अप्ठ्यारो परिस्थितिमा लज्जास्पद कर्म !

0
1443

सन्तोष अग्रवाल

देशैभर अक्सिजन, शैया, भेन्टिलेटरको अभावमा सयौँले ज्यान गुमाइरहेको तथा हजारौँ बिरामी छटपटिरहेको अवस्थामा समेत जनप्रतिनिधि भने सत्ता जोगाउने, भागबण्डा मिलाउने दौडधुपमा व्यस्त रहनु देशबासीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो । सर्वसाधारणले एम्बुलेन्स नपाइरहेको अवस्थामा आफ्ना अगाडि–पछाडि लावा तस्कर लगाएर प्रतिपक्षी नेताहरुको घर चहार्दै हिँडेको दृश्य देख्दा सर्वसाधारणको मन कति पोल्दो होला ! कोरोनो दोस्रो लहर सुरु भइसक्दा विज्ञहरुले दिएको चेतावनीलाई बेवास्ता गर्दै कतै मुख्य मन्त्री राजीनामा दिएर पुनः सपथ ग्रहणमा व्यस्त देखिनु, उता सरकार प्रमुख स्वयम् आफ्नो सत्ता बचाउन विश्वासको मत बटुल्न प्रतिपक्षको घरदैलो चहार्दै हिँड्नु सत्ता टिकाइराख्न राष्ट्रद्रोहका मुद्दा समेत फिर्ता लिएर अपराधीलाई उन्मुक्ति दिनुमै व्यस्त रहेकै कारण देशमा यो भयावह स्थिति आएको हो भन्दा अतिशयोक्ति नहोला ।

कोरोनाबाट बचाउन प्रयोग हुने खोप (भ्याक्सिन)को खरिदमा समेत करोडौँको कमिसनको विवादले सर्वसाधारण खोपबाट बञ्चित हुनुपरेको समाचार बाहिरिनु खेदजनक अवस्था हो । कृषिप्रधान हाम्रो देशमा मल चाहिने बेलामा आयातमा कमिसनको भागबण्डा नमिल्दा बाली काट्ने बेलामा मात्र मल आइपुग्ने हाम्रो देशमा कोरोनाले विकराल रुप लिएपछि मात्र खोप नआउला भन्न सकिन्न । कोरोनाको पहिलो लहर आउँदा चीनबाट आयात भएका पीपीई किट, थर्मल गन समेतमा भ्रष्टाचार भएको समाचार पुरानो होइन । के हामी यतिसम्म तल गिर्न सक्छौँ, कि अत्यावश्यक खोप र औषधिमा समेत कमिसन खोज्नै पर्ने ? कतै यो महामारीले विकराल रुप लिएमा कमिसनमा र्याल चुहाउनेहरुको इह लीला समेत समाप्त हुन सक्छ भन्ने हेक्का राख्न आवश्यक छ ।

सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गर्ने स्वास्थ्य मन्त्रालय (सरकार)ले मास्क बनाउन चाहिने कच्चापदार्थमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट असुल्न समेत पछि परेको छैन । सामाजिक संघसंस्थाहरुले सर्वसाधारणलाई निःशुल्क मास्क बाँड्ने अभियान चलाइरहँदा सरकारले यस्ता कुरामा छुट दिनुको साटो राजश्व उठाउन मात्रै ध्यान दिनु दुर्भाग्यपूर्ण कुरा हो । कोभिडसँग सम्बन्धित अत्यावश्यक वस्तुहरु आयात गर्दा शून्य प्रतिशतमा आयात गर्न प्रोत्साहित गरेर सर्वसाधारणलाई सर्वसुलभ तरिकाले मास्क उपलब्ध गराउन पहल गर्नुपर्ने देखिन्छ ।
देशमा अक्सिजनको अभाव भइरँदा अक्सिजन सिलिन्डर लगायत यसमा चाहिने कच्चापदार्थ आयातमा पनि छुट दिएर द्रुत गतिमा यस्ता सामान आयात गर्न प्रोत्साहित गर्नुपर्दछ । यहाँ रहेका सामाजिक संघसंस्थाहरुले अक्सिजन प्लान्ट, अक्सिजन बैंक स्थापना गर्न पहल गरिरहेको बेला सरकारले स्वयम् यस्ता प्लान्ट लगाउन पहल गर्न अग्रसर संघसंस्थालाई छुट एवम् अनुदान समेत दिएर प्रोत्साहन गर्नु आजको आवश्यकता हो । छिमेकी मुलुक भारतमा सरकार स्वयम्ले अक्सिजन सप्लाईमा पहल गरिरहेको अवस्थामा हाम्रो देशमा यस्तो कुनै प्रयास भएको अहिलेसम्म पाइएको छैन ।
देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भए पनि सर्वसाधारणले यसको अवज्ञा गरिरहेका दृश्यहरु हामी जताततै देख्न सक्छौँ । बिहे, पुराण, मलामीमा २५ जनाभन्दा बढी सहभागी नहुन सरकारको निर्देशन हुँदाहुँदै सामान्य स्वास्थ्य मापदण्ड समेत नअपनाई सयौँजनाको उपस्थितिमा यस्ता कार्यक्रम सम्पन्न भइरहेका छन् । यसैबाट संक्रमण दर बढिरहेको पाइएको विज्ञहरुले बताएको छन् । सरकारलाई मात्रै दोष दिने र आफू सुरक्षित नहुने हाम्रो बानी नसुधारे हामीले आफन्त गुमाउनुपर्ने दिन नआउला भन्न सकिन्न । विज्ञहरुले कोरोनाको तेस्रो लहर समेत चाँडै आउने र यसले पु¥याउने क्षति पहिलो र दोस्रोभन्दा भयानक हुने चेतावनी दिइरहँदा समेत सर्वसाधारण अझै सचेत हुन सकिरहेका छैनन् । यस्तै अवस्था रहिरहे पुनः देशैभरि लकडाउन लगाउनुको अर्को विकल्प रहने छैन ।

अन्त्यमा, यतिखेर सत्तापक्ष, प्रतिपक्ष संघसंस्था सर्वसाधारण सबै एकजुट भई, हातेमालो गर्दै अहिलेको महामारीमाथि विजय पाउन आआफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर महामारीविरुद्ध लड्न ढिला गरेमा हामीले भविष्यमा हजारौँ होइन, लाखौंको संख्यामा नागरिक गुमाउनु पर्ने हुनसक्छ । कोरोनाले राजा वा रंक कसैलाई चिन्दैन भन्ने उदाहरण पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाह अहिले अस्पताल हुनु परेको समाचारले पाठ सिकाएकै हुनुपर्दछ । आगे तपाईंको मर्जी, चेतना भया ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here