परिबारमा घुलमिल गराउन बारम्बार बोलाइरहेका छन् । भतिज गोपाल तिम्सिना भन्छन्– मैले केही समय गाउँ–घुमाएर ल्याएँ । ठूलो बुवाले कतैबाट क्षतिपूर्ति वा सहयोग आयो भने उपचार गरिदिनु भन्नुहुन्छ । मानसिक र शारीरिक रुपमा पीडित देखिएका दीपकलाई परिबारका सदस्यहरु देखाएर को–को हो भनी सोध्दा, चिन्दिनँ भने पनि बिस्तारै भतिजालाई देखाउँदै छोरो, भाइ भन्दै देखाउने प्रयास गर्दछन् ।

आमा धनमायाको हात सिँधुरे गाईले हानेर चँुडाएको याद छ । आमाको हातमा गाईले चोट लगाउँदा जडीबुटी खत्रीले गरिदिएको समेत दीपकले सम्झना सुनाए । धेरै कुराको याद नआए पनि आमाको हात चुँडाएको समयको चाहिँ उनलाई सम्झना रहेछ । आमा धनमायाको हात २०३६ सालमा एकतप्पामा गाईले हानेर चुँडाएको थियो । अहिले दीपकलाई पखाला लागेको छ । कोलकातामा जेलरले खाँदै गरेको औषधि दिन्छु भनेका थिए तर आउने बेलामा छुटेछ– भतिज गोपाल बताउँछन् ।

आमा धनमायाको श्रवण क्षमता कमजोर छ । छोरा दीपक धेरै बोल्न सक्दैनन् । ४१ बर्षमा भेट भए पनि आमाछोराले दोहोरो कुराकानी गर्न सकेका छैनन् । परिबारमा जन्मिएका ५ छोरा र ३ दिदीबहिनीमध्ये बुवासहित ३ दाजुभाइको यसअघि नै देहान्त भइसक्यो । अहिले कान्छो भाइ धर्मानन्दले आमाको स्याहारसुसार गर्दैछन् । दिदीहरुको बिवाह भइसक्यो । एउटी बहिनी छिन् तर उनी २०५० सालदेखि मानसिक रोगी भई जंगलकोे बास मात्र गर्दछिन्– आमा धनमाया सुनाइन् । ५५ बर्षीया पवीमायाले यत्रो बर्ष कहाँ गएको थिइस् भन्दै एक प्याकेट बिस्कुट ल्याएर दिइन् र घरबाट बाहिर गइन् । उनी मानसिक रोगले ग्रस्त छिन् । तिम्सिना परिबारमा अहिले झनै समस्या बढ्दै गएको छ ।

परिबारको १९ बर्षीय भतिजा गोपालले अहिले सबै परिबारको व्यवस्थापन गर्दै आएका छन् । उनको आफ्नै पीडा छ । एक बर्षमा आमाको माया गुमाएका गोपाल अहिले आर्थिक अभाव र परिवारको दयनीय अबस्थाले पढाइ छोडेर परिबार पालनपोषणमा लागेका छन् ।

दीपक प्रायः सबैको सम्झनाबाट हट्दै गएको भए पनि आमा धनमाया भने दशधारा दूध खुवाएर हुर्काएको छोरालाई सम्झदै आँशु बगाउने गरेको दीपकका भाइ धर्मानन्दले सुनाए । दाजु घरमा आएकोमा आमा सारै खुशी हुनुहुन्छ तर गरी खाने मान्छेलाई किन बाँधेछन्, घर आउँदा पनि सिदा नदिई पठाएछन्– आमा धनमाया सुनाउँछिन् ।

२०३७ सालमा मंगलबारे बजारबाट बेपत्ता भएका १९ बर्षीय दुर्गाप्रसाद माई नगरपालिकामा आमा बसेको घरमा आइपुग्दा बिगतमा चिन्ने र देख्ने परिबारका सदस्य बाहेक कमै थिए । ‘जान चाहिँं ऊ नजिकैको मंगलबारे बजार गएको थियो, तोरी बेच्नलाई । त्यो दिन ऊ दिदीको घरमा बास बसेको थियो । त्यसपछि घर जाने भनेर हिँडेको थियो तर कहिल्यै फर्किएन, सबै आफन्त र चिनेजानेका सबैलाई खबर गरेका हौं ।

४१ वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका तिम्सिना काँकरभिट्टा हुँदै घर भित्रिएपछि घरपरिवार र गाउँघरमा खुशियाली छाएको छ । बुवा चम्पाखर र माइलो दाइ केदारको यसअघि नै देहान्त भइसकेको छ । आमाको ४१ बर्षपछि भएको साइँलो छोराको आगमनले खुशीको सीमा छैन । घरमा धनमाया, उनको छोरो कान्छो र छोरी दीपकलाई माया साटासाट गर्दैछन् ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्ण र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो । २०३७ सालमा दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जीलिङ पुगेका थिए । दार्जीलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आएन ।

दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका राधेश्याम दास नामक कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए । दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पु¥याएपछि मिडियामा समाचार छापिन थालेका हुन् । उनलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको छ ।

दार्जीलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए, त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर, उनमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितकातर्फबाट एकपल्ट पनि मुद्दा फलोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पु¥याएको पाइएको छ ।

हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here