झापा, झापाको विर्तामोड नगरपालिकाभित्र सञ्चालनमा रहेका हस्पिटलहरुले २०देखि ५० प्रतिशत वेड कोरोना उपचारको लागि छुट्टयाउने भएका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला नगरपालिकाले हस्पिटल सञ्चालक तथा प्रतिनिधिहरुसँग शुक्रवार गरेको छलफलमा वेड क्षमताको २० देखि ५० प्रतिशतसम्म कोरोना उपचारको लागि छुट्याउने निर्णय भएको हो ।

छलफलमा सबै हस्पिटलले कोरोनाको अनिवार्य उपचार गर्नुपर्ने, उपचाररत् कोभिडका विरामीको विवरण दैनिक नगरपालिकाको स्वास्थ्य शाखामा उपलव्ध गराउनुपर्ने, नगरभरिका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको पीसीआर टेष्ट तथा कोभिडविरुद्वको खोपको व्यवस्था नगरपालिकाले गर्ने, उपचाररत् कोभिड संक्रमितको मृत्यु भएमा सम्बन्धित पालिकालाई खबर गर्नुपर्ने र सो पालिकाले नै शवको व्यवस्थापन गर्नुपर्ने, हस्पिटलमा कोभिड संक्रमितको मृत्युको संख्या बढ्दै गएमा आवश्यक शवगृहका लागि जिल्ला प्रशासन कार्यालयसंग अनुरोध गर्ने लगायतका निर्णय गरिएको स्वास्थ्य शाखाका कोभिड संयोजक ओम खड्काले जानकारी दिए ।

बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा सम्पन्न छलफलमा उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, स्वास्थ्य शाखा प्रमुख तुलसी पोख्रेल, सञ्जीवनी अस्पतालका सञ्चालक डा. सीपी यादव, मेची आँखा अस्पतालका डा. सुरजकुमार रौनियार, मनमोहन अस्पतालका वुद्विराम भट्टराई, अञ्जलि हस्पिटलका डा.गौरी शंकर झा, कनकाई हस्पिटलका खेमराज बानियाँ, कञ्चनजंघा अस्पतालका डा. प्रमोदकुमार साह, वीएण्डसी हस्पिटलका प्रमिश गिरी लगायतको उपस्थिति रहेको थियो ।































