एकका लागि एक अभियानले सिलिन्डर ल्याएपछि झापामा अक्सिजनको अभाव टर्दै

0
1012

बिर्तामोड  । एकका लागि एक अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगेको छ ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार आज दिउँसो काठमाडौँ हुँदै १२० थान सिलिन्डर झापा आइपुगेको हो । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियान सुरु गरको थियो । त्यसका लागि एक व्यक्तिले एउटा सिलिन्डरबापत १५ हजार रुपैयाँ सहयोग गरेका थिए । संयोजक गिरीले भने– ‘अब थप चार सय थान सिलिन्डर चीनबाट झापा ल्याइनेछ ।’ १२० थान सिलिन्डरमध्ये २० थान सिलिन्डर सहयोगी हात झापामार्फत अभियानलाई बुझाइएको नवीन गट्टानीले बताए । सहयोगी हातका संयोजक सुशील अग्रवालका अनुसार थप ३० सिलिन्डर आफ्नो संस्थामार्फत झापा आउनेछ ।

अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा पाँच सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको थियो । अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको थियो । ४८ लिटर क्षमताका ती सिलिन्डर सडक मार्गबाट कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइएको हो ।
पहिलो चरणमा आएको अक्सिजन सिलिन्डर भरेर जिल्ला प्रशासन कार्यालय झापामार्फत आवश्यकता अनुसार अस्पतालहरुलाई दिइने बताइएको छ । ‘पहिलो चरणको सिलिन्डर आइपुगेको छ, यसलाई शुक्रवार विराटनगर लगेर भरी झापामा ल्याएर डीसीसीएमसीलाई हस्तान्तरण हुनेछ’– संयोजक गिरीले भने– ‘उक्त सिलिण्डर प्रमुख जिल्ला अधिकारीको समन्वयमा आवश्यकता अनुसार अस्पतालहरुलाई उपलब्ध हुँदै जानेछ, अब झापामा क्रमशः अक्सिजनको अभाव कम हुँदै जानेछ ।’ अस्पतालपछि होम आइसुलेसनमा बसेका अक्सिजन आवश्यक परेका कोरोना संक्रमितलाई पनि प्राथमितकताका आधारमा सिलिन्डर दिइनेछ ।

अभियानका सहसंयोजक बिनोद बस्नेतका अनुसार झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अक्सिजन बैंकका लागि सहारा नेपालले एक सय थान र अन्तर्राष्ट्रिय झापाली समाजले एक सय थान सिलिन्डरबापतको रकम अभियानलाई सहयोग गरेका छन् । व्यक्तिगत र संस्थागत रुपमा देश तथा विदेशबाट हालसम्म ३५० वटाभन्दा बढी सिलिन्डरका लागि रकम संकलन भइसकेको छ । अभियानलाई सहयोग गर्ने क्रम जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here