जेठ १४ गतेसम्म घरबाट ननिस्कन आदेश

0
1311

झापा । झापामा जारी ‘पूर्ण लकडाउन’ एक साताका लागि थपिएको छ । कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले गत बैशाख ३१ गते मध्यरातबाट लागू गरेको पूर्ण निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको हो ।

नयाँ आदेश अनुसार अहिले जारी पूर्ण लकडाउन जेठ १४ गते मध्यरातिसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा विहीवार जारी आदेशमा उल्लेख छ । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई औषधि खरिद तथा उपचार बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै गाडी र पसल समेत बन्द गरिएको छ । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि प्रजिअ तिमिल्सिनाले ‘पूर्ण लकडाउन’ को आदेश जारी गरेका हुन् ।
आदेशमा सरकारी कर्मचारीलाई समेत हिँड्डुलमा कडाइ गरिएको छ । त्यस्तै औषधि पसल र स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) बाहेक सबै पसलहरु बन्द गर्न भनिएको छ ।

विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा झापा जिल्लामा समेत संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२०को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६को उपदफा ३ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ । ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ–संस्था पेशाकर्मी व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ’– प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
आदेशमा यसो भनिएको छ –
१. सर्वसाधारणका लागिः–
क. औषधिखरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने ।
ख. खाद्यान्न खरिदमा समस्या परेमा सम्वन्धित पालिका वा स्थानीय उद्योग वाणिज्य संघसंग समन्वय गरेर व्यवस्थापन गर्न सकिने ।
ग. नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरीको अनिवार्य पालना गर्ने ।
घ. हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भीडभाड हुने कार्य नगर्ने नगराउने ।
ङ. कोरोनाको लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको आइसोलेसन सेन्टरमा सम्पर्क राख्ने ।
२. कार्यालय सञ्चालन सम्बन्धमाः–
क. अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, वीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने ।
ख. सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचयपत्रका आधारमा बिहान ९ः०० बजे देखि १०ः०० बजेसम्म तथा बेलुकी ५ः०० बजे देखि ६ः०० सम्म मात्र सरकारी तथा निजी सवारी साधनमा आवतजावत गर्न पाउने ।
ग. अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयका कर्मचारीहरुको हकमा कर्मचारी परिचयपत्रका आधारमा सरकारी तथा निजी सवारी साधनमा आवश्यकता अनुसार आवतजावत गर्न पाउने ।
३. बैंक/वित्तीय संस्था सम्वन्धमाः–
क. बैक तथा वित्तिय संस्थाको सम्वन्धमा सम्वन्धित माथिल्लो निकायको स्वीकृति लिई न्युनतम कर्मचारीको उपस्थितिमा हप्तामा २ दिन आलोपालो मिलाई सञ्चालन गर्ने ।
ख. सहकारी संस्थाहरुले घर, पसल तथा समूहमा गई वचत रकम संकलन गर्ने कार्य हाललाई स्थगित गर्ने ।
४. पसल तथा व्यवसाय
सञ्चालन सम्बन्धमाः–
क. औषधि र स्वास्थ्य सामाग्री, इन्धन (पेट्रोल÷डिजल स्टेसन, एलपी ग्यास) बाहेक अन्य खाद्यान्न पसल, व्यवसायपूर्ण रुपमा बन्द गर्ने ।
ख. मलखाद, वीऊविजन, कुखुराका चल्ला, दाना, पशुपक्षीका आहार सम्वन्धी पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी विहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।
ग. हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा बिहान ९ बजेभित्र घर–घरमा होम डेलीभरी सेवा उपलब्ध गराउन सकिनेछ ।
घ. औषधी पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने ।
ङ. सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, व्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि बन्द गर्ने ।
५. सवारी साधन सञ्चालन सम्बन्धमाः–
क. अत्यावश्यक सेवा सञ्चालन गर्ने नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने सरकारी तथा निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको कर्मचारी परिचय पत्रको आधारमा विहान ९ः०० बजेदेखि १०ः०० बजे सम्म तथा बेलुकी ५ः०० बजेदेखि ६ः०० सम्म सञ्चालन गर्न पाइने ।
ख. अत्यावश्यक सेवाहरु वाहेकका सबै प्रकारका सार्वजनिक एवम् निजी सवारी साधन मिति २०७८ जेठ ७ गते राति १२ः०० बजेदेखि जेठ १४ गते राती १२ः०० बजेसम्म झापा जिल्ला भर सञ्चालनमा पूर्ण रुपले रोक लगाउने ।
ग. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दूधजन्य पदार्थ, मलखाद, वीऊबिजन, कुखुराका चल्ला, दाना, पशुपन्क्षीका आहार बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, रेडक्रस, दुरसञ्चार, विद्युत्, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँकसेवा, ढुवानी लगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाइने ।
घ. यस जिल्लाबाट अन्य जिल्लाको लागि खाद्यान्न लगायतका सामाग्री ढुवानि गर्ने सवारी साधनलाई सञ्चालन गर्न दिइने ।
६. उद्योग, कल–कारखाना र विकास निर्माण कार्य सञ्चालन सम्बन्धमाः–
क. उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने, छुट्टै क्वारेन्टाइनको व्यवस्था सम्बन्धित उद्योगले मिलाउने ।
ख. राष्ट्रिय गौरब तथा महत्वका आयोजना÷परियोजना र अति आवश्यक विकास निर्माण कार्यका लागि कामदारहरुलाई खाने बस्ने ब्यबस्था सम्बन्धित आयोजनाले निर्माणस्थलमा नै मिलाइस्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
ग. राष्ट्रिय गौरब तथा महत्वका आयोजना÷परियोजना र अति आवश्यक विकास निर्माण कार्यका लागि निर्माण सामग्री बोक्ने/बोकेका सवारी साधनलाई आयोजना हेर्ने कार्यालयको सिफारिसका आधारमा निर्माणस्थलसम्म आवतजावत गर्न सहजिकरण गरिने ।
घ. विकास निर्माण सम्वन्धी आयोजनाको लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरु सम्वन्धित स्थानीय तह वा स्थानीय उद्योग वाणिज्य संघ संग समन्वय गरी गोदामबाट मात्र उपलब्ध गराउने ।
७. विवाह तथा मृत्यु संस्कार सम्बन्धमाः–
क. विवाहको लागि बढीमा १० जनासम्म जन्ति जान आउन दुलाहादुलहीसहित २ वटा सवारी साधनमा ५÷५ जना सम्म व्यानर राखेर प्रयोग गरी जिल्ला भित्र वा अन्य जिल्लामा आवतजावत गर्नु पर्दा अनुमति आवश्यक नपर्ने ।
ख. मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेश गर्नुपर्ने ।
८. सीमा नाका सम्बन्धमाः–
क. सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली सुचारु राख्न काँकरभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणाली सम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी आवतजावत गर्न दिइने ।
ख. काँकरभिट्टा नाका बाहेक अन्य नाका तथा गौडाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउने ।
ग. काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने ।
९. सभा सम्मेलनको हकमाः–
क. सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यहरुको सञ्चालनमा रोक लगाउने ।
१०. विविधः–
क. सञ्चारकर्मी÷पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना बिभागले जारी गरेको परिचय पत्र वा सम्बन्धित सञ्चार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।
ख. अत्यावश्यक उपयोग्यबस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कारवाही गर्ने ।
ग. अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, राहदानी, भिषा लगायतका कागजातका आधारमा सम्बन्धित व्यक्ति र निजले प्रयोग गर्ने सवारी साधनलाई यात्रा सहजीकरण गरिने ।
११. यो आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गर्ने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here