झापा , झापा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । त्यसमा पाँच पुरुष र दुई महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनका अनुसार दमक नगरपालिकाका दुई, मेचीनगर नगरपालिकाका दुई, कनकाई नगरपालिकाका एक, बिर्तामोड नगरपालिकाका एक र भद्रपुर नगरपालिकाका एक जनाको मृत्यु भएको छ ।
दमक वडा नम्बर १ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको छ। दमकको कोभिड हस्पिटलबाट बिएण्डसी हस्पिटल बिर्तामोडतर्फ ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु हो । उनलाई वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै दमक वडा नम्बर २ का ७९ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो लहरमा दमकमा मात्र चार जनाको कोरोना सङ्क्रमणबाट भइसकेको छ । त्यस्तै बिर्तामोडमा कोरोना सङ्क्रमणबाट वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ५ बस्ने ७३ बर्षीया वृद्धा रहेकी छन् । उनको घरमै मृत्यु भएको हो । उनलाई हिजो उपचारका लागि अस्पताल लगिएको र अस्पतालले उपचार सम्भव नभएको भन्दै फर्काइदिएको थियो ।
त्यस्तै कनकाई वडा नम्बर ३ बस्ने ४८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उनको बुधवार बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । उनी भारतको आसामबाट फर्किएपछि संक्रमण पुष्टि भएको थियो । त्यसैगरी मेचीनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मेचीनगर ६ स्थित काँकडभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।
क्यान्सर पीडित ती महिलाको केहिदिन अघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो । पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन् । मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना लागेर घरैमा बसेकी उनको बुधवार ६ बजे मृत्यु भएको हो । मेचीनगर ६ बस्ने ४८ वर्षीय पुरुषको मेची अस्पतालमा उपचारको क्रममा बुधवार बेलुका मृत्यु भएको वडा अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार मेची अस्पताल लगिएको र मङ्गलवार स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको दाहसंस्कार नेपाली सेनाको सहयोगमा बिहीबार मेची नदीमा गरिने जनाइएको छ ।
त्यस्तै भद्रपुर नगरपालिका ३ स्थित भैसाबाडी बस्ने ७० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मङ्गलवार संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल लगिएको र अस्पतालले फर्काइदिएको थियो । त्यसपछि उनलाई घर ल्याएर राखियो र घरमै उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । भद्रपुरमा दोस्रो लहर सुरु भएयता दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४२ पुगेको छ ।
यता बुधवार जिल्लामा थप १७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ७९ महिला र ९९ पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा ३२, बिर्तामोड ४१, गौरादह ६, मेचीनगर १०, भद्रपुर ३४, कनकाई १४, हल्दिवारी २, अर्जुनधारा ९, बुद्धशान्ती ३, कचनकवल ३, कमल ९, शिवसताक्षी ३, झापा ५ र अन्य ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८९८ पुगेको छ । एक साताको अवधिमा जिल्ला पाँच गुणा बढीले संक्रमित थपिएको जनाइएको छ ।






























