अर्जुनधारा ।

झापाको अर्जुनधारा नगर पशुपंक्षी, कछुवा तथा मत्स्य विकास शाखाद्वारा आयोजित तीन दिने बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
नगरमा रहेका बाख्रापालक कृषकहरुलाई व्यावसायिक ज्ञान र सीप प्रदान गरी उद्यमी बनाउने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।
सहजकर्ताहरु शाखा प्रमुख राई, भेटनेरी अधिकृत देवी लिम्बू र पशु सेवा प्राविद्यिक बेनुप बस्नेतले सहजिकरण गरेको तालिममा ३० जना कृषकको सहभागिता रहेको थियो । तालिममा बाख्रापालनको व्यवस्था, बाख्राको जात, खोर व्यवस्थापन, नश्ल सुधार, रोग, प्रजनन, औषधी, बीमालगायतको विषयमा सहजिकरण गरिएको सहजकर्ता बस्नेतले जानकारी दिए ।
नगर आर्थिक समितिकी संयोजक दिलमाया दासको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य हरिमाया दाहाल, अर्जुनधारा बाख्रा पालन समूहकी अध्यक्ष देवकला प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा सहभागी कृषकद्वय डेगनाथ आचार्य र निर्मला दुलालले तालिमको अनुभव बारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।






























