झापा, मेचीनगर नगरपालिकाले टोक्ला चिया बगान प्रशासनलाई अहिले कोभिड १९को नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
विश्वभर महामारीका रुपमा रहेको कोभिड १९को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवज्ञा गर्दै नगरको ७ र ८ नम्बर वडामा सयाँै विगाह क्षेत्रफलमा रहेको टोक्ला चिया कमान सञ्चालनमा रहेको गुनासो आएपछि नगर प्रमुख बिमल आचार्यको नेतृत्वमा रहेको उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–८का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य गंगा पाठक, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिलसिंह दाहाललगायतको टोलीले कारखानामा नै पुगेर नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।

‘मेचीनगर क्षेत्रमा रहेको नेपाल चिया विकास निगमद्वारा सञ्चालित टोक्ला चिया बगान सरकारको निर्णयलाई अटेर गरी निर्वाधरुपमा सञ्चालन भएको गुनासो प्राप्त भएपछि नगरपालिकाको तर्फबाट हामी त्यहाँ पुग्यौं’– नगरप्रमुख आचार्यले भने– ‘बगान प्रशासनलाई स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै श्रमिकलाई काममा लगाउन निर्देशन दिएका छौं ।’
हरेक दिन गाउँ–गाउँबाट श्रमिक आउने र जाने क्रम बन्द गर्न र उद्योगभित्र कार्यरत मजदुरहरुलाई बाहिर खुलारुपमा आवतजावत गर्न नदिईभित्रै सुरक्षा सामग्री प्रयोग गरेर काममा लगाउन नगरपालिकाले बगान प्रशासनलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा उद्योग सञ्चालकहरुले उद्योग सञ्चालन गर्नु परे सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मानेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसको बेवास्ता गर्दै टोक्ला बगानका मजदुरहरु गाउँ घरबाट नै काम गर्न आउने जाने गरेको गुनासो स्थानीयले गरेपछि नगरपालिकाले बगानलाई त्यस्तो निर्देशन दिएको हो ।































