उमानाथ भण्डारी,
कमल ।

बिर्तामोड नगरपालिकाका कृषक व्यवसायिक आलुखेती गरेर लाभान्वित भएका छन् । नगरपालिकाले यो वर्षदेखि व्यावसायिक आलुखेती कार्यक्रम सञ्चालन गरेसँगै कृषकहरु आलुखेती गरेर लाभान्वित भएका हुन् । ८६ विगाह जमिनमा आलुखेती गरेर न्युनतम् आठ सय २५ टनभन्दा बढी आलु उत्पादन भएको नगरपालिकाले जनाएको छ ।
आलुखेतीमा एक सय ७० जना कृषक सहभागी थिए । आलु उत्पादनमा नगरपालिकाले सिँचाइका लागि मोटर, प्रविधिक सेवाका साथै सुरक्षित विषादी निःशुल्क उपलब्ध गराएको थियो भने मल र श्रम कृषकले व्यहोरेका थिए ।
कृषकले बीऊ आलु खरिदमा वर्षेनि लाखौं रुपैया खर्चिँदै आइरहेका थिए भने आगामी वर्ष बीऊ आलु खरिदमा रकम नगरको रकम नगरमै रोक्नका लागि यसै वर्षदेखि नगरपालिकाको सहयोगमा एक सय टनभन्दा बढी बीऊका लागि आलु भण्डारण तयारी भइरहेको बिर्तामोड नगरपालिकाका कृषि विकास शाखाका प्रमुख राजेन्द्र कडरियाले बताए ।
नगरपालिकाले आलु उत्पादनमा सहयोग गरेपछि नगरपालिकाका कृषक उत्साहपूर्वक आलु उत्पादनमा जुटेको उनले बताए । नगरपालिकाको वडा नम्वर ९ स्थित किरण राजवंशीले दाजुभाइ मिलेर अढाई विगाहमा आलुखेती गरेको बताए । उनले बीऊ खरिद र रोपाईमा एक लाख ५० हजार रुपैयाँ खर्च भएको र उक्त जमिनबाट तीन सय ५० मन आलु फल्ने अनुमान गरेको जानकारी दिए । आलु उत्पादनका लागि सबै खर्च कटाएर दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने राजवंशीले बताए । आलुखेतीका लागि नगरपालिकाले प्राविधिक सेवा, सिँचाईका लागि मोटर, स्प्रे टंकी र सुरक्षित विषादी निःशुल्क उपलब्ध गराएकोले आलुखेती गर्न ठूलो सहयोग पुगेको राजवंशीले बताए ।
विषादी प्रयोगका कारण विभिन्न रोग लाग्ने भएकाले पछिल्लो समय कृषकले उत्पादन गर्ने विभिन्न बालीमा रसायनिक विषादीलाई न्यूनीकरण गर्न र विषादीका कारण हुने वातावरणीय प्रदुषणलाई कम गर्न नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बताए ।
बर्षैैंदेखि विषादी प्रयोगका कारण कृषकको खेतको माटोको अवस्था अत्यन्तै खराब भएकोले कृषकको खेतको माटो उपचारका लागि कृषि चुन वितरण गरेको शिवाकोटीले बताए । त्यस्तै पशुपालक कृषकका लागि सहज होस् भनेर दूध बिक्रीका लागि चिस्यान केन्द्रको स्थापना गरेको उनले जानकारी दिए । बिर्तामोडस्थित कृषिथोक बजार प्रदेश नम्वर १ कै ठूलो कृषि बजार भएकोले त्यो बजारसँगको सहकार्यमा कृषकले उत्पादन गरेका कृषि उत्पादन बिक्री वितरणका लागि सहज वातावरण बनाइ दिएको मेयर शिवाकोटी बताउँछन् ।
पछिल्लो समय विर्तामोड नगरपालिकाले नगरभित्र रहेका कृषकका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण कृषक कृषि कर्मप्रति उत्साहित भएर लागेका छन् । तर, अझै पनि कृषकले उत्पादन गरेका कृषि उपजले उचित मूल्य भने पाउन सकेको छैन ।






























