झापामा एकपछि अर्काे व्यक्ति हत्याका घटना

0
809

झापा।

झापामा एकपछि अर्काे हत्याका घटना बढ्दै गएका छन् । बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको हत्या भएको तीन दिनमा बिर्तामोडमै अर्का एक व्यक्ति पनि मृत फेला परेका छन् ।

शंकास्पद अवस्थामा तीन दिनअघि आइतबार विहान गाउँले होटलका सञ्चालक निरौला मेचीनगर–१२स्थित प्रगति सामुदायिक वनको चारआली जंगलमा मृत भेटिएका थिए ।

निरौलाका हत्यारालाई प्रहरीले फेला पार्न नसक्दै बिर्तामोडमा अर्को हत्या भएको छ । हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा–६ कालीझोडा निवासी ५० वर्षीय गौतम परियारको शव बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा बुधबार बिहान फेला परेको हो । परियार मासु पसलमा काम गर्ने गरेका थिए । प्रायः घर बाहिरै बस्ने गरेका उनी चार दिनदेखि परिवारको सम्पर्कमा थिएनन् ।

यसैबीच हत्याका घटना बढेको भन्दै बिर्तामोड नगरपालिकाले चिन्ता व्यक्त गरेको छ । एकपछि अर्को हत्याका घटना भएपछि बिर्तामोड नगरपालिकाले बिर्तामोड नगरको शान्ति सुरक्षालाई थप व्यवस्थित बनाई नगरबासीहरु सुरक्षित भएको महसुस हुने गरीको आवश्यक प्रबन्ध मिलाउन प्रहरी प्रशासनसँग माग गरेको छ ।

दिनहुँ व्यक्ति हत्या भइरहँदा बिर्तामोडबासीहरु अत्यन्तै दुखित र चिन्तित बनेको भन्दै नगर प्रमुख धु्रवकुमार शिवाकोटीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

बिर्तामोडमा मृत अवस्थामा फेला परेका परियारलाई अन्यत्र हत्या गरेर त्यहाँ फ्यालेको हुनसक्ने आशंका गरिएको छ । शवबाट गन्ध आइरहेकोले केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् । शव फेला परेको खबर आफूहरुलाई बिहान ८.३० बजे आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

उनले शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको र परिवारका सदस्यहरुसँग सोधपुछ भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here