विदेशीको पीसीआर परीक्षण नगर्न निर्देशन

0
761

झापा ।

तेस्रो मुलुक जाने विदेशीहरुको पीसीआर परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो । मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरुको परीक्षण नगराउन आइतबार सूचना जारी गरेको छ ।

यसरी परीक्षण गर्न आएकाहरुबाट संक्रमणको जोखिम बढेको मन्त्रालयको ठहर छ । त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियम अनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ । पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरुले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरु नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन् ।

त्यसरी आएका मानिसहरुले नेपालमा पनि पीसीआर परीक्षण गराउँदै आएका थिए । अब भने मन्त्रालयले त्यसरी नेपाललाई ट्रान्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको परीक्षण नगराउन सम्बन्धित सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो । साथै मन्त्रालयले नेपालबाट विदेश जानेहरुका लागि परीक्षण गर्न सरकारी अस्पताल र छ वटा निजी अस्पताल तोकेको छ ।

यसैबीच मन्त्रालयले आइतबार नै अर्को एक सूचनामार्फत सञ्चारकर्मीहरुलाई कोरोना भाइरसविरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने जो कोहीको समाचारलाई निरुत्साहित गर्न अनुरोध गरेको छ । मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रशारण नगरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ’– सार्वजनिक सूचनामा भनिएको छ ।

साथै, मन्त्रालयले समाजका अगुवाहरुको क्रियाकलापहरुलाई सबैले अनुशरण गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिन, सार्वजनिक समारोहहरु सार्वजनिकस्थलमा कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नभइदिन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here