समर्पणः राष्ट्रव्यापी बनोस्

0
565

नेपालमै सर्वथा नौलो, पहिलो र लोककल्याणकारी अभियानका रुपमा परिचय पाउँदै गरेको समर्पण कार्यक्रमको आरम्भ हुन अब केही दिन मात्र बाँकी छ । आर्थिक क्षमता नभएको तर समाज सेवामा इच्छा राख्ने मनहरुलाई संयोजक गरी मानवीय सेवासँगै पृथ्वीको स्याहारमा समेत सहयोग पुर्याउने यो अभियानको योजनाकार सहारा नेपाल (साकोस)ले समाज विकासमा पुर्याउँदै आएको योगदान समर्पणले अझ चुल्याएको छ ।
विपन्न वर्ग, समूह वा व्यक्तिको आर्थिक एवम् व्यवहारिक जीवनलाई सहज बनाउन र मानिसको जन्मसिद्ध अधिकारको रक्षा गर्न सहारा नेपालको क्रियाशीलता स्वागतयोग्य थियो । अहिले झापाका विभिन्न क्षेत्र र वर्गसँग सम्बन्धित ७० बढी संघ–संस्थाको आवद्धतामा आउँदो बैशाख २६ गतेदेखि प्रारम्भ गर्न लागेको कार्यक्रमले नेपालीको आस्थाको रुपमा रहेको कन्काई माईको संरक्षण, सरसफाई तथा जीवनको अन्त्यमा गरिने दशगात्र कर्मलाई सहज तुल्याउन भौतिक व्यवस्थापन गर्न सहयोग पुर्याउने नै छ ।
समर्पण अभियानको शुरुवात यही २६ गते कन्काईको तटमा केही घण्टा श्रमदान गरेर गर्ने भनिएको छ । पैसा दिएर मात्र नपुग्ने, श्रम गर्नैपर्ने समर्पणको अभियान ‘दिनु’मा मात्रै सीमित छैन । हिन्दू मान्यताले ‘दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस्’ भन्नेछ । अर्थात दानशीलता विज्ञापन वा प्रचारका लागि हुनुहुँदैन । तर समर्पण त्यस्तो दान होइन सेवा हो, यसका अभियन्ताको भनाइ छ । यो सबै धर्म, जाति, वर्ग, लिंग, पेशाकर्मी क्षेत्रको साझा र सामुहिक समर्पण हो र बन्नु पनि पर्छ ।
जीवनको केही समय परसेवामा लगाउनु धर्मको आदर्श हो । जुनसुकै धर्मले पनि परसेवालाई जोड दिएको छ र त्यसकै आड–भरोसामा धर्मको समेत रक्षा भएको हुन्छ । यस मानेमा पनि समर्पण कार्यक्रम धेरै झापालीका लागि चासो, उत्सुकता र इच्छाको विषय बन्दै गएको छ । यसको पूर्णताका लागि स्वतस्फूर्त रुपमाहुँदै गएको सहभागिताले समर्पणको भावना, मूल्य र मान्यतालाई अनुमोदन गरेको प्रमाणित गरेको छ ।
हिन्दूहरुको आदर्श, विश्वको पहिलो ग्रन्थ, सम्पूर्ण ज्ञान–विज्ञानको आधारका रुपमा रहेको ‘वेद’ ले ‘संघ शक्ति कली युगे’ भनेको छ । हाम्रो आस्था र मान्यता अनुसार हामी कलीयुगमा छौं र यहाँ संगठन नै शक्ति हो’ भन्ने प्रमाणित भइरहेको छ । त्यही प्रमाणित सूचिमा थपिएको समर्पणसँगको आवद्धताले भोलि झापाका अन्य क्षेत्र, संस्था, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको रक्षा र विस्तारमा सहयोग पुग्ने आशा गर्न सकिन्छ ।
वर्षभरिको कमाईबाट केही बचत गरी परहित, मानवकल्याणकारी तथा प्रकृतिको संरक्षण तथा सम्वद्र्धनमा सश्रम खर्च गर्नु हाम्रा पुर्खाहरुको सम्मान पनि हो । पुर्खाहरुको आदर्शबाट सिकेर, प्रेरित भएर र उनीहरुप्रति सम्मान प्रकट गरेर समर्पणलाई राष्ट्रव्यापी बनाउन झापाली अभियानले सफलता पाओस् । यसमा आवद्धता जनाउने सामाजिक संघ–संस्थाहरुको गरिमा बढाउन पनि समर्पण सफल होस् र समर्पणको सोच जन्माउने झापाका मनकारीहरुको मनसम्म पुर्याउने र आफ्नै भएको अनुभूति दिलाउने समर्पणको पूर्ण सफलताको सुभावना प्रकट गर्नु पनि यसको सफलताको आधार हुन सक्छ यसबेला ।logo-of-purwanchal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here