निजी तथा सरकारी अस्पतालको अनुगमन

0
473

झापा , झापामा कोरोना संक्रमित बिरामीको चाप ह्वातै बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति झापाले निजी तथा सरकारी अस्पतालहरूको अनुगमन थालेको छ ।

सर्वसाधारण जनताले स्वास्थ्य मापदण्ड र निषेधाज्ञाको पालना नगर्दा भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको झापा जिल्लामा दोस्रो लहरको संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

जिल्लामा पछिल्लो एक सातामा पाँच गुणा बढीले संक्रमति थपिएसँगै विपद् व्यवस्थापन समितिले संक्रमित बिरामीको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन निजी तथा सरकारी अस्पतालहरूको आकस्मिक अनुगमन थालेको हो । यही अनुपातमा सङ्क्रमितको संख्या थपिँदै गएमा जिल्लामा सञ्चालित अस्पतालहरूको पूर्वाधार हेर्दा थेग्न नसकिने अवस्था आउने दिन टाढा नरहेको अनुगमनको क्रममा समितिले निष्कर्ष समेत निकालेको छ ।

कोरोना संक्रमण समुदायको तल्लो तहसम्मै फैलिसकेकोले जिल्लामा संक्रमित बिरामीको उपचारको अवस्था कस्तो छ भन्ने उद्देश्य राखेर निजी तथा सरकारी अस्पतालहरूको अनुगमन सुरु गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

समितिले पहिलो दिन निजी स्तरबाट सञ्चालित बिएण्डसी, मनमोहन, बिर्ता सिटी र सरकारी स्तरबाट सञ्चालित मेची अस्पतालको अनुगमन गरेको हो । अस्पतालमा भएको चिकित्सक, नर्स, अक्सिजन, आइसियु, भेन्टिलेटर, उपचार शुल्क लगायत स्वास्थ्य पूर्वाधारको बारे सञ्चालक तथा चिकित्सकहरूसँग जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको भनाई छ । जिल्लाका अस्पतालहरूमा अक्सिजनको अभाव हुन नदिन हामी जुटिरहेको उनले बताए ।

जिल्लामा अधिकांश उद्योगहरूले अक्सिजन सिलिन्डरको प्रयोग गर्दै आइरहेको बताउँदै प्रजिअ तिमिल्सिनाले भने, ‘उद्योगहरूले त्यत्तिकै राखिएका सिलिन्डरलाई प्रयोगमा ल्याउने आग्रह गरेका छौ, साथै जिल्लाका दुई वटा अक्सिजन डिलरलाई पनि अक्सिजन अभाव हुन नदिन निर्देशन दिइसकेका छौँ ।’ अन्य स्वास्थ्य उपकरण तथा चिकित्सक, नर्स दरबन्दी पूर्तिका लागि तत्काल सङ्घीय र प्रदेश सरकारलाई आग्रह गरिने उनको भनाई छ ।

पछिल्लो नयाँ भेरियेन्टको कोरोना संक्रमण खास गरी बालबालिका र युवा वर्गमा बढी देखिएको छ । जिल्लामा पनि ५० जनाको हाराहारीमा बालबालिकामा मात्रै संक्रमण देखिएको छ । ६० वर्ष भन्दा माथिका पनि सङ्ख्या त्यस्तै छ । संक्रमण देखिएका उनीहरूको उपचारका लागि तत्कालै अस्पताल पुराउनुपर्ने अवस्था आइसकेकोले जिल्लामा सञ्चालित अस्पतालहरूको अवस्थाबारे जानकारी लिइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

हाल गरिएको परीक्षणको तथ्याङ्क हेर्दा समुदायका ७० देखि ८० प्रतिशत भन्दा बढीमा संक्रमण देखिएकोले भोलि जटिल अवस्था आउन सक्ने भएकाले त्यसलाई सम्बोधन गर्न अस्पतालहरूको अनुगमन गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।

जिल्लाका केही अस्पतालहरूमा सबै कुरा पर्याप्त नभएको बताउँदै सभापति ढकालले भने, ‘कोभिडका बिरामीका लागि अस्पतालमा चाहिने आवश्यक पूर्वाधारहरू पर्याप्त नभएकोले सरकार, जनस्तर, अन्य क्षेत्रबाट सहयोग आवश्यक छ, अनि मात्र सङ्क्रमितले सहज र सरल उपचार पाउन सक्छ ।’

यता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले महामारीका बिच विभिन्न बहाना देखाएर जागिरै छोड्न थालेकाले जनशक्तिको अभाव हुने समस्या देखा परिसकेको अस्पतालका सञ्चालक र चिकित्सकले अनुगमन समितिलाई बताएका छन् ।

उनीहरूले झापामा अक्सिजन पूर्ति गर्दै आएका कम्पनीहरूका कारण समेत काम गर्न कठिनाइ उत्पन्न हुन थालिसकेको भन्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिना समक्ष गुनासो समेत पोखेका थिए ।

मेची अस्पतालमा थप जनशक्तिको माग

जिल्ला स्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को बिहीबार बसेको बैठकले मेची अञ्चल अस्पतालमा थप जनशक्तिका लागि प्रदेश सरकारसँग माग गर्नुका साथै कोभिड उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

बैठकले मेची अञ्चल अस्पतालमा २५ बेडको उच्च–निर्भरता इकाई सञ्चालन भइरहेकोमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै अस्पतालमा कोरोना नियन्त्रणमा लागि अलग्गै उच्च–निर्भरता इकाई तथा कोरोना उपचार केन्द्र सञ्चालन गर्नु पर्ने भएकाले अस्पतालमा जनशक्ति अभाव भएकोले थप जनशक्ति ९मेडिकल अधिकृत ८ जना, स्टाफ नर्स १०, कार्यालय सहयोगी ७० को लागि प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयसँग माग गर्ने र मेची अस्पतालको कोभिड वार्डको सुरक्षा व्यवस्था नियमित मिलाउन नेपाली सेनाको नयाँ श्रीनाथ गणलाई अनुरोध गर्ने साथै सेनाका लागि आवश्यक भौतिक पूर्वाधार तथा आवश्यक स्वास्थ्य सामग्रीहरू मेची अस्पताललाई उपलब्ध गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here