
शिक्षित समाज समृद्धिको आधार हो । समाजको विकास गर्नु भनेको सडक, खानेपानी, विद्युत् लगायतका पूर्वाधार बनाउनुलाई नै विकास सम्झने चिन्तनलाई परिमार्जन गरी सभ्य समाज पहिलो आवश्यकता हो भन्ने कुरालाई मनन् गरिनुपर्छ । यसका लागि समाजलाई कसरी चेतनशील र शिक्षित बनाउने भन्ने विषयमा सोचिनु आवश्यक छ । अबको पहिलो दायित्व भनेको नै शिक्षित समाज बनाउने हो । विकासको पहिलो खुड्किलो शिक्षा हो र यसलाई साधनाका रुपमा लिइनुपर्छ । जसलाई कठिन साधनाले मात्रै प्राप्त गर्न सकिन्छ । असल शिक्षा हासिल गर्न पाउनु हाम्रो मौलिक अधिकार हो । शिक्षा समाज विकासको आधार–स्तम्भ र धरोहरका रुपमा रहेको हुन्छ । त्यसैले शिक्षा मानवीय व्यवहारमुखी बनाइनुपर्छ । यसलाई समाजको बृहत्तर हित, परिवर्तन, अग्रगमन र विकासको मेरुदण्डको रुपमा सोचिनु र प्रयोग गरिनुपर्छ । शिक्षा यस्तो मार्ग हो जसले असल र राम्रा कुराहरुलाई बाहिर निकाल्न मद्दत गर्छ ।
शिक्षा यस्तो मार्ग हो, जसले समाजका तथ्यलाई विकासको प्रयोगमा अघि ल्याउन सहयोग पुर्याउँछ । शिक्षा आदर्श र कर्मशील मानव जीवन तयार गर्ने महत्वपूर्ण साधन हो । यसलाई समाजको प्रगति र देशको आर्थिक समृद्धिको माध्यमका रुपमा लिन सकियो भने आर्थिक विकास गर्न समेत सहज वातावरण तय गर्न सकिन्छ । हामीले प्रदान गरिएको र ग्रहण गरिएको शिक्षाले समाजको विकास र देशको समृद्धिमा टेवा दिन सक्नुपर्छ । गुणस्तरीय शिक्षा व्यक्तिलाई आन्तरिक र बाहिरी शक्ति प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण तत्व वन्छ । शिक्षाले व्यक्ति र समाजमा परिवर्तन ल्याउन सक्नुपर्छ । आदर्श समाजको मूल आधार बन्न सक्नुपर्छ । नैतिकता सिक्न सकियो भने मात्र समुन्नत समाज निर्माण गर्न सकिन्छ । शिक्षा नै समाजको समृद्धिको आधार बन्न सक्छ ।
गुणस्तरीय र प्रयोगमुखी शिक्षाले समाजको स्तरलाई बढाउँछ, विकसित र समुन्नत समाजको निर्माणमा अहम् भूमिका खेल्छ । उच्चतम् गुणस्तरीय शिक्षाले समाजको सम्पन्नताको दरलाई बढाउँछ । समाजलाई परिवर्तनशील, समृद्ध र विकसित बनाउन शिक्षामा दृश्यहरुको मञ्चन मात्र गरिनुहुन्न । आदर्शको नारामा मात्र शिक्षालाई सीमित गरिनु हुन्न । समाजले शिक्षाको उद्देश्य, योजना र लगनबाट विकासका लागि गन्तव्यको परिणाम समेत पर्खिरहेको हुन्छ । व्यक्ति र समाजको परिवर्तन र विकासका लागि शिक्षामा तीलहराहरु कोरिएको हुनुपर्दछ । अनौठा वास्तविकता के हो भने हाम्रो शिक्षा समाजले चाहेको त्यो उन्नतिशील अवसरदिन सकिरहेको छैन । प्रगतिशील र वैज्ञानिक शिक्षाबाट प्राप्त गरिएको ज्ञान प्रयोगमा आउनुभन्दा पहिले नै तुहिने अवस्थामा आइपुग्दछ । असल र योग्य नागरिकको अभावमा परिवार, समाज र राष्ट्रको विकास एवम् प्रगति हुन सक्दैन भन्ने वास्तविकता पनि हामीबाट छुटेको छैन । शिक्षाबाट व्यक्तिको व्यक्तित्व, समाज र राष्ट्रको आवश्यकतालाई पूर्ण गर्न सक्ने ज्ञान प्रदान गराउनुपर्छ ।
राम्रो र कुशल जीवनका लागि असल शिक्षा आवश्यक पर्दछ, चेतना अभिवृद्धि गरी राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनलाई समेत महत्वका साथ बुझ्न सहज बनाउँछ । व्यक्तिको व्यक्तित्व विकास र मानसिक मानक प्रदान गर्ने शिक्षा आजको आवश्यकता हो । आधुनिक र व्यवहारिक शिक्षाले व्यक्तिलाई शारीरिक, मानसिक र सामाजिक रुपमा परिपक्व बनाउनुका साथै कुसल जीवन जिउनुपर्छ भन्ने कुरामा पनि चेतना अभिवृद्धि गर्छ । असल शिक्षा त्यो शास्वत शक्ति हो, जसले खराब शक्तिबाट टाढा राख्न, आत्मनिर्भर बनाउन र समाजमा नयाँ अवसरहरु सिर्जना गर्न सम्भावनाका अवसरहरु प्रदान गर्दछ ।
असल र गुणस्तरीय शिक्षा लिनु समाज रविद्यार्थीहरुका लागि कठीन हुन्छ । विश्वमा सहजै प्राप्त गर्न सकिने कुनै वस्तु छैन, शिक्षा पनि त्यस्तै होस् । कडा परिश्रम बिना सामान्य तयारीले असल ज्ञान प्राप्त गर्न निकै गाह्रो हुन्छ । असल आचारण र ज्ञान हासिल गर्न डटेर साधनामा लाग्नु पर्दछ । सामान्य ज्ञान प्राप्तिले समाजलाई बदल्न असम्भव हुन्छ । राम्रो शिक्षावा ज्ञान प्राप्त गर्न विषयलाई बुझ्ने प्रयत्न गरिनुपर्छ र त्यो वातावरण समाजमा निर्माण गरिनुपर्छ । समाजको रुपान्तरण, परिवर्तन र विकासमा उल्लेखनीय योगदान पु¥याउन समाजमा गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्छ । अभिरूची, लगाव र झुकावलाई निरन्तरता दिइनुपर्दछ, साथमा चिन्तन र मनन् हुन पनि उत्तिकै आवश्यक छ । असल शिक्षा लिन आफ्नो मनलाई हरदम सकारात्मक बनाइराख्नु पर्दछ । समाधान खोज्दै नियमित प्रश्न सोध्ने बानीको विकास गरिरहनुपर्छ ।
भनिन्छ, मानवमा भएका सम्पूर्णताको पहिचान शिक्षा हो । दैनिक व्यावहारिक जीवनमा सफल हुनका लागि विद्यालयको शिक्षा आवश्यकता पर्दछ । यसका अतिरिक्त शिक्षाका ग्रहणका माध्यमका अनौपचारिकता विकल्पको खोजी पनि गरिनुपर्छ । शिक्षाको उद्देश्यलाई बृहत्तर बनाइनुपर्छ । यसले एक खराब व्यक्तिलाई पनि सक्षम र क्षमतावान् बनाउन सक्ने तागत राख्दछ ।
शिक्षालाई प्रतिस्पर्धाको आधार बनाइनुपर्छ । त्यसैले आफ्नो क्षमतालाई बुझेर दक्ष ज्ञान हासिल गर्न लागीपर्नु पर्छ । जुन आफ्नो जीवन र समाजको विकासका लागि प्रयोगमा आउन सकोस् । आज शिक्षा र सिकाइमा मञ्चन भएको अक्षम्य अन्यायले भोलि शिक्षा लिने वर्ग र समाजले गन्तव्यको पर्खाइ कुरिनै मात्रै रहने छन् । समाजको विकासमा प्रत्यक्ष असर परिरहने छ । अनि, त्यो बेला यो घटनाको जिम्मा कसले लिने ? राम्रो शिक्षाको प्रकृति सधैँ रचनात्मक हुन्छ । यसले भविष्य निर्माणमा अग्रसर गराउँछ । यस्तो शिक्षाको फल समाजले पनि प्राप्त गर्न सक्छ ।
सामाजिक मुद्दाका बारेमा राम्रो आदत राख्न जागरूक र बढवा दिन्छ । उचित शिक्षा बिना एक व्यक्ति आफ्नो जीवनका सबै शैक्षिक लाभबाट वञ्चित रहनु समाज विकासका लागि घाटा नै हुन्छ । आजको शिक्षा समाजमा शान्ति बढाउन, गरिबीलाई हटाउन, जातीय विभेदलाई कम गर्न, सुशासन ल्याउन, विकृति र विसंगतिलाई हटाउन र आफ्ना अधिकारका बारेमा जागरूक गराउन मद्दत गर्ने किसिमको हुन आवश्यक छ । शिक्षा परिणाम प्राप्त गर्नुलाई मात्रै नभई सबै मानव जातिलाई सक्षम बनाउन, कुनै चीजमा सक्षमता हासिल गर्न र मानवको कल्याणका लागि हो । शिक्षा व्यक्ति र समाजको बृहत्तर हित, सुख र खुसी जीवनका लागि अनिवार्य जस्तै छ ।
शिक्षालाई परिवर्तनको चाबी बनाउन सक्नुपर्छ । जसले कठिन ताला पनि छोटो समयमै सहजै खोल्न सक्छ । तर, शिक्षा बिना त्यो ताला खोल्न कठोर परिश्रममा नै समय धेरै खर्च लाग्दछ । यसकारण पनि असल शिक्षा वा ज्ञान व्यक्ति र समाजको विकासका लागि आवश्यक छ । असल शिक्षा र ज्ञानको माध्यमबाट एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि असल पृष्ठभूमि तयार गर्नु हो भन्ने सत्यालाई बिर्सनु हँुदैन । हाम्रो शिक्षा व्यक्तिको व्यक्तित्व विकासका साथै समाजको उन्नति, प्रगति, परिवर्तन र विकाससँग जोडिएको हुनुपर्दछ । शिक्षामा यस्तो परिवर्तन हुन नसक्नु व्यक्ति र समाजलाई अभिशाप हुन पुग्दछ । राज्यले विकासको जुन सपना बोकेको छ, त्यो शिक्षाको सुधारले मात्र सम्भव छ । समाजमा बहुपयोगी परिवर्तनको वाहक भनेको नै शिक्षित समाज हो । यसको लागि राज्य समयमै सजग हुनुपर्छ ।

























